
काठमाडौं । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा ४८७ क्वीन्टल कुहिएको चामल भेटिएको छ । संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले उपभोक्ता अधिकारकर्मीसहित आइतबार थापाथलीस्थित गोदाममा अनुगमन गर्दा कुहिएको बास्मती चामल फेला परेको हो ।
गोदाममा चार वर्ष पुरानो र उपभोग्य मिति नभएको चामलसमेत भेटिएको छ । जापान सरकारले अनुदानमा दिएको टाइचिन चामलमा उत्पादन मिति लेखिए पनि उपभोग्य मिति नभएको पाइएको छ । सिमीको दालमा लेबल भेटिएन भने बास्मती चामलमा हातले लेखिएको लेबल भेटिएको छ ।
अनुगमनमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सभापति विमल श्रीवास्तवसहित ४ जना सांसद, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग र उपभोक्ता अधिकारकर्मीहरु सहभागी छन् ।