काठमाडौँमा हिमपात र वर्षाको सम्भावना, चिसोबाट बच्न सतर्कता अपनाउन आग्रह

दियो पोस्ट  

काठमाडौँ । केही दिन यता राजधानी लगायत देशका बिभिन्न स्थानमा चिसोको मात्रा बढेको छ । तराईका केही जिल्लामा सितलहरका कारण जनजीवन प्रभाबित छ । चिसो अझै बढ्दै जाने र हिमपात तथा वर्षा नै हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जम्मु–कश्मिर माथि रहेको पश्चिमी न्यून चापिय प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा आज अबेर रातीसम्ममा प्रवेश गर्ने भएको छ।

यस प्रणालीका कारण मंगलबार नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपात हुने सम्भावना छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाका अनुसार यो प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा समेत मध्यम देखी भारी हिमपातको सम्भावना रहेको छ।

उक्त प्रणालीका कारण बुधबार र बिहीबार देशैभरी बदली भइ तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। साथै यस प्रणालीका कारण बुधबार र बिहिबार देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना समेत रहेको छ।

यो प्रणालीले शुक्रबार समेत वर्षा र हिमपात गराउने सम्भावना रहेको छ।

उच्च पहाडी र हिमाली भू–भागमा मध्यम देखि भारी हिमपात हुन सक्ने र पहाडी भेगमा हल्का देखि मध्यम वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले हिमपात र चिसोबाट बच्न सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा अनुरोध गरिएको छ ।