‘मेयर कप तेक्वान्दो प्रतियोगिता’ को तयारी पुरा : खेलकुद मन्त्रीले उद्घाटन गर्ने, ३३० खेलाडी सहभागी हुने !

diyopost.com
दियो पोस्ट  बुधबार, पौष १४, २०७८ | १७:१३:०८

काठमाडौं । बागमती प्रदेश तेक्वान्दो संघले ‘प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिता २०७८’ आयोजना गरेको छ ।

संघको कार्यालय मानभवनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केशव पुरीले प्रतियोगीताको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकालले गर्ने बताए ।

 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने प्रतियोगिता यही पौष १६ र १७ गते हुँदैछ । अध्यक्ष पुरीका अनुसार प्रतियोगितामा पुरुष महिला समान ८/८ गरि १६ वटा प्रतिष्पर्धा हुनेछ । त्यस्तै पुम्सेमा पुरुष महिला गरि ८ स्वर्णको लागि खेल हुने छ ।

आयोजक, सातै प्रदेशबाट सहभागी हुने खेलाडी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना गरि ११ वटा टिमको ३ सय ३० जना खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । जसमा एक टिमबाट ३० जना खेलाडी सहभागीता रहने आयोजकको भनाई छ ।

संघले प्रतियोगितामा सहभागी हुने सबै खेलाडी तथा प्रशिक्षकलाई खान र बस्नको व्यवस्था गरेको छ । आयोजकका अनुसार प्रतियोगितामा ३२ लाख रुपैयाँ भन्दा बढी खर्च हुने छ ।

प्रतियोगितामा ग्योरोगी तर्फ उत्कृष्ठ हुने पुरुष तथा महिला खेलाडीले जनही ५ हजार रुपैयाँ नगदसहित सम्मान पाउने छन् ।

 

प्रतियोगिताको समापन भने काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले गर्ने आयोजकले जनाएको छ । आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

 

सम्बन्धित खबर