चौतर्फी आलोचना भएपछि श्रममन्त्री अर्याल जोडिएको म्यानपावर कम्पनिको वेबसाइट बन्द !

उनि भन्छन्ः मेनपावर व्यवसायमा मेरो संलग्नता छैन

खुमा वली  

काठमाडौं । सरकारमा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले म्यानपावर व्यवसायीलाई मन्त्री बनाएपछि चौतर्फी आलोचना बढेको छ । म्यानपावर व्यवसायमा संलग्न रहेका डोलप्रसाद अर्याललाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिईएपछि चौतर्फी रुपमा आलोचित बनेको हो ।

आलोचना बढेपछि श्रममन्त्री जोडिएको म्यानपावर उक्त कम्पनीले वेबसाइट नै नखुल्ने बनाएको छ । कम्पनीको वेबसाइट नखुल्ने बनाए पनि फेसबुक पेजको कभर फोटोमा भने अर्यालको फोटो अझै पनि भेटिन्छ ।

तर अर्यालले भने आफु म्यानपावर व्यवसायी नरहेको प्रष्टिकरण दिएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत मन्त्री अर्यालले विभिन्न व्यवसायिक क्षेत्रमा आफूले सहकार्य गरेको भएपनि मेनपावर व्यवसायमा आफ्नो संलग्नता नरहेको जानकारी दिएका हुन् ।

उनले बरु सामूहिक रुपमा अन्य धेरै क्षेत्रमा आफ्नो संलग्नता रहेको बताएका छन् । ‘देशका हरेक क्षेत्रका उद्योग ब्यवसायमा थोरै थोरै संलग्नता भएकाले मेरो स्वार्थ नबझिने त कुनै क्षेत्र नै छैन। एक्लै कुनै व्यवसायमा लगानी गर्ने मेरो आर्थिक हैसियत हिजो पनि थिएन र अझैपनि छैन। म कृषि फार्ममा छु, ट्राभल सर्भिसमा छु,सहकारीमा छु, इँटा उद्योगमा छु, नेपाली सामानको उत्पादनमा छु, नेपालको पहिलो रेमिटेन्स कम्पनीमा छु, एजुकेशन कन्सलटेन्सीमा छु, सेक्युरिटी सर्भिसमा छु, ट्रेकिङ सर्भिसमा छु, होटल व्यवसायमा छु, क्याटरिङ व्यवसाय छु, यस्ता थुप्रै क्षेत्रमा छु,’ उनले भनेका छन्।

साथीहरुले खोलेको मेनपावर कम्पनीमा आफूलाई सल्लाहकारमा राख्ने भनेर इन्टरनेशनल मार्केटिङ डाइरेक्टरको पदमा राखिदिएको बताएका छन् । ‘पद त लेखिदिए तर हटाइदिन भुले,’ उनले लेखेका छन्, ‘तर त्यो वा कुनै मेन पावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न शेयर न स्यालरी।’ उनले वेभसाइटहरु अपडेटेड नहुनुले आफ्नो संलग्ना पुष्टि नगर्ने पनि दाबी गरेका छन् ।

म्यानपावर व्यवसायीलाई श्रम मन्त्रालय !