ओलीको आरोप : कांग्रेस सधैं आफू सरकारमा सहभागी हुनुपर्छ भन्ने मान्यता राख्छ

दियो पोस्ट  

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले आफ्नो पार्टी सधैं सरकारमा सहभागी हुनुपर्छ भन्ने मान्यता राख्ने गरेको आरोप लगाएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी स्कुल विभागद्वारा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेस आफू ‘सरकारमा सहभागी भए भइगो नि’ भन्ने एउटा मात्रै सूत्र लिएर हिँड्ने गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘कांग्रेसले देशको बारेमा चर्चा गर्नु, चिन्ता गर्नु आवश्यक नै ठानेन । नेपाली कांग्रेसको एउटा मात्रै सूत्र छ– आफू सरकारमा हुनुपर्छ भइगो नि । त्यही हो लोकतन्त्र । त्यही हो विकास । नेपाली कांग्रेसको सरकार । देशमा लोकतन्त्र, देशमा विकास । त्यही हो । यदि देशमा सरकार कांग्रेसको छ भने विकास कस्तो हुन्छ ? अर्थतन्त्र ध्वस्त भए पनि केही छैन । विकास हुनुपर्नेको भएकै छ । त्यही हो विकास । यस्तोमा बोल्न नसक्ने अभिशप्त एउटा जमात हुन्छ ।’

ओलीले केही पार्टीहरू सामाजिक असन्तुष्टिलाई उपयोग गर्न आएको भन्दै उनीहरूको राजनीति टिकाउ नहुने धारणासमेत राखे ।