सम्पादकीय : दण्डनीय ‘अपराध’मा प्रहरी प्रमुख !

दियो पोस्ट  

नेपालमा पछिल्ला दुई घटनामा प्रहरीको भूमिका निकै शंकाष्पद देखिएको छ । केही दिनअघिको ललितपुरको बालकुमारी भएको गोली काण्ड र सर्लाहीमा आज भएको अर्को गोलीकाण्डले जनमानसलाई झस्काएको छ । सामान्य आन्दोलनमा गोली प्रहार नागरिकको हत्या भइरहँदा नेपाल प्रहरीप्रतिको विश्वसा त गुमेको छ नै सरकारको भूमिकामाथि समेत सन्देह पैदा भएको छ ।

प्रहरी जनताको साथी भन्ने नारा लगाएर जनतामाथि नै गोली बर्साउन लगाउने राज्यमाथि आम मानिसको भरोसा विस्तारै टुट्दै छ । वैदेशिक रोजगारीमा जान ललितपुरको बालकुमारीमा भेला भएका निमुखा युवाको हत्याले जनआक्रोश बढाएको छ । त्यस्तै अधिकारको सवालमा अघि बढेका युवालाई सर्लाहीको बरथहवाका फेरी निर्ममतापूर्वक हत्या गरिएको छ । यी दुवै घटनाले प्रहरी संगठनलाई जनताको रक्षक भन्दा पनि भक्षक बनाएको छ ।

ललितपुरको बालकुमारीमा कोरिया काम गर्न जानपाउँ भनेर लामबद्ध युवामाथि प्रहरीले चलाएको गोली लागि अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यू भएको थियो । यसले गृह प्रशासनमात्र हैन, सरकारको नैतिकतामै प्रश्न उठाएको छ । घटनाबारे प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरको भनाई झनै खतरनाक छ । उनले मन्त्रीको गाडी त्यहाँ नगएको भए घटना नघट्ने लज्जास्पद जवाफ जनताकै प्रतिनिधि रहेको संसदीय समितिमा दिएका थिए । दुई दुई जना भूतपूर्व प्रधानमन्त्री सहित मन्त्रीहरु रहेको स्थानमा प्रहरीको उपस्थिति नै नहुने लज्जास्पद थियो ।

अर्कोतिर दुई जना युवामाथि गोली प्रहार भएपछि नै युवाहरुले मन्त्रीको गाडी जलाएको तथ्य पनि सार्वजनिक भइसकेको छ । यस्तो अवस्थामा प्रहरी प्रमुख कुँवरको अभिव्यक्ति दण्डनीय त छनै उनलाई पदमा बस्न पाउने नैतिक अधिकार समेत छैन । दैनिक जस्तो नागरिकको हत्याको रातो टिका लगाएका प्रहरी प्रमुखमाथि सरकारले छिट्टै कारबाही गरोस् ।