काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले अपराधीको पक्षमा सिण्डिकेट बनाएर लविइङ गर्ने समूहको दबदबा रहेको बताएका छन्। प्रहरी प्रधान कार्यालयमा सञ्चालित एक दिवसीय ‘अपराध अनुसन्धान समीक्षा गोष्ठी’ कार्यक्रममा बोल्दै आईजी कुँवरले उक्त कुराको खुलासा गरेका हुन्। कार्यक्रममा बोल्दै आईजी कुँवरले भने, ‘फौजदारी न्याय प्रणालीको सम्बन्धमा अनुसन्धानकर्ताहरुको मनोबल र संरक्षण किन पनि आवश्यक छ भने यहाँ पीडित र अनुसन्धानकर्तालाई भन्दा पनि पीडक, अभियुक्त र अपराधीलाई आफ्नो अधिकारको बारमो धेरै ज्ञान छ। र उनीहरुको पक्षमा सिण्डिकेट बनाएर लविइङ गरिदिने समूहहरुको दबदबा छ।’ त्यसैगरी कुँवरले फौजदारी न्याय प्रणालीको आधारशिलाको रूपमा रहेको प्रहरी संगठनका सकल दर्जाले कानुनी राज्यको प्रत्याभूति दिलाउन आ–आफ्नो कर्तव्य र जिम्मेवारी गम्भीरतापूर्वक सम्पादन गर्दै आएको बताए ।