कालोपत्रे गर्नुको सट्टा मासिक २ लाख बढीको पानी सडकमा खन्याइँदै

Guest
अस्मिता खड्का

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोट–२ का नयन घिमिरे हरेक बिहान र साँझ ट्यांकर आउने समय ढुकेर बस्छन् । त्यसको कारण हो, बिहान साँझ आउने पानीको ट्यांकरले मुख्य सडकमा पानी छर्किएपछि धुलोबाट केहिबेर भएपनि राहत पाउनु । नयनजस्तै दुवाकोटको मुख्य सडकमा बस्ने स्थानीय र त्यहाँका व्यावसायीले हिउँदमा धुलो र वर्षात्मा हिलोको समस्या भोग्दै आएका छन् । पछिल्लो समय भने स्थानीयलाई धुलोबाट बचाउन सडक निर्माणको जिम्मा पाएका ठेकेदारले त्यहाँ दैनिक ट्यांकरबाट पानी छ्याप्ने गरेका छन् ।
वर्षौदेखि जारी चाँगुनारायणको सल्लाघारी दुवाकोट मोडदेखि खड्का डिलसम्मको सडक निर्माण कार्य विभिन्न समयमा विवादमा आउने गर्छ । समयमै निर्माण सम्पन्न नहुनु, ठेकेदारहरु फेरिरहदा स्थानीयको जनजिवन प्रभावित बनेको छ ।

दैनिक २४ हजार लिटर पानी

दुवाकोट मोडदेखि खड्का डिलसम्मको सडक विस्तार तथा मर्मत सुधार गर्न अन्तिम पटक २०७८ कात्तिकमा सिएम् ब्राइट क्षितीज जेभिले दुई वर्षको लागि ठेक्का पाएको थियो । जसअनुसार गत कात्तिकमा सडक विस्तार एवम् मर्मत कार्य सम्पन्न गर्ने गरी सडक विभाग र ठेकेदार कम्पनीबीच सम्झौता भएको थियो । तर हालसम्म पनि उक्त सडक बनिसकेको छैन । सडकमा कालोपत्रे गर्नुको सट्टा ठेक्का पाएको कम्पनीले विहान साँझ गरी ट्यांकरमार्फत दैनिक २४ हजार लिटर पानी खन्याएर धुलो बसाल्ने काम मात्र भइरहेको स्थानीको भनाई छ । उक्त सडकको अधिकांश क्षेत्र चागुनारायण नगरपालिका वडा न २ अन्र्तगत पर्छ ।

दैनिक पानी खन्याउने कार्य भने स्वयम् निर्माण कम्पनीले नै गर्दै आएको छ । आफूहरुले कम्पनीकै तर्फबाट दैनिक २४ हजार लिटर पानी सडकमा खन्याउने गरेको सिएम ब्राइट क्षितीज जेभीका सञ्चालक राजकुमार बुढाथोकीले बताए । ‘हामीले कम्पनीको तर्फबाट हरेक दिन कार्यालय समयमा दैनिक ट्यांकरबाट पानी हाल्ने गरेका छौ’ उनले भने, ‘बिहान सबैको कार्यालय र स्कुल जाने समय हुन्छ । बेलुका फर्किने समय हुन्छ । त्यसबेला धुलो कम उडोस भनेर दुवाकोट मोडदेखि खड्का डिलसम्म पानी हाल्ने गरेका हौं ।’ बुढाथोकीका अनुसार १२ हजार लिटर बिहान र १२ हजार लिटर पानी बेलुका उक्त सडकमा हाल्ने गरिएको छ । उक्त सडकमा खन्याइने पानीको दैनिक ८ हजार खर्च आउछ भने मासिक रुपमा २ लाख खर्च निस्कन्छ । त्यसबाहेक ट्यांकर चल्दा चाहिने डिजेल खर्चसहित मासिक २ लाख ५० हजार खर्च हुने गर्छ ।

कम्पनीले निर्माण सम्पन्न मिति सकिएदेखि अर्थात् गत कात्तिकदेखि नै उक्त सडकमा ट्यांकरमार्फत पानी हाल्न सुरु गरेको हो । अब कालोपत्रे नभइन्जेल कम्पनीले नियमित पानी हाल्नेछ । यदि निर्माण कम्पनी सञ्चालक बुढाथोकीको भनाइलाई आधार मान्ने हो भने सडकमा धुलो रोक्न कात्तिकदेखि हालसम्म खन्याइएको पानीको लागि मात्र करिब ८ लाख खर्च भइसकेको छ । यो सबै खर्च भने निर्माण कम्पनी स्वयमले बेहोर्नुपर्ने कम्पनी सञ्चालक बुढाथोकीको दाबी छ । सडकमा पानी खन्याएर खर्च बढाउनुभन्दा कालोपत्रे किन नगरिएको भन्ने दियो पोष्टको प्रश्नमा उनले भने ‘त्यो पनि सोचको हो तर कालोपत्रे गर्न करोडौ रकमको खाचो छ । स्थानिय आक्रोशित हुनुभएको छ । धुलोले बस्न सकिएन भन्दै स्थानियले आन्दोलन गर्नुभयो । तत्कालिन समस्या समाधानको लागि भनेर पानी हाल्न थालेका हौ । यसरी पानी हाल्नु भन्दा बजेट विनै भएपनि फागुनसम्म कालोपत्रे गर्ने लक्ष्य राखेका छौ ।’

हात्ति छिर्यो, पुच्छर अड्कियो

उक्त सडकखण्डको कार्य दुई चरणमा भइरहेको छ । दुवाकोट मोडदेखि खड्का डिलसम्मको ३ किलोमिटर सडक एक चरण र खड्का डिलदेखि बीर अस्पतालसम्म झन्डै २ किलोमिटर सडक विस्तार कार्य दोस्रो चरणमा भइरहेको छ ।
हाल उक्त सडकखण्डको ९० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । फुटपाथ राख्ने, ढलको मंगाल निर्माण, ह्युमपाइप राख्ने विद्युतिय पोल सार्ने लगायत कार्य दशैअगावै सम्पन्न भइसकेको थियो । कालोपत्रे गर्न सडकमा रोडा विच्छ्याउने र निर्माण सामग्री संकलन गर्ने कार्यसमेत दशैअगावै सम्पन्न भइसकेको थियो । सबै कार्य सम्पन्न भइसक्दा पनि कालोपत्रे गर्ने कार्य भने हालसम्म सम्पन्न गर्न नसक्दा हात्ति छिर्यो, पुच्छर अड्कियो भन्ने उखान झै साबित भएको छ । हाल सडक डिभिजन, वडा कार्यालय र निर्माण कम्पनी स्वयम्ले बजेट अभाव भएको र सरकारले आवश्यक बजेट निकासा गर्न आनाकानि गरेकोले कालोपत्रे गर्ने कार्य हुन नसकेको बताउदै आएका छन् ।

यसअघि उक्त कार्यको लागि निर्माण कम्पनीसँग २२ करोड २१ लाख ३८ हजारमा निर्माण सम्पन्नका लागि सम्झौता भएको थियो । उक्त बजेटअन्र्तगत निर्माण कम्पनीले सबै कार्य समाप्त गरिसक्नुपर्ने हो । तर हाल कालोपत्रेको लागि बजेट अभाव भएको भन्दै काम रोकिएको छ । पछिल्लो समय सरकारले आवश्यक बजेट निकाशा नगर्दा कालोपत्रे हुन नसकेको सडक डिभिजन भक्तपुरकी उक्त सडक आयोजना प्रमुख इन्जिनियर शिक्षा श्रेष्ठले बताइन् । ‘खासमा सडकको सबै काम म्याद अगावै सकिनुपर्ने हो । गत वर्ष बजेट थियो त्यसबेला विद्युत् प्राधिकरणको पोल सार्दा काममा बाधा पुग्यो’ उनले भनिन्, ‘कालोपत्रेको काममा ढिला भयो । २०८० सालमा बजेट नै निकाशा भएको छैन । ठेकेदारसँग भएको बजेट सकियो ।’

श्रेष्ठका अनुसार कालोपत्रेका लागि सडक डिभिजनले सरकारसँग झन्डै १० करोड बजेट विनियोजन गर्न माग गरेपनि सरकारले १ करोड बजेट मात्र निकाशा गरेको छ । उक्त बजेटले कालोपत्रे गर्न नपुग्ने र हाल निर्माण कम्पनीले धुलो उड्न नदिन आफैले पानी ट्यांकरबाट हाल्ने गरेको उनको भनाई छ । ‘कालोपत्रे गर्न सबैभन्दा बढि खर्च लाग्छ’ दियो पोष्टसँग उनले भनिन्, ‘सरकारले निकाशा गरेको १ करोडले पुग्दैन । सम्झौताको म्याद पनि सकिइसकेको छ । विभागले हाल चैत सम्मका लागि म्याद थपिदिएको छ । धुलो नउडोस् भनेर कम्पनी आफैले सडकमा पानी हाल्दै आएको छ । ठेकेदारले बजेट नआएपनि कालोपत्रे गर्छौ भनिरहेका छन् । अब पनि काम सकिएन भने म्याद थप हुदैन ।’ यसबाहेक कम्पनीले सडकमा खन्याएको पानीको खर्च भने सरकारले नभई कम्पनी स्वयम्ले नै बेहोर्नुपर्ने समेत श्रेष्टले प्रष्ट पारिन् ।

वडाध्यक्ष प्रधान भन्छन्– बजेट अभावकै कारण कालोपत्रे रोकियो

यता चागुनारायण नगरपालिका वडा न २ का वडाध्यक्ष सोमप्रसाद प्रधानले पनि बजेट अभावकै कारण कालोपत्रे रोकिएको दाबी गरे । ‘यहाँका स्थानियले वर्षेनी धुलो र हिलोको सामनाको सामना गर्दै आउनुभएको छ । अहिले पर्याप्त बजेट निकाशा नभएर समस्या थपियो’ वडाध्यक्ष प्रधानले भने, ‘सडक विभागसँग पनि हाम्रो पटकपटक छलफल भइसकेको छ । बीर अस्पतालसम्मको बाटोको लागि हामीलाई अहिले ४३ करोड बजेटको खाँचो छ । बजेट आयो भने काम सकिन्छ हैनभने भन्न सकिन्न ।’

चैतभित्रै कालोपत्रेको काम सम्पन्न गर्ने निर्माण कम्पनीको बाचा

ढिलो चाडो बजेट निकाशा नभएपनि आफुहरुले चैतभित्रमा कालोपत्रेको काम सम्पन्न गर्ने निर्माण कम्पनी सिएम ब्राइट क्षितीज जेभीका राजकुमार बुढाथोकीले बताए । ‘बजेट नभएरै समस्या आएको हो’ उनले भने, ‘अब बजेट निकाशा भएपनि नभएपनि हामीले जसरी पनि काम सम्पन्न गर्नैपर्छ । फागुनदेखि कालोपत्रेको काम सुरु हुन्छ होला । स्थानिय र सडक विभागले काम चाडो सम्पन्न गर्न दबाब दिइरहनुभएको छ ।’ उनका अनुसार पछिल्लो समय बढेको पेट्रोल र डिजेलको मुल्यले निर्माण सामग्री ओसारपसार गर्न बढि खर्च लाग्ने गरेको छ । जुन सम्झौता रकमभन्दा बढि हुन आउछ । यसको प्रत्यक्ष असर निर्माण कार्यमा पनि परेको बुढाथोकीको भनाई छ ।

सम्बन्धित खबर