
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफूलाई नेपालकै एक नम्बरको बीमा कम्पनी दाबी गर्दै आएको छ । तर, यही कम्पनीले सर्वसाधरणको लाखौँ रकम हिनामिना गर्दा कम्पनीका उच्च अधिकारीलाई कारबाही गर्नुको सट्टा उन्मुक्ति दिइएको घटना सार्वजनिक भएको छ ।
जीवन बीमा गरिदिने भन्दै सर्वसाधरणबाट उठाएको लाखौँ रकम सोही कम्पनीमा कार्यरत एक कर्मचारीले हिनामिना गरेको तथ्य भेटिएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नं २ स्थायी घर भएका प्रचण्ड खड्कालाई मात्रै मुद्दा लगाएर कम्पनिका उच्च अधिकारीलाई उन्मुक्ति दिइएको छ ।
खड्काले उनले इन्स्योरेन्समा रकम जम्मा गरे भविष्य राम्रो हुने र आकर्षक रकम पाउने प्रलोभन देखाएर कपिल न्यौपाने र उनका भाई रविन्द्र न्यौपानेबाट ४६ लाखभन्दा बढी रकम हिनामिना गरी ठगी गरेको आरोप छ।
कपिल न्यौपानेबाट २३ लाख ३९ हजार ९ सय ३६ र रविन्द्र न्यौपानेबाट २२ लाख ८५ हजार ७ सय ४८ गरि जम्मा ४६ लाख २५हजार रकम ६ सय ८४ रकम हिनामिना गरेको आरोप छ । खड्काले विभिन्न प्रलोभन देखाएर जीवन बीमाका नाममा रकम ठगी गरेको भन्दै कम्पनिले आफू जिम्मेवारी लिनुको सट्टा खड्कालाई नै जिम्मेवार बनाएर जवाफ दिएको छ ।
उनीमाथि २६ लाख बढीको बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभियोग पत्र दर्ता गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ उपदफा (१) र (२) बमोजिम उक्त मुद्दा दर्ता गरेको हो ।
तर कम्पनीका उच्च अधिकारीलाई भने प्रहरीले प्रतिवादी समेत बनाएको छैन । २०७१ सालमा पोलिसी नमबर १२१०००३८७ र १२१०००३९७ बाट प्लान नम्बर १४ मा रकम जम्मा गराएको तथ्य पीडितहरुले बताएका छन् ।
दुवै न्यौपाने दाजु भाइलाई थाहा नै नदिइ उनीहरुको पोलिसीबाट रकम निकाल्ने फारामको साक्षी समेत बसेको देखाएर अन्य व्यक्तिको समेत सहीछाप गरी ४६ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको पीडितको भनाइ छ । तर, यो प्रक्रियामा संलग्न कुनैपनि कर्मचारीमाथि प्रहरीले मुद्दा समेत लगाएको छैन ।
खड्काका अनुसार उनी १० वर्षदेखि नेपाल लाईफ ईन्स्योरेन्समा अभिकर्ताको रुपमा कार्यरत थिए । खड्काका अनुसार आफूले पेश गरेको कागजात नै नेपाल लाईफ ईन्स्योरेन्स कम्पनिका उच्च अधिकारीलाई सदर गरेका थिए । खड्काका अनुसार यो काण्डमा नेपाल लाइफको बानेश्वर शाखा प्रमुख राजेशलाल कर्णको समेत संलग्नता छ ।
यता कर्णले भने प्रहरीसँगको बयानमा कपिल न्यौपानेले १८ लाख ३९ हजार ५ सय ७५ र रविन्द्र न्यौपानेको नामबाट १७ लाख ९६ हजार ९ सय ७५ रुपैयाँ दाखिला भएको बयान दिएका छन् । यदि उनकै बयानलाई आधार मान्ने हो भने न्यौपाने दाजु भाईले ३५ लाख रुपैयाँ भन्दा बढी रकम त नेपाल लाईफलाई नै बुझाएको देखिन्छ । यो रकम कहाँ गयो भन्ने प्रश्न उठेको छ ।
यता नेपाल लाइफले भने पीडितहरूले ४६ लाख रुपैयाँ भन्दा बढी रकम न्यौपाने दाजु भाइले उल्टै कम्पनीलाई तिर्नुपर्ने दाबी गरेको छ ।