सिन्धुपाल्चोकa
नेपाल चीन उत्तरी सिमा नाका तातोपानीबाट पहिलो पटक तेस्रो मुलुकको लागि निर्यात भएको छ । शुक्रबार तातोपानी नाका हुँदै तेस्रो मुलुकको लागि नेपाली बजारमा उत्पादन भएको खाद्य सामाग्री निर्यात भएको हो । शुक्रबार उत्तरी नाका भएर चीनको सेन्जेन पोर्ट हुदै तेस्रो मुलुक जापान खाद्य बस्तु जान लागेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
तातोपानी भन्सार प्रमुख दयानन्द केसीका अनुसार चीनको सेन्जेन पोर्ट ट्रान्जिट भएर उत्तरी तातोपानी नाकाबाट नेपालकै इतिहासमा पहिलोपटक निर्यात सुरु भएको छ, शुक्रबार २४ सय बाक्सा वाइवाइ जिङ्ग चाउचाउ बोकेको कन्टेनर चीन प्रवेश गरेको हो । नेपाल तर्फबाट भन्सार कागजात पुरा गरेर मितेरी पुलमा चिनियाँ पक्षलाई हस्तान्तरण गरिएको केसिले बताए । उनले भने, अहिले तेस्रो मुलुकमा निर्यातको लागि सामान ढुवानी सिल्क ट्रान्सपोर्टले गरेको छ । तातोपानी नाकाबाट आयात निर्यातको ढुवानीमा सिल्क ट्रान्सपोर्टले गर्दै आएको छ । सिल्क ट्रान्सपोर्टका व्यावसायिक बिजय शेर्पाले भने, ‘नेपालबाट हामीले तेस्रो मुलुकमा निर्यातको सामाग्री ढुवानी गर्दैछौँ, यो पहिलोपटक हो, आगामी दिनमा हामीले जापान, कोरिया, भियतनाम, लगायत तेस्रो मुलुकमा माग बमोजिमको सामाग्री ढुवानी गर्न सकिन्छ ।’
नेपालमा तेस्रो मुलुक भियतनामबाट चीन हुदै सीमा नाका तातोपानीमा बेसार आइपुगेको थियोे । त्यसैले उताबाट के कस्तो सामग्रीको माग आउँछ त्यही अनुसार निर्यातको सामाग्री ढुवानी गर्ने शेर्पाको भनाई छ ।
यता सिन्धुपाल्चोक उद्योग बाणिज्य सघका अध्यक्ष होमबहादुर बस्नेत राजकुमार पछिल्लो समय तातोपानी नाकामा व्यावसायीक चहलपहल बढ्दै गएको बताउँछन् । त्यसको आधार बढाउदै लैजानु पर्ने उनको जिकिर छ ।
‘नेपाल चीनको छोटो उत्तरी नाका तातोपानी भएकोले नाकालाई व्यवस्थापन गरेर अघि बढ्नुपर्नेछ,’ उनी भन्छन्,‘ढुवानी भाडा कम र चीनको जुनसुकै शहरबाट छोटो समयमा व्यावसायीले सामान आयात गर्न सक्ने नाका तातोपानी नै हो । यसलाई सरकारले चुस्त दुरुस्त बनाएर भौतिक संरचनाको समेत व्यवस्थापन गर्न सके धेरै जसो व्यावसायीले यहि नाका प्रयोग गर्नेछन् ।’
नेपाल चिन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक च्याप्टर अध्यक्ष जाङ्बु शेर्पा भने तातोपानी नाकालाई सरकारले छिटोभन्दा छिटो सहज बनाएर आयात निर्यातमा सहयोग पु¥याउन अबश्यक रहेको बताउँछन् ।
‘अहिले सिल्क ट्रान्सपोर्टले निर्यातको लागि ढुवानीको जिम्मा पाएसगै नेपालको धेरै व्यावसायी र सिन्धुपाल्चोकका नाकाबासीको लागि खुसीको हो,’ उनले भने,‘यो निर्यात रसुवाबाट हुन लागेको थियो, हामीले धेरैपटक पहल गर्र्यौं त्यसैले आज सफल भएका छौँ । निर्यात प्रक्रिया रसुवा नाका भएर हुन लागेको थियोे त्यसलाई हामीले तातोपानी नाकाबाट हुनुपर्ने आवाज उठाउदै आउदा सफल भएका छौँ ।’
तातोपानी नाका गत बैशाख १८ गतेबाट दुई तर्फीरुपमा सन्चालन आएको हो । पछिल्लोपटक चीनबाट आयातमा वृद्धि भएको छ । तातोपानी भन्सार कार्यालयका अनुसार पछिल्ला दिनहरुमा दैनिक २५ कन्टेनर सामाग्री नेपाल भित्रिने गरेको छ । आयातमा वृद्धि भए पनि निर्यात भने ठप्पप्राय रहँदै आएको तातोपानी नाकाबाट तेस्रो मुलुकमा नै नेपाली सामाग्री निर्यात हुन थालेपछि भने नाका भएर निर्यातमा पनि वृद्धि हुने विश्वास गरिएको छ । आगामी दिनमा निर्यातमा बृद्धि हुने सिल्क ट्रान्सपोर्टको दाबी छ । यस अघि तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओली र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल चीन पारवहान सम्झौता गरेसँगै यो पहिलोपटक कार्यान्वयनमा आएको हो ।