धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा भेटिँदैनन कर्मचारी : सेवाग्राहीलाई हैरानी !

- दियोपोस्ट  

धादिङ । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको कार्यालय सल्यान्टारमा कार्यालय समयमा कर्मचारी नै नरहने गरेको पाइएको छ । गाउँपालिकामा आवश्यक काम लिएर पुगेका जनता कर्मचारी नै कार्यालयमा नभेटिएपछि फर्कनु परेको हैरानी सुनाउँछन् ।
स्थानियका अनुसार प्रमुख प्रशासकीय अधिकृत नेत्रमणि न्यौपाने अधिकांश समय कार्यालय बाहिर हुन्छन् । उनलाई कार्यालय समयमा कार्यालयमा भेट्न निकै मुस्किल हुने गरेको एक सेवाग्राही बताउँछन् । उनी नभेटिएपछि वडाको अत्यावश्यक काम लिएर पुगेका वडाध्यक्षहरु नै हैरान हुने गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन शाखा, स्वास्थ्य शाखा र प्रशासन शाखामा कहिल्यै कर्मचारी भेटिँदैनन् ।

स्वास्थ्य शाखा प्रमुख यम बहादुर श्रेष्ठ अधिकांश समय कार्यालय बाहिर नै रहने गरेका छन् । लेखा अधिकृत भूमिराज श्रेष्ठलाई भेट्न कार्यालय पुग्दा उनी पनि कहिल्यै कार्यालयमा रहँदैनन् । उनी अधिकांश समय कार्यालय बाहिर नै विभिन्न डिल गर्न पुग्ने गरेका छन् । लेखामा हुने सबै हर हिसाब र कमिशन बुझ्न उनी कार्यालयमा भन्दा बाहिर नै सजिलो मान्छन् । यस विषयमा प्रतिक्रिया लिन गाउँपालिकाका प्रवक्ता कुस बहादुर सिटौलालाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रमणी न्यौपानेले आफू पुस १ गतेदेखि मात्रै त्रिपुरासुन्दरीमा सरुवा भएको बताए । ‘म पुस २४ सम्म निरन्तर कार्यालयमा थिएँ । त्यसपछि माघ २ गतेदेखि उपसचिवको परिक्षा चलेका कारण आउने जाने चलिरहेको छ,’ उनले भने,‘लेखा अधिकृतको र मेरो परिक्षा चलिरहेको छ ।’

उनले अन्य कर्मचारी भने कार्यालयमै रहेको दाबी गरे । तर, अधिकांश समय ती कर्मचारी पनि कार्यालय बाहिर नै रहने गरेको स्थानियको दाबी छ ।