जर्मन महिला मृत्यु प्रकरण : हत्याको क्लू भेटिएन, कुर्सीबाट लडेर मृत्यु भएको आशंका 

खुमा वली  

काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालस्थित अपार्टमेन्टमा मृत भेटिएकी जर्मन नागरिकको लडेर मृत्यु भएको आशंका गरिएको छ । घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट जर्मन नागरिक एडिल एचिडको लडेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार फरेन्सिक विज्ञहरुसँगको छलफलपछि अहिले पोष्टमर्टमका लागि शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।   मृत्युको आधिकारिक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने उनले बताए ।

‘कुर्सीमा चडेर माथिको केही सामान निकाल्न लागेको हुनुपर्छ। टाउकोको पछाडि सानो चोट लागेको छ,’ एसपी कार्कीले भने ।

एसपी कार्कीले उनी लडेको स्थानमा कुर्सी पनि लडेको अवस्थामा फेला पारेको जानकारी दिए।

सुरूमा टाउकोमा चोट देखिएको कारण हत्या हुनसक्ने आशंका गरिएको थियो।

प्रहरीले घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर नै परिचालन गरेको थियो। तर प्रारम्भिक अनुसन्धानमै हत्या भएको नदेखिएको एसपी कार्कीले जानकारी दिए।

‘कोही व्यक्तिले प्रहार गरेको जस्तो देखिँदैन। हत्याको शंका गर्नुपर्ने ठाउँ देखिएको छैन। तर पोष्टमर्टम रिर्पाेट आइसकेपछि थाहा हुन्छ । अहिले यसका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकेका छौं,’ उनले भने।

बिहान ८ बजेतिर ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टको दोस्रो तलामा उनी मृत भेटिएपछि प्रहरी टोली पुगेको थियो ।

टाउकोबाहेक  शरीरमा अन्य कुनै चोट नदेखिएको कार्कीले बताए ।