फेब्रुअरी अन्तिममा क्रेटा ईभी बजारमा ल्याउने घोषणा, यस्ता छन् विशेषता !

दियोपोस्ट संवाददाता  

काठमाडौं । हुन्डाईले नयाँ क्रेटा ईभी बजारमा ल्याएको छ । ईभी मोडेल मध्ये क्रेटालाई नै पहिलो ’किफायती’ मूल्यको ईभी मान्न सकिने कम्पनिले जनाएको छ । करिब एक दशकदेखि भारत र नेपालको बेस्ट सेलिङ एसयूभीको रूपमा स्थापित क्रेटा विद्युतीय भर्सनमा आउनुले ईभीको प्रतिस्पर्धामा यसले कम्पनीको उपस्थिति दरिलो बनाउने देखिन्छ ।
नेपालमा आधिकारीक विक्रेता रहेको लक्ष्मि हुण्डाईले यहि फेब्रअरीको अन्तिममा नेपाल भित्र्याउँदै छ । कम्पनिका महाप्रबन्धक दिपक थपलियाले यस्तो दाबी गरेका हुन् ।

ब्याट्री र रेन्ज

हुन्डाईको क्रेटा ईभी मूलतः दुई ओटा ब्याट्री प्याक अप्सनमा आएको छ – ५१.४ किलोवाट आवर र ४२ किलोवाट आवर । जसमा क्रमशः १२६ किलोवाट र ९९ किलोवाटको मोटर जडित छ । तर नेपालमा भने यो ईभी सुरुवाति चरणमा ४२ किलोवाट आवर ब्याट्री तथा ९९ किलोवाट मोटर पावर अप्सनमा मात्रै आउने लक्ष्मी हुन्डाईले जनाएको छ ।

क्रेटा ईभीमा एनएमसी ब्याट्री राखिएको छ । जुन आईपी ६७ वाटरप्रपुफ तथा डस्ट प्रुफ हो । गाडीलाई ४२० एमएम गहिराईको पानीमा १२० सेकेन्डसम्म डुबाएर परीक्षण गरिएको थियो भने ड्रप टेस्टका क्रममा १६ फिट माथिबाट खसाल्दा यो ब्याट्री सुरक्षित नै पाइएको थियो । यसमा समावेश ब्याट्री हिटर प्रविधिले गर्दा –३५ डिग्री सेल्सियससम्मको चिसो मौसममा पनि गाडीले राम्रो पर्फर्मेन्स दिने उल्लेख छ ।

हुन्डाईको दाबी अनुसार ५१.४ किलोवाट आवर ब्याट्रीमा क्रेटा ईभीले ४७३ किमि र ४२ किलोवाट आवर ब्याट्रीमा ३९० किमि रेन्ज दिन्छ । दुवै भर्सनका क्रेटा ईभीमा इको, नर्मल र स्पोर्टस गरी तीन ओटा मोड रहेका छन् । ठुलो ब्याट्री प्याकमा १६८ बीएचपी तथा २५५ एनएम टर्क पाउन सकिन्छ । शून्यदेखि १०० किमि प्रति घण्टाको स्पिड समात्न यो ईभीलाई मात्र ७.९ सेकेन्ड लाग्ने दाबी कम्पनीले गरेको छ । गाडीको साथमा उपलब्ध हुने ११ किलोवाट एसी होम चार्जरले क्रेटा ईभीलाई केवल चार घण्टामै फुल चार्ज गर्न सक्ने दाबी गरिएको छ । डीसी फास्ट चार्जिङको कुरा गर्नु पर्दा क्रेटा ईभीलाई १०% देखि ८०% सम्म चार्ज गर्न ५० किलोवाटको चार्जरले ५८ मिनेट तथा १०० किलोवाटको चार्जरले ३९ मिनेट लाग्ने बताइएको छ ।

फिचर

आईसीई प्लेटफर्ममै निर्मित भए पनि क्रेटा ईभी अनेकन् फिचरले भरिपूर्ण छ । यसमा मनोरन्जनका लागि बोस साउन्ड सिस्टमका आठ ओटा स्पिकर, पानोरामिक सनरुफ, वायरलेस फोन चार्जिङ प्याड, ड्याशबोर्डमा हलुका घुमाउरो स्क्रिन र अल–डिजिटल ड्राइभर डिस्प्ले जस्ता फिचर छन् ।

अटोमेटिक क्लाइमेट कन्ट्रोलको साथमा ग्लोभबक्स र आर्म रेस्टमुनीको स्टोरेज कम्पार्टमेन्ट दुवैमा कुलिङ सिस्टम पाउन सकिन्छ । अगाडिका दुवै सिट भेन्टिलेटेड हुनुका साथै विद्युतीय रूपमा नै एडजस्ट गर्न सकिन्छ । गाडीमा लेभल टु एड्भान्स ड्राइभिङ असिस्टेन्ट सिस्टम पनि दिइएको छ ।

क्रेटा ईभीमा केही मौलिक किसिमका फिचर पनि छन् । जस्तै आयोनिक फाइभको झल्को दिने नयाँ स्टियरिङ ह्विल छ र जसमा चार ओटा थोप्ला भएको सङ्केत राखिएको छ, मोर्स कोडमा यसको अर्थ ’ज्’ हुन्छ ।

एउटा आकर्षक फिचर भनेको यो ईभीमा ड्राइभर अन्ली एसी मोड हो, जसले ड्राइभरको साइडमा मात्रै एयर भेन्ट्स एक्टिभ राख्ने काम गर्छ । दुवै फ्रन्ट सिटको पछाडिपट्टि फोल्ड गर्न मिल्ने ट्रे दिइएका छन्, जसले पछाडि सिटमा बसेर काम गर्न सजिलो बनाउँछ । पछाडिका झ्यालहरूका लागि म्यानुअल पर्दाको व्यवस्था पनि गरिएको छ ।

गाडीमा साइडलाइट दिँदा ड्याशबोर्डमै साइड भ्यु हेर्न मिल्छ । १०.२५ इन्चको डिजिटल क्लस्टर, भीटुएल, क्रुज कन्ट्रोल जस्ता फिचर पनि यो गाडीमा राखिएका छन् । २०० एमएम ग्राउन्ड क्लियरेन्स भएको क्रेटा ईभीमा आर १७ एलोय ह्विल पाउन सकिन्छ भने कम्पनीले गाडीको साथमा एउटा स्पेयर टायर समेत उपलब्ध गराउने बाचा गरेको छ ।

गाडीमा सुरक्षाका लागि ६ ओटा एयरब्याग, एबीएस, हिल डिसेन्ट कन्ट्रोल, लेन चेन्ज इन्डिकेटर, रियर डिफगर, अटो होल्ड र फ्रन्ट क्यामेरा, फ्रन्ट राडार तथा रियर राडार सहितको एडीएएस जस्ता फिचर पाउन सकिन्छ ।