नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई पक्राउ गर्न निर्देशन, ठगीमा मुद्दा चलाउने तयारी !

दियो पोस्ट  

काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएपछि विवादमा परेको काठमाडौं मेडिकल कलेज र विराटनगरको नोवेल मेडिकल कलेजका सञ्चालकमाथि कारबाही हुने भएको छ ।

कलेजका सञ्चालक सुनिल शर्मामाथि कारबाही गर्न गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निर्देशन दिएको छ । गृहले गरेको पत्राचारमा चिकित्सा शिक्षा आयोगलाई समेत बोधार्थ दिएको छ ।

आयोगले तोकेभन्दा २० लाख रुपैयाँ बढी शुल्क लिएपछि चिकित्सा शिक्षा आयोगले काठमाडौ मेडिकल कलेज, नोवेल कलेज बिराटनगर र पोखराको मणिपाल शिक्षण अस्पताललाई ४८ घण्टे स्पष्टिकरण सोधेको थियो ।

आयोगका अध्यक्ष डा. श्रीकृष्ण गिरीका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालले आयोगले तोकेकै शुल्क लिने प्रतिवद्धता दिलाएको थियो । तर, काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले शुल्क निर्धारणमै असहमति भएपनि नियामक निकायले तोकेकै शुल्क लिने प्रतिबद्धता जनाएका थिए । शर्माले प्रतिबद्धता जनाएपनि तोकेभन्दा बढी शुल्क लिन भने छाडेनन् । त्यसपछि विद्यार्थीहरुले पुन विभिन्न निकायमा उजुरी दिएका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले पनि गृह मन्त्रालयबाट अनियमित शुल्क लिने नोवेल मेडिकल कलेजलाई प्रचलित कानुन अनुसार कारबाही गर्न पत्राचार भएको स्विकार गरे ।

‘हो हामीलाई पत्र आएको छ । विद्यार्थी र अभिभावकहरुले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा बढी शुल्क असुलेको भनेर गुनासो गरेका छन् । हामी भोली यस विषयमा विस्तृत अनुसन्धान गर्छौं,’ सिडिओ रिजालले भने,‘यदि बढी शुल्क लिएको पाइए प्रचलित कानुन अनुसार ठगीमा मुद्दा चलाउने अधिकार हामीलाई छ ।’

सम्बन्धित खबर