सिद्धलेकमा वडाध्यक्ष गिरीकै मिलेमतोमा खुलमखुल्ला बालुवा तस्करी : प्रशासन कार्यालय मौन !

- दियोपोस्ट  

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ७ अमन्टारमा गैरकानुनी रुपमा बलुवा उत्खनन् भइरहेको पाइएको छ । सिद्धलेक ७ का वडाध्यक्ष सानो गिरीको मिलेमतोमा गैरकानुनी रुपमा उत्खनन् भइरहेको स्रोतले दियोपोस्टलाई जानकारी दिएको छ ।

स्थानिय बासीका अनुसार स्थानीय माझी बस्तीलाई जोखिममा पार्ने गरि स्क्याभेटर लगायत सामग्री प्रयोग गरेर उत्खनन् भइरहेको छ । तर, जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालय मौन बसेको छ ।
‘हाम्रो गाउँ नै जोखिममा पर्ने गरि बालुवा उत्खनन् भइरहेको छ । तर, सरोकारवाला निकाय मौन छन् । वडाध्यक्ष गिरीलाई पटक पटक गुनासो गर्दा पनि उत्खनन् रोखिएको छैन,’ एक स्थानिले दियोपोस्टसँग भने,‘गाउँपालिकाकै उच्च अधिकारी समेत यसमा संलग्न छन् भन्ने सुनिन्छ । प्रशासनका मान्छेहरु पनि मिलेका छन् ।’

कांग्रेसबाट निर्वाचित भएका गिरीले उत्खनन्का लागि अनुमति दिएको र उनकै मिलेमतो रहेको स्थानियको भनाई छ । स्मरण रहोस् पूर्व गृहमन्त्री रवि लामिछानेले देशभरका क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गर्ने निर्णय गरेका थिए । तर, कुनै कारण नै नदेखाई फेरी क्रसर उद्योग खुलेको थियो । धादिङमा पनि अधिकांश क्रसर उद्योग यसरी नै खुलेका छन् । जिल्लामा यसअघिका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल यही क्रसर बालुवासँग लेनदेन गरेका कारण विवादमा परेका थिए । उनलाई कारबाही स्वरुप गृह मन्त्रालयले सरुवा गरेको थियो । उनको सरुवा पछि धादिङको प्रमुख जिल्ला अधिकारीको रुपमा रमेश ढकाल आएका छन् । उनलाई समेत क्रसर दलालहरु किन्ने कोशिसमा रहेको स्रोत बताउँछ ।

वडाध्यक्ष सानो गिरी प्रदेशबाट विनियोजित १० लाख रुपैयाँ बजेटमा बाटो स्तरोन्नती गर्नका बालुवा उत्खनन् गरेको बताए । त्यतिमात्रै होइन उनले पत्रकारीता गर्न आफूलाई पनि आउने भन्दै पत्रकारीताको शिक्षा समेत दिन तम्सिए । ‘मलाई पनि पत्रकारीता गर्न आउँछ । तपाईंहरु यो क्षेत्रमा आएर जनताको गुनासो सुनेर समाचार बनाउनुस् । एकातर्फी कुरा सुनेर नबनाउनुस्,’ उनले भने,‘भएको केही पनि होइन । प्रदेश सरकारको बजेटमा दुई वटा पक्की पुलसँग जोड्ने बाटो बन्दै गरेको हो ।’

तर उनले यस्तो भनेपनि स्थानिय जनताले दियोपोस्टलाई उपलब्ध गराएको तस्विर तथा भिडियोमा भने ओभरलोड गरेर बालुवा तस्करी भइरहेको छ ।

 

सम्बन्धित खबर