काठमाडौं । गत माघ १ गते पोखरामा भएको जहाज दुर्घटनाको अनुसन्धानका क्रममा आयोगले प्रारम्भिक नतिजा निकालेको छ । जहाज अवतरणका क्रममा दुवै इन्जिनले पर्याप्त पावर दिन नसक्दा यती एयरलाइन्सको ‘एटिआर–७२’ पोखरामा दुर्घटनामा परेको दुर्घटना जाँच आयोगले प्रारम्भिक ठहर गरेको छ । ९एन–एएनसी कलसाइन नम्बरको जहाज अवतरणका लागि राइट एंगलबाट मोडिँदा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको अनुसन्धानमा देखिएको छ । इन्जिनका प्रोपेलर (पंखा) फेदरमा जानु भनेको इन्जिन चलिरहे पनि पावर कम हुँदै जानु हो ।
दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याक बक्स’मा रहेको फ्लाइट डाटा रेकर्डर ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट इन्जिनका प्रोपेलर फेदरमा गएको देखिएको हो । सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरो (टिएसआइबी)मा लगेर फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गरिएको थियो । डाटा विश्लेषणका लागि सिंगापुर गएका आयोगका पदाधिकारी काम सम्पन्न गरेर स्वदेश फर्किसकेका छन् ।
दुर्घटना जाँच आयोगका अनुसार जहाजका दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा किन गयो भन्ने अझै खुलेको छैन । प्रोपेलर फेदरमा जानुको रहस्य खोतल्न प्राविधिक र मानवीय पक्षबारे थप अनुसन्धान अगाडि बढाइसकेको पर्यटन मन्त्रालयका सहसचिव एवं आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले बताए ।
के हो ब्ल्याक बक्स ?
ब्ल्याक बक्स जहाजको उडान डाटा र ककपिट भ्वाइस कम्युनिकेसन रेकर्ड गर्न प्रयोग गरिने यन्त्र हो । यसमा विमानका उपकरणको स्थिति, उचाइ, तापमान, गति, इन्धनको मात्रा, अटो पाइलटिङको स्थितिसहित सम्पूर्ण जानकारी रेकर्ड हुन्छ ।