काठमाडौं । काठमाडौंको नयाँ बसपार्क भित्र कार्याक्रम गर्न पुगेका मजदुर संगठनका कार्यकर्तामाथि निर्घात कुटपीट भएको छ ।
नेकपा एमाले निकट अखिल नेपाल यातयात मजदुर संघका अध्यक्ष भिम ज्वाला राईका अनुसार आज दिउँसो करिब १२ बजेर २५ मिनेट जाँदा बसपार्क क्षेत्रभित्र यातयात मजदुरमाथि ल्होत्से बहुउद्देश्यीय प्रा.लीका तर्फबाट परिचालित व्यक्तिहरुले हातपात गरेका हुन् ।
उनका अनुसार ल्होन्सेका प्रबन्धक समेत रहेका सुनिल कुँवर र पंकज मल्लको नेतृत्वमा आएका समुहले मजदुरमाथि निर्घात कुटपीट गरेका थिए ।
‘हिजो भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयसँग भएको वार्तापछि विकसित घटनाबारे जानकारी गराउने र कार्यक्रम घोषणा गर्न हामीले कार्यक्रम आयोजना गरेका थियौँ,’ राईले दियोपोस्टसँग भने,‘तर कतिपय साथीहरु कार्यक्रमस्थलमा नपुग्दै प्रहरी समेतको मिलेमतोमा मजदुरमाथि निर्घात कुटपीट गरिएको छ । मजदुरमाथि प्रहरीले निर्घात कुटपीट गर्दा समेत प्रहरीले कुनै रेस्पोन्स गरेन ।’
स्रोतका अनुसार बसपार्क क्षेत्र भित्र यातयात व्यावसायी महासंघका अध्यक्ष विजय स्वाँर र महासचिव सरोज सिटौलाको समेत मिलेमतोमा यातयात व्यावसायीमाथि ज्यादती भएको छ ।
नयाँ बसपार्क क्षेत्रको सरकारी जग्गामा ल्होत्से बहुउद्देश्यीय प्रा.लीका मालिक दीपक कुँवरले व्यापारीक प्रयोजनका लागि भाडामा लिएका छन् । उनले उक्त क्षेत्रमा मनोमानी शुल्क लिँदै आएका छन् ।