
धादिङ । रेडक्रस धादिङका मन्त्रीमा निर्वाचित नेम बहादुर श्रेष्ठले दियोपोस्ट डटकममा प्रकाशित समाचारको खण्डन गरेका छन् ।
उनले आफ्नो विषयमा प्रकाशित समाचार भ्रामक भएको दाबी समेत गरेका छन् । उनीमाथि आफू संलग्न भएको विद्यालयमा भ्रष्टाचार गरेको आरोप लागेको थियो । उक्त विषयमा अख्तियारले समेत छानबीन गरेको दियोपोस्ट डटकमले समाचार प्रकाशन गरेको थियो ।
उनको खण्डन यस्तो छ ।
श्री सम्पादक ज्यू,
दियोपोस्ट डटकम काठमाडौं ।
विषय :– खण्डन गरिदिने सम्बन्धमा ।
महोदय,
प्रस्तुत विषयमा २०७९।११।०९ गतेको दियोपोष्ट अनलाइन खबरले म र मेरो विद्यालय लाई लक्षित गरी प्रेषण गरिएको भ्रामक समाचार प्रति मेरो आपत्ति रहेको छ । अनलाइन समाचारमा लेखे अनुसार २०६३ साल आषाढमा मनकामना प्राथमिक विद्यालय समुदायमा हस्तान्तरण भएको र पुःन समुदायको अनुरोध पछि उक्त विद्यालय २०६३ भाद्र ५ गते फिर्ता गरिएको कुरा सत्य हो । तर समुदायमा हस्तान्तरण पछि प्राप्त १ राहत दरबन्दी र रु.१,००,००।– रकम विद्यालयको नाममा प्राप्त भएको थियो । उक्त राहत दरबन्दीमा नियमानुसार विज्ञापन गरी २०६४ असोज देखि २०७४ बैशाखसम्म नवीना श्रेष्ठले यस विद्यालयमा अध्यापन गरी २०७४ जेष्ठमा दरबन्दी मिलानपछि शंखदेवि मा.वि. पात्लेमा दरबन्दी सारिएको छ । हस्तान्तरण फिर्ता पश्चात सो रकम जिल्ला शिक्षा कार्यालय धादिङले फिर्ता नमागेपछि उक्त रकम र विद्यालयको आन्तरिक श्रोत तथा समुदायको श्रमदानबाट विद्यालयको ३ कोठे भवन निर्माण गरी पठनपाठन गराइ रहेकोमा २०७२ साल बैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको जानकारी गराँउदछु । जुनबेलाको निर्णय कपीहरु कार्यालयमा सुरक्षित छन् । २०७२ बैशाख १२ गतेको भूकम्प पश्चात भवन भत्किएपछि जिल्ला शिक्षा इकाई कार्यालयबाट ६० लाखको ४ कोठे भवन इकाईको प्रत्यक्ष निगरानी र इष्टिमेट अनुसार भवन निर्माण सम्पन्न गरी जाँचपास भई २०७५ मा विद्यालय हस्तान्तरण कार्य भएको हो । पूर्वाधार निर्माणको क्रममा १२ लाख भ्रष्टाचार गरेको भनी व्यक्तिगत रिसिबीबाट उत्पन्न कपोल कल्पित समाचार प्रकाशित भएकोले प्रमाण विना व्यक्तिगत आक्षेप लाग्ने गरी प्रकाशित झुटा समाचार प्रति घोर आपत्ति जनाउँदछुु ।
नेम बहादुर श्रेष्ठ
प्रधानाध्यापक
मनकामना आधारभूत विद्यालय