
तस्बिर स्राेत : मिडिया कुराकानी
काठमाडौं । राजधानी दैनिकका मालिक तथा प्रमुख कार्यकारी अधिकृत आशिस शेरचन प्रहरी नियन्त्रणमा आएको केहीबेरमै फरार भएका छन् । उनलाई नियन्त्रणमा लिन महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट प्रेम कार्कीको कमाण्डमा टोली परिचालन भएको थियो ।
थापाथलीस्थित ब्लुबर्ड मलको पहिलो तलामा रहेको साउदी नेपाल नामक कम्पनिमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । तर, केहीबेरमै विभिन्न व्यक्तिको पावर लगाएर उनलाई प्रहरीले भगाएको छ ।
अदालतमा दायर भएको जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको थियो ।
नियन्त्रणमा लिन पुगेका प्रहरीलाई उनले पक्राउ पुर्जी नै नभएको भन्दै भाग्ने कोशिस गरिरहेका थिए । उनलाई नियन्त्रणमा लिन प्रहरी खटाएका सिंहदरबार बृत्तका प्रमुख चक्र बहादुर शाही केहीबेरसम्म सम्पर्कमा थिए । तर, उनी समेत अहिले सम्पर्क विहिन बनेका छन् ।
शेरचन पक्राउ परेको खबर आइजीपीसम्म पुगेको स्रोत बताउँछ । तर, अन्तत प्रहरीले उनलाई पक्राउ पछि रिहा गरेको स्रोतको भनाई छ । यस विषयमा प्रतिक्रिया लिन नेपाल प्रहरीकमा महानिरिक्षक बसन्त बहादुर कुँवरलाई सम्पर्क गर्दा उनले आफू कार्यक्रममा रहेकाले बुझ्ने बताए ।