काठमाडौं। नेपालले क्यानडाविरुद्ध सनसनीपूर्ण जित निकालेको छ।
एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले क्यानडाविरूद्ध ७ रनको जित निकालेको हो।
त्रिवि मैदान कीर्तिपुरमा २२५ रनको सामान्य लक्ष्य दिएको नेपालले उत्कृष्ठ बलिङ गर्दै ४७.५ ओभरमा क्यानडालाई अल आउट गरेको हो। त्यतिबेलासम्म क्यानडाले २१७ रन बनाएको थियो।
क्यानडालाई रोक्न नेपालका कप्तान रोहितकुमार पौडेलको भूमिका प्रमुख रह्यो। उनले चार विकेट लिए। त्यसक्रममा उनले २२ रनमात्रै खर्चिए भने २ ओभर मेडन राखे।
उनले पर्गत सिंह, श्रीयाश मोब्बा, उदेय भगवान, इशरजोत सोहिलाई पेभेलियनको बाटो देखाइदिएका थिए।
खेलमा ललित राजवंशीले दुई विकेट लिएका थिएभने सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले एक/एक विकेट लिएका थिए।
ललितले ४१, सोमपालले ४०, रिजनले ३४, पवनले ४० र कुशल मल्लले ६ रन खर्चिएका थिए।
यसरी क्यानडाका दुई ब्याटरले अर्धशतक बनाउँदा पनि खेल नेपालको पक्षमा आएको हो।
क्यानडाका निकोलश किर्टनले ९९ बलमा ७ चौका हानेर ६८ रन बनाउँदा पर्गत सिंहले ५८ बलमा ९ चौका प्रहार गर्दै ५० रन बनाएका थिए।
ओपनर आरोन जोनशनले १५ बलमा २० रन बनाउदा हर्श थाकरले ४३ बलमा ३२ रन जोडे। अन्य ब्याट्सम्यान सस्तोमै आउट हुन पुगे।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर २२४ रन बनाएको थियो।
नेपालका लागि कुशल भूर्तेलले ६२ रन बनाए। आरिफ शेखले ३८ रन बनाउँदा सोमपाल कामीले २७ र कुशल मल्लले २० र भीम शार्कीले १७ रन जोडे। पवन सर्राफले १० रन बनाउँदा अन्य ब्याटर कम रनमै आउट भएका थिए।
बलिङतर्फ क्यानडाका उदेय भगवानले ३ विकेट लिए। साद बिन जफर र इशरजोत सोहीले २/२ विकेट लिए।