कांग्रेस अधिवेशन : विचार, नीति र नेतृत्व

दियो पोस्ट  

कृष्ण खनाल

krishna-khanal

फाल्गुन १६, २०७२- आगामी बिहीबार प्रारम्भ हुने कांग्रेस महाधिवेशन अहिले नेपाली राजनीतिको शिखर चर्चामा छ । पहिलोपटक कोइराला परिवारको अभिभावकत्वबाट मुक्त रहेर यो अधिवेशन सम्पन्न हुँदै छ ।

अधिवेशनको पूर्वसन्ध्यामा सभापति सुशील कोइरालाको निधन र अर्को कोइरालाको त्यो सम्भावना बनिनसकेको अवस्थामा कांग्रेसको भावी नेतृत्वप्रति सबैको थप चासो देखिन्छ ।

कांग्रेसका लागि पारिवारिक विरासतबाट स्वतन्त्र पार्टी संगठन र नेतृत्व निर्माण गर्ने यो राम्रो अवसर हो । परिवारको नाम जपेर राजनीति र सत्तामा हावी हुने मात्र होइन, नेतृत्वको दावेदार बन्ने प्रवृत्तिलाई किनारामा सीमित गर्ने अवसर पनि हो ।

कांग्रेसभित्र अहिले पार्टीको नेतृत्व कसले गर्ने अर्थात् सभापति को हुने भन्नेमा व्यापक चर्चा छ । यो अस्वाभाविक होइन । तर सँगसँगै नेपालको वर्तमान अवस्थाको वस्तुगत विश्लेषण र भविष्यको गन्तव्यलाई डोर्‍याउने नीतिमा पनि बृहत् छलफल अपेक्षित हो । छलफलका लागि पार्टीले तयार गरेको भनिएको नीति र विचार त्यसै थन्किएको छ ।

संस्थापन र देउवा पक्ष भनेर त्यसलाई गुटगत विभाजनको विषय बनाइयो । सायद त्यसमा केही रणनीतिक कमजोरी भयो । निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको आधिकारिक नीति र कार्यक्रम संवेदनशील पनि हुन्छ । यसलाई स्वीकार वा अस्वीकार गर्दा गुटगत लाभहानिको हिसाब हुन्छ ।

यो बेलामा हुनुपर्ने कुरा पार्टीको आवधिक प्रतिवेदन हो जसमा चालु अवधिमा पार्टीले लिएको नीति, प्राप्त सफलता र कमजोरी र उपस्थित चुनौतीको विवरण अपेक्षित हुन्छ । नीति र कार्यक्रम त यस्तै अधिवेशनका बेला नेतृत्वका प्रत्यासीले दिने हो । परिणामपछि नेतृत्वमा पुग्नेले अधिवेशनको समापनमा अनुमोदनका लागि प्रस्तुत गर्ने हो ।

सामान्यत: अर्को अधिवेशनसम्म त्यो नै पार्टीको आधिकारिक नीति हुन्छ । बीचमा राष्ट्रिय चुनाव भयो भने त्यही नेतृत्वले आवश्यक परिमार्जनसहित चुनाव पनि हाँक्ने हो । लोकतन्त्रमा पार्टी चलाउने यो सामान्य विधि पनि हो ।

नेपालका राजनीतिक पार्टीहरूलाई हेर्दा ताजुब लाग्ने कुरा के छ भने सबै पार्टी संस्थापन र अर्को पक्ष भनेर विभाजित छन् । मानौं, नेतृत्वमा जित्ने पक्ष नै संस्थापन हो । यसले हार्ने पक्षलाई सदैव असन्तुष्ट र समानान्तर संगठनका रूपमा चित्रित गर्छ ।

संस्थापन भनेको पार्टीको समग्र पक्ष हो । यसमा सबै हार्ने जित्ने पक्ष, गुट, लबी, विचार र दृष्टिकोण समाहित भएको हुनुपर्छ । हामी बाहिरकाले बुझ्ने त्यसरी नै हो । पार्टीभित्र विभिन्न गुट उपगुट, फरक दृष्टिकोण, नीति र कार्यक्रममा फरक प्राथमिकता हुनु अस्वाभाविक होइन । पार्टी व्यवस्थापनमा समूहगत लेनदेन र सन्तुलन पनि हुन्छ ।

कुरा नमिल्दैमा पार्टी टुक्रिँदैन । तर संस्थापन र अर्को पक्ष भन्ने कुरा होइन । यसले विभाजित संगठनको संकेत मात्र गर्छ, जस्तो शेरबहादुर देउवाले संस्थापन कांग्रेसलाई चुनौती दिँदै प्रजातान्त्रिक कांग्रेस बनाएको सन्दर्भ ।

त्यसबेला गिरिजाप्रसादले संस्थापन कांग्रेसको नेतृत्व गर्थे भने शेरबहादुरले छुट्टिएको प्रजातान्त्रिक कांग्रेसको । त्यस्तै अहिले एमाओवादी संस्थापन पक्ष हो भने अलग्गिएर गएका अरू घटक बेग्लै पक्ष हुन् ।

तसर्थ स्वस्थ पार्टी परम्परा बनाउने हो भने संस्थापन भर्सेस यो वा त्यो पक्ष भनेर विभाजन गर्नु उचित हुन्न । विविध पक्ष संस्थापनभित्रै हुन्छन् । पार्टी साहित्यमा प्रयोग हुने शब्दावलीको सञ्चार जगत्ले पनि सही प्रयोग गर्नु जरुरी छ ।

नेतृत्वका प्रमुख प्रत्यासीहरूका आगामी अवधिका लागि खासै कुनै दृष्टिकोण, नीति र कार्यक्रम अझै सार्वजनिक हुन सकेको छैन । प्रतिनिधिहरू छानिइसके संस्थापन र देउवा पक्ष भनेर । सुशील कोइरालाको निधनको जानकारी नपाउन्जेल संस्थापन भनेको उनका समर्थक प्रतिनिधिहरू हुन् ।

त्यसैले उनीहरू विचार र नीतिका आधारमा होइन, व्यक्तिकेन्द्रीत गुट उपगुटका प्रतिनिधि हुन् । चालु नेतृत्वलाई चुनौती दिँदै आएका शेरबहादुरले पहिल्यै आफ्नो दृष्टिकोण, नीति र विचार सार्वजनिक गर्नुपथ्र्यो ।

सुशील कोइराला पक्षलाई त चालु नीति नै पर्याप्त हुन सक्थ्यो । तथापि कांग्रेसका युवाहरूले केही विचार अघि सारेका छन् । गगन थापा, गुरु घिमिरे, प्रदीप पौडेलले समूहगत रूपमा एउटा दृष्टिकोण अघि सारेका छन् भने विश्वप्रकाश शर्माले पनि आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् । यसबाहेक व्यक्तिकेन्द्रित अरू केही फाटफुट विचार पनि आएका छन् ।

गगन र विश्वप्रकाशहरूले ल्याएको विचार र दृष्टिकोण तुलनात्मक रूपमा मननीय छ । गगन महामन्त्रीका प्रत्यासी पनि छन् । अरू केन्द्रीय सदस्यका प्रत्यासी होलान् । उनीहरूले प्रस्तुत गरेको विचार र नीति सामयिक छ ।

नयाँ संविधान, परिवर्तित राजनीतिक–सामाजिक आकांक्षा र समुन्नतिको जनअपेक्षालाई यसले सम्बोधन गरेको छ । साथै नेपालको राजनीतिमा कांग्रेसको अलग विचार र नीतिगत पहिचानलाई पनि तिखारेको छ ।

विश्वप्रकाशले आन्तरिक लोकतन्त्रको सन्दर्भ पनि उठाएका छन् आफ्नो विचारमा । तर सँगसँगै सफा र सुद्ध राजनीति पनि अहिलेको खाँचो हो । दुवै दस्ताबेजमा यो कुरा छुटेको छ ।

स्वयं बीपी कोइरालाले भनेका थिए लोकतन्त्र पुन: प्राप्त भएपछि भुईंफुट्टा जमातले पार्टी गाँज्नेछ, त्यसविरुद्ध अर्को संघर्ष गर्नुपर्नेछ । पार्टीभित्र शुद्धीकरणको यो संघर्ष नगर्ने हो भने सभापति, महामन्त्री पदमा त कोही पनि पुग्लान् तर कांग्रेस र नेतृत्वको सार्थकता रहँदैन ।

आफूले प्रस्तुत गरेका यी विचार र नीतिहरूलाई कांग्रेसको औपचारिक नीति र विचारमा कसरी रूपान्तरण गर्ने भन्ने कुरा प्रमुख हुन्छ । गगनको नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा युवाको अपेक्षित उपस्थिति हुन सके यी विचार र दृष्टिकोणले पार्टीमा बाहुल्य पाउन सक्छ ।

तथापि विचार र नीतिको सान्दर्भिकता मात्र पार्टीका लागि यथेष्ट होइन । कांग्रेसमा विचारको समस्या होइन, पार्टी परिचालनमा त्यसको प्रयोग कसले र कसरी गर्ने भन्ने कुरा प्रमुख हो ।

नेतृत्वमा बस्नेको आफ्नै मौलिक विचार र दृष्टिकोण छैन भने अरूले जतिसुकै राम्रो विचार दिए पनि काम छैन । २०४६ सालदेखि कांग्रेसको समस्या भनेकै यही हो । प्रधानमन्त्री भएका बेला सुशील कोइरालासँग निकट भएर काम गरेका एकजना भन्दै थिए, ‘के गर्ने, हामीले हालिदिएर पुग्दैन, सञ्चालन त उनकै दिमागबाट हुने न हो ।’

यस अवधिमा पार्टीले आफ्ना घोषणापत्र, नीतिगत प्रस्तावहरू पनि सामयिक र सान्दर्भिक नभएका होइनन् तर ती कुरा लेखिदिनेका दिमागका उपज हुन् । शीर्ष नेतृत्वमा बस्ने कसैले पनि त्यसको मर्मलाई अन्तस्करणमा लिन सकेका थिएनन् ।

मलाई सम्झना छ, घोषणापत्र लेखनको त कुरै छाडौं, मस्यौदासम्म पनि कहिल्यै पार्टी नेतृत्वको तहमा छलफल हुँदैनथ्यो । अब हुन्छ भनेर विश्वास गर्ने आधार पनि छैन । पार्टी स्थापनादेखि आफ्नो जीवनपर्यन्त पार्टी नीतिगत घोषणाहरू बीपी कोइराला आफैं लेख्थे । त्यसका आसय मात्र होइन, प्रत्येक शब्द र हरफको मर्म उनलाई थाहा हुन्थ्यो ।

अनि आफैं गहिराइमा पसेर नेपाली जनतालाई मात्र होइन, अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई पनि मौलिक पहिचानका साथ बताउन र व्याख्या गर्न सक्थे । त्यसबेला कांग्रेसको शीर्ष नेतृत्वमा रहेका प्राय: सबै आफैं मस्यौदा गर्थे ।

तर अहिले नीतिगत लेखनको काम कारिन्दा र हाकिमको कर्मजस्तो भएको छ । कारिन्दाले ठीक छ हजुर भनेपछि हाकिमले सही गर्ने । मानौं, नेता त अलग स्टाटस हो, अरूले ठिकठाक पारेर सजाइदिएको मञ्चमा आसन जमाउने र भाषण गर्ने ।

सभापतिको प्रत्यासी हुन लागेका रामचन्द्र पौडेल आफैं लेख्छन् र व्याख्या पनि गर्छन् । उनले नेतृत्व गर्न पाएको अवस्थामा आफ्नो दृष्टिकोण, विचार र मान्यतालाई पार्टीभित्र स्थापना गर्ने प्रयत्न पनि गर्लान् । यो राम्रो पक्ष हो ।

तर उनका विचार र दृष्टिकोण कांग्रेसको सनातनी मान्यतामा आधारित हुने गर्छन् । त्यसमा नयाँपन र बदलिँदो चुनौती सामना गर्ने ताकत देखिन्न । यो समस्या उनको मात्र होइन, उनका समकालीन प्राय: सबैको हो ।

विषय र प्रस्तुतिमा केही नयाँपन गगन र विश्वप्रकाशहरूले देखाएका छन् तर त्यसले पार्टी र मुलुकलाई ड्राइभ गर्ने हैसियत कति राख्छ, माथि नै मैले प्रश्न उठाइसकेको छु ।

तथापि पार्टीमा आशालाग्दो युवा नेतृत्व पंक्ति देखिनु सकारात्मक हो । यो पंक्ति अहिले पार्टीको नेतृत्व गर्ने गरी आएको छैन । त्यहाँसम्मको सुरक्षित यात्रा तय गर्न खोज्दै छ । यसका लागि उसले अनुकूल सभापति पनि रोज्नु जरुरी छ जोसँग मिलेर पार्टीलाई वैचारिक र नीतिगत ड्राइभ दिन सकियोस् ।

निर्णायक बाटोका लागि यो जोखिम मोल्ने बेला पनि हो । जोखिम उठाउन नसक्नेले नेतृत्व गर्न सक्तैन । त्यस्ताको राजनीति पनि मुलुक र समाजको लागि कुनै अर्थ रहन्न ।

नेतृत्वले गर्ने ड्राइभ भनेको पार्टीभित्र आफ्ना शुभेच्छुक समर्थकको तालीमा मात्र सीमित हुने कुरा होइन, यसले समग्र मुलुकलाई स्पन्दन दिन सक्नुपर्छ । आशालाग्दो नेतृत्व निर्माणका क्रममा देखिएका धेरै अनुहार पार्टी राजनीतिको निरंकुशताभित्र तुहिन्छन्, तुहाइन्छन् । त्यस्तो सम्भावना र क्षमतालाई सुरक्षित गर्नु अधिवेशनको जिम्मेवारी हो ।

खानपिन, मोजमस्ती, धाकरवाफ, सुविधा र पदपैसाको लेनदेनमा नेतृत्वको बटबाराबाट अधिवेशन जोगिन सके पार्टी भविष्य पनि सुरक्षित हुन्छ ।

अन्त्यमा, यो अधिवेशन कांग्रेसको नयाँ इतिहास रच्ने अवसर पनि हो । दक्षिण एसियाको पार्टी राजनीतिमा पारिवारिक वर्चस्व जबरजस्त रूपमा रहेको छ । भारतमा कांग्रेस र नेहरू परिवारको पृथकीकरण गर्न सकिन्न । त्यस्तै श्रीलंकामा बन्दरनायके परिवारले श्रीलंका फ्रिडम पार्टीको परिचय दिन्छ । बंगलादेशको दुवै प्रमख पार्टी पहिचान र अस्तित्व पनि परिवारले ओगटेको छ ।

स्वाभाविक हो, संगठन निर्माण र संघर्षका बेला विचार, व्यक्तित्व र नेतृत्व क्षमताका हिसाबले करिश्मादार व्यक्तित्वको अहं भूमिका हुन्छ । उसको परिवार पनि त्यसमा संलग्न हुन सक्छ । त्यस्तो व्यक्तित्वको अवसानपछि जनसर्मथन परिचालन गर्न परिवारबाटै त्यो रिक्ततता पुरा गर्न खोजिन्छ ।

कांग्रेसमा सुशील कोइरालाको नेतृत्व यसैका आधारमा स्थापित भएको हो । तर कोइराला परिवार ठूलो छ । को हो उत्तराधिकारी छुट्याउन कठिन छ ।

शसाक, शेखर, सुजाताबिच कोइराला विरासतको द्वन्द्व छ । तथापि कांग्रेसको नेतृत्व चयनमा कोइराला परिवारको स्टेकलाई कम आकलन गर्न सकिन्न । परिवारको योगदानलाई सम्मान र कदर गर्नुपर्छ तर नेतृत्वका लागि शिर थाप्नु आवश्यक छैन ।

कोइरालाको नेतृत्वबिना पनि कांग्रेस चल्छ, अझ सशक्त हुन्छ भन्ने विश्वास र मान्यता यो अधिवेशनले स्थापित गर्न सक्नुपर्छ यदि कांग्रेसको दीर्घकालीन हित सोच्ने हो भने । शुभकामना ।

कान्तिपुरबाट साभारs