
रामेछाप, ५ फागुन । रामेछाप–सिन्धुली जिल्ला जोड्ने सुनकोसी नदीस्थित कोथबेमा निर्माण गरिएको अस्थायी कल्भर्ट निर्माणले स्थानीय सरकार र केन्द्र सरकारबीच विवाद चुलिएको छ । रामेछापको खाँडादेवी र सुनापती गाउँपालिकाले नागरिकहरुलाई सुविधा पुग्ने गरी अस्थायी कल्भर्टमा निर्माणमा लगानी गरेपनि केन्द्र सरकारले अस्थायी कल्भर्ट भत्काउन पत्राचार गरेपछि विवाद चुलिएको हो ।
रामेछापको पश्चिम क्षेत्रका बासिन्दालाई राजधानी काठमाडौं आवतजावत गर्न सहज बनाउने उदेश्यले व्यापारीहरुले निर्माण गरेको अस्थायी कल्भर्टमा दुई गाउँपालिकाले पनि लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तीन महिना अघि अस्थायी कल्भर्ट सञ्चालनमा आएपछि रामेछापका गाउँगाउँमा राजधानी काठमाडौंबाट सिधै यातायात सञ्चालन सुरु भएको थियो । तर केन्द्र सरकारले रोक लगाउने निर्णय गरेपछि रामेछापवासी अन्यौलमा परेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले हस्ताक्षर विनाकै पत्रलाई आधार बनाउदै अस्थायी कल्भर्ट भत्काउन गृह मन्त्रायलाई पत्राचार गरेका थिए । सोही पत्रलाई आधार मान्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय रामेछापलाई अस्थायी कल्भर्टमा रोक लगाउनुको साथै भत्काउन पत्राचार गरेको थियो । पर्यटन मन्त्री अधिकारीले स्थानीय तहको सरकारको अधिकारमाथि हस्तक्षप गर्दै नागरिकहरु हिडने पुल भत्काउन पत्राचार गरेपछि सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले पर्यटनमन्त्री अधिकारीलाई मन्त्री निवास पुलचोकमै पुगेर उक्त निर्णय सच्याउन माग गरेका थिए ।
अध्यक्षद्धयको मागको बारेमा मन्त्री अधिकारीले पुनः पत्र पठाएर अस्थायी कल्भर्ट नभत्काउने पत्राचार गर्ने आश्वासन दिएका थिए । तर मन्त्री अधिकारीले अहिलेसम्म गृहमन्त्रालयमा कुनै पनि पत्राचार गरेको बताइएको छ ।
अस्थायी कल्भर्टमा दुई सातादेखि यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछापतर्फ प्रहरी राखेर यातायात चल्न दिएको छैन् । उक्त अस्थायी कल्भर्ट बन्द हुँदा अत्यावश्कीय सेवा एम्बुलेन्स समेत सञ्चालन हुन सकेको छैन् । हाल अस्थायी कल्भर्टबाट दैनिक रुपमा पाँच सय भन्दा बढी यात्रुहरु ओहोरदोहोर गर्ने गरेको बताइएको छ ।

गृह मन्त्रालयको पत्र अनुसार जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको संयोजकत्वमा, रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख अमरेन्द्रबहादुर सिंह सहितको बैठकले अस्थायी कल्भर्ट निर्माणमा रोक लगाउने निर्णय लिएको थियो । तर खाँडादेवी गाउँपालिका र सुनापती गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले अस्थायी कल्भर्ट पुनः सञ्चालन गर्ने निर्णय गरेका छन् । यसले स्थायी तह र केन्द्र सरकारबीच विवाद बढाएको छ ।
अस्थायी कल्भर्ट साविककैझै सञ्चालन गर्ने निर्णय
खाँडादेवी गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयले सवारी सञ्चालनमा रोक लगाएको कोथबेको अस्थायी कल्भर्ट पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको बैठकले नागरिकहरु आवत जावत गर्ने अस्थायी कल्भर्ट सञ्चालनमा रोक लगाउन नहुने निष्कर्ष निकाल्दै पुनः सञ्चालन गर्न भूमिका खेल्ने निर्णय गरेको हो । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले नागरिकहरुको आवत जावतलाई बाधा सृजना गर्ने गरी कल्भर्ट सञ्चालनमा रोक लगाउनु बेठिक भएको बताउदै कल्भर्ट पुनः सञ्चालनको लागि पर्यटन मन्त्री रविन्द्र अधिकारीसँग नै कुरा गरैको बताए । अस्थायी कल्भर्ट बन्द हुँदा रामेछापबाट काठमाडौं सञ्चालन हुने सवारी साधन सिधा चल्न सकेका छैनन् ।
अस्थायी कल्भर्ट पुनः सञ्चालन गर्ने सुनापती गाउँपालिकाको निर्णय
सुनापती गाउँपालिकाले पनि कोथेवको अस्थायी कल्भर्ट पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । सुनापती गाउँ कार्यपालिकाको बैठकले सुनापती गाउँपालिकामा पुननिर्माणको काम नसकिएको विकास निर्माणको कार्यमा ढुवानी गर्न असहज भएको, सुनकोसी नदीमा निमाणाधिन पक्की पुल निर्माणको कार्य सुस्त भएकाले अस्थायी कल्भर्ट विकल्प नहुँदासम्म पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले गरेको निर्णयमा भनिएको छ,‘कोथबेमा सञ्चिालित अस्थायी कल्भर्ट अन्य विकल्प नहुँदासम्म केही समय सञ्चालन गरिरहन सम्बन्धित निकायहरुलाई ध्यानकर्षण र अनुरोध गरिएको छ । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले कोथबेको अस्थायी कल्भर्ट कुनै पनि हातलमा सञ्चालन गर्नुपर्ने बताए । उनले भने,जनताको सुविधाको लागि सञ्चालनमा ल्याइएको अस्थायी कल्भर्ट बन्द गराउदा जनताको दैनिक आवतजावतलाई समस्या पर्नुको साथै पुननिर्माणको काममा समेत असर परेकाले अस्थायी कल्भर्ट अहिले भत्काउनु हुँदैन ।’
पक्की पुल नबन्दासम्म अस्थायी कल्भर्ट नभत्काउन माग
विगत दस बर्ष अघि निर्माण कार्य सुरु भएको खैरेनीघाटको पक्की पुल अझै निर्माण हुन सकेको छैन् । पक्की पुल निर्माणको काम यस बर्ष सम्पन्न गर्ने गरी धमाधम भइरहेको छ । पुल निर्माणको कामले गति लिएसँगै रामेछापवासी उत्साहित भ्एका छन् ।
केही व्यापारी र दुई गाउँपालिकाले सहयोगमा निर्माण भएको अस्थायी कल्भर्ट भत्काउने निर्णयप्रति रामेछापका नागकिरहरु रुष्ट भएका छन् । अस्थायी कल्भर्ट सञ्चालनमा रोक लगाएपछि दैनिक रुपमा सो पुल हुँदै आवातजावत गर्ने सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन् । पुल बन्द गर्ने निर्णय गरेसँगै सुनापती र खाँडादेवी गाउँपालिका नागरिकहरुलाई ३७ किलोमिटर घुमाउरो यात्रा गर्नुपर्ने बाँध्यता थपिएको छ ।
अस्थायी कल्भर्ट निर्माणमा विगतमा सरकारकै लगानी
रामेछापका पश्चिम क्षेत्रका बासिन्दालाई राजधानी काठमाडौं आवतजावत गर्न समस्या भएको भन्दै तत्कालिन सरकारले खैरेनीमा नै अस्थायी कल्भर्ट निर्माण गरेको थियो । तत्कालिन जिल्ला विकास समिति, तत्कालिन सभासदको लगानीमा उक्त अस्थायी कल्भर्ट निर्माण भएको थियो । तर धेरै समय सञ्चालन भने हुन सकेको थिएन । नेकपाका नेता एवं हाल सुनापती गाउँपालिका–५ खनियापानीका वडा अध्यक्ष ठूलोकान्छा तामाङको नेतृत्वमा खैरेनीघाटमा अस्थायी पुल सञ्चालनमा ल्याइएको थियो ।
अस्थायी कल्भर्टमा व्यापारीको स्वार्थ
अस्थायी पुल निर्माणमा गर्नुमा मध्य पहाडी लोकमार्गसँगै केही व्यवपारीहरुको पनि स्वार्थ जोडिएको छ । खाँडादेवी गाउँपालिकाले डेढ करोड भन्दा बढीमा सुनकोसी किनाराका बालुवा, ढुंगाको ठेक्का लगाएको छ । उक्त बालुवा ढुंगा र गिट्टी सोही पुल हुँदै राजधानी जाने गरेको छ । कोथेबे बगरमा नै बालुवा प्रशोधन उद्योग हाल सञ्चलनमा रहेको छ ।
व्यापारीहरुले आफ्नो स्वार्थ अनुकूल निर्माण गरेको अस्थायी कल्भर्टले रामेछापका बासिन्दालाई सहज भएको छ । स्थानीयले पुनिर्माणको काम धमाधम भइरहेको र राजधानी काठमाडौं आवतजावत गर्न सहज भएको कारण अबको तीन महिना अस्थायी कल्भर्ट नभत्काइदिन सरकारसँग माग गरेका छन् ।
रामेछापको पश्चिम क्षेत्रका बासिन्दालाई सदरमुकाम मन्थली भन्दा राजधानी काठमाडौं दुरीको हिसाबमा नजिक पर्छ । गाउँमा बिरामी हुँदा छिटो अस्पताल पुर्याउनको लागि अस्थायी कल्भर्ट सहज भएको छ ।
सुनकोसीको मझुवा बगरमा पनि अस्थायी कल्भर्ट
सुनकोसी नदी दोहान अत्याधिक रुपमा बढेको छ । स्थानीय सरकारले नदीको प्राकृतिक स्रोतलाई मुख्य आम्दानी बनाएका छन् । रामेछाफर्तको बालुवा ढुंगा गिटी ल्याउनको लागि केही व्यवासायीहरुले सुनकोसीको मझुवा बगरमा पनि स्थायी कल्भर्ट निर्माण गरेका छन् । तर नदीको बहाप नै परिवर्तन गर्ने गरी उक्त कल्भर्ट निर्माण नगर्न खाँडादेवी गाउँपालिकाले पत्राचार गरेपछि तिनै व्यपारीहरुले सयौ यात्रुहरु ओहोर दोहोर गर्ने कोथबेको अस्थायी कल्भर्ट पनि भत्काउन दबाब दिएका छन् ।केोथबेमा अस्थायी कल्भर्ट निर्माण गर्ने क्रममा स्थानीय सरकारको अनुमति लिएर मात्र गरिएको दावी मध्य पहाडी लोकमार्गले गरेको छ । त्यति बेला पनि विवाद भएको थियो । जिल्ला प्रशासन कार्यालय रामेछापलाई पनि सो विषयमा जानकारी भएपति त्यति बेला निर्माण गर्न मौन समर्थन जनाएको थियो ।
भत्काउने कुरा भएको छ : प्रजिअ शर्मा
रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले अस्थायी कल्भर्ट भत्काउने विषयमा छलफल भइरहेको बताए ।
उनले दियोपोष्टसँग भने,‘कोथबेको अस्थायी कल्भर्टमा यातायात सञ्चालन गर्न नदिन प्रहरी परिचालन गरिएको छ, भत्काउने कुरा पनि भएको छ ।’ उनले केही दिनमा नै जिल्ला समन्वय समितिको बैठक बस्ने र कोथबेको अस्थायी कल्भर्टको अनुगमन गरेर निर्णय लिने जानकारी दिए ।
प्रजिअ शर्माले थपे,‘नदीको बहाप परिवर्तन गर्ने गरी निर्माण गरिएको अस्थायी कल्भर्ट कानुन विपरीत नै होला ।’