दियोपोस्ट संवाददाता
धादिङ, ६ फागुन । जिल्ला कारागार धादिङमा चौकीदार परिवर्तन गर्न आर्थिक चलखेल भएको पाइएको छ । यसअघि चौकिदार रहेका टोकबहादुर तामाङले प्रहरी र जेलरसँगको मिलेमतोमा विभिन्न धन्दा चलाएको भन्दै दियोपोस्टमा समाचार आएपछि चौकिदार परिवर्तन गर्ने तयारी भएको थियो ।
नयाँ चौकीदार बन्नका लागि ३५ लाखसम्म डिल भएको स्रोतले जनाएको छ । यसअघि चौकिदार रहेका टोक बहादुर तामाङलाई हटाएर रुपक चापागाईलाई नयाँ चौकिदार बनाइएको छ ।
सामुहिक बलात्कारको मुद्दामा सजाय काटिरहेका चापागाईँले चौकिदार बन्नका लागि ३५ लाख रुपैयाँ खर्च गरेको जिल्ला कारागार स्रोतले बताएको छ । कारागार स्रोतका अनुसार कारागार भित्र हुने विभिन्न अवैध धन्दामा साझेदारी गरेका निमित्त जेलर मदन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको मिलेमतोमा आर्थिक चलखेल गरिएको छ ।
कारागार भित्र हुँदै आएको अवैध मदिरा बेचविखन, पैसा तिरेर कैदीवन्दि जिल्ला स्थित होटलमा पुग्ने गरेको घटनालाई सघाउँदै आएका जेलर श्रेष्ठलाई बर्खास्त गर्नुको सट्टा आर्थिक चलखेलको आधारमा चौकिदार परिवर्तन गरिएको छ ।

केहि दिनअघि दियोपोस्टमा प्रकाशित समाचारमा जिल्ला कारागार भित्र निमित्त जेलर मदन कुमार श्रेष्ठ र चौकिदार टोक बहादुर तामाङको मिलेमतोमा मदिरा भित्र्याउने र महँगोमा विक्री गर्ने, प्रश्न उठाउने कैदी वन्दीलाई मानसिक यातना दिने र सुनसरी स्थित झुम्का कारागारमा सरुवा गर्ने गरिएको उल्लेख गरिएको थियो ।
समाचार प्रकाशन भएपछि कारागार केन्द्रीय विभागले छानबिनका लागि सहायक जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । निर्देशन अनुसार सहायक प्रमुख जिल्ला अधिकारी द्योलकराज ढकालको नेतृत्वमा समिति नै बनेको थियो । समितिले प्रतिवेदन समेत नबुझाई प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र निमित्त जेलर मदन कुमार श्रेष्ठले आर्थिक प्रलोभनमा परी नयाँ चौकिदारलाई मंगलबार नियुक्ती दिएका छन् ।
‘समाचार प्रकाशन भएपछि नै चौकिदार परिवर्तन गर्ने कुरा भएको थियो । तर, नयाँ चाकिदारमा ३५ लाख खर्च गर्ने सक्ने मान्छे नभएपछि केही दिन लागेको हो । रुपक चापागाईंको काठमाडौंमा घर छ । धादिङमा पनि करोडौंको सम्पत्ति रहेछ,’ स्रोतले भन्यो,‘उसले ३५ लाख रुपैयाँ खर्च गर्ने राजी भएपछि चौकिदार बनाइएको हो ।’
यसअघि चौकिदारको रुपमा रहेका टोक बहादुर तामाङलाई भाई नाइके बनाइएको स्रोतले बतायो ।
धादिङ कारागारभित्र जेलर र चौकिदारको धन्दा : ‘रु ५ हजारमा मदिरा, होटलमा युवती भेट्न ३० हजार’