ठगी मुद्दामा जेलमा रहेका ईच्छाराजको बौद्ध हाउजिङमा प्रभु बैंकको ४० करोड शंकाष्पद लगानी !

दियो पोस्ट  

काठमाडौँ । ठगी मुद्दामा जेलमा रहेका सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङले सञ्चालन गरेको हाउजिङमा एक वाणिज्य बैंकले शंकाष्पद लगानी गरेको भेटिएको छ ।

संगठित अपराध तथा ठगी मुद्दामा हाल पुर्पक्षका लागि थुनामा रहेका तामाङले सञ्चालन गरेको उक्त हाउजिङमा प्रभु बैंकले ४० करोड रुपैयाँ ऋण लगानी गरेको पाइएको हो ।

उक्त प्रकरणबारे सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले छानबीनका क्रममा यस्तो पत्ता लगाएको हो । तर, गत कार्तिकमै दियोपोस्ट डटकमले उक्त हाउजिङको सम्पत्ति रोक्का गरेको विषयमा समाचार प्रकाशन गरेको थियो ।

२० रोपनी क्षेत्रफल रहेको उक्त कम्पनी ‘बौद्ध हाउजिङ प्रालि’ का नामका कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता छ । अहिले उक्त हाउजिङ निर्माणको काम समेत भइरहेको छ । इच्छाराज तामाङ र सिभिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठका नाममा दर्ता रहेको उक्त कम्पनीको चुक्ता पुँजी ५ करोड मात्र राखिएको छ ।

जसमा तामाङका नाममा साढे चार करोड र श्रेष्ठका नाममा ५० लाख रुपैयाँ मात्र पुँजी लगानी देखाइएको छ । सोही कम्पनी धितो राखेर प्रभु बैंकबाट ४० करोड रुपैयाँ ऋण निकालिएको खुलाशा भएको हो ।

उक्त हाउजिङ कम्पनिले प्रभु बैंकसँग नै कारोबार गर्ने र पीडितहरुलाई दिनुपर्ने रकमको चेक समेत प्रभु बैंककै दिने गरेको थियो । गत कार्तिकमा एक पीडितले प्रभु बैंकको चेक नसाटिएपछि इच्छाराज विरुद्ध चेक अनादरको मुद्दा दायर गरेका थिए । उनको मुद्दामा बौद्ध हाउजिङको नाममा रहेको जग्गा खोजबिन गर्न मालपोत कार्यालय चावहिललाई पत्राचार भएको थियो ।

काठमाडौंको साविक जोरपाटी गाविस वडा नम्बर ७ को कित्ता नम्बर २४, २५,२७, ५२ र वडा नम्बर ९ को कित्ता नम्बर ४३, ४४ र ७८ का जग्गाहरु रोक्का गर्न त्यतिबेला पत्राचार भएको थियो । तर, सम्पत्ति सुद्धिकरण अनुसन्धान आयोगले यी कित्ता नम्बरमा भएका जग्गाहरु कहाँ गए भनेर खोज्न थालेको छ ।

सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका अनुसार यो कम्पनि रहस्यमयी देखिएको छ । मालपोतमा जाँदा जग्गा नदेखिएको तर, जग्गा नभएपनि कम्पनि धितो राखेर बैंकले ऋण लगानी गरेको देखिएको हो ।

स्रोतका अनुसार तामाङले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसँग मिलेमतोमा बौद्ध हाउजिङकै लागि ४० करोड ऋण निकालेका थिए । तर, उक्त रकम औचित्यहिन तरिकाले दिएको अनुसन्धानमा देखिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

 

सम्बन्धित खबर