जब रिटायर्ड डिआइजी शाहलाई आफ्नै बडिगार्डले ‘ब्लक’ गरे… !

diyopost.com
दियो पोस्ट  मंगलबार, फाल्गुण ०३, २०७८ | १९:०४:५०

काठमाडौं । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरिक्षक (डिआइजी) हुन्–महेश विक्रम शाह । उनी साहित्य तथा लेखनमा समेत सक्रिय छन् ।

केहीदिन अघि प्रहरी सेवाबाट अवकाश पाएका शाहले आफूले फोन गर्दा आफ्नै सुरक्षामा बसिसकेका गार्डले समेत रेस्पोन्स नगरेको बताएका छन् ।

३० वर्षे प्रहरी सेवा अवधि पुरा गरेर अवकास पाएपछि आफूलाई शक्तिमा हुँदा र नहुँदा आफूसँगै बस्नेहरुले गर्ने व्यावहारबारे जान्न मन लागेपछि उनले शुरुमा आफ्ना चालकलाई फोन गरे । जसको बृत्ति विकासमा उनले निकै सहयोग गरेका थिए । उनको फोनको घण्टी त बजिरहयो तर ड्राइभरले उनको फोन उठाएनन् ।

उनका अनुसार चालकलाई उनले तीन चार पटकसम्म फोन गरेका थिए । त्यसपछि शाहले आफ्नो गार्डलाई फोन गरे । जसलाई उनले धेरै मायाँ र अवसर समेत दिलाएका थिए रे । गार्डले पहिलो पटक फोन उठाएनन् । दोस्रो पटक फोन त उठाए तर,‘सर म त विजी छु,’ भन्दै फोन काटिदिए ।

आफ्नो पिए समेत बसिसकेका एक प्रहरी अधिकृतलाई समेत शाहले फोन गरे । आधा रिङ बज्ने वित्तिकै फोन काटियो र,‘.. तपाईंले सम्पर्क गर्न खोज्नु भएको नंबर व्यस्त छ,’ भन्ने आवाज आयो । मत्लव उनलाई ती गार्डले समेत ब्लक गरिसकेका रहेछन् ।

त्यसपछि शाहले एक अर्को व्यक्तिलाई फोन गरे । उनी पदमा रहँदा ती व्यक्तिले डिआइजी शाहलाई आफै पटक पटक फोन गर्थे । स्टार होटलमा कहिले लञ्च त कहिले डिनरका लागि अनुरोध मात्रै होइन अनुनय नै गर्थे । उसले पनि शाहको फोन त उठाए र हाँस्दै भने,‘सर, घरमै बसी बसाउ होला होइन त !! म काममा छु सर । एकछिन पछि आफै कल गर्छु ।’

त्यसपछि उनी चुप लागे । ती व्यक्तिले सोचे उनले फोन राखे तर डिआइजी शाहले फोन राखेका थिएनन् । पछाडीबाट आवाज आयो,‘रिटायर्ड डिआइजी हो यार । अब यसको के काम छ साला….।’

यसरी आफू पदमा नरहँदा भोग्नु परेको भोगाइ उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

‘म सत्ता र शक्तिमा हुँदा प्रायःले भन्ने गर्थे “यो साहित्य साहित्यमा के राखेको छ र !! यत्रो पदमा पुगेको मान्छे !’ डिआइजी शाह भन्छन्,‘मलाई थाहा थियो यो सत्ता र शक्ति भन्ने कुरा अत्यन्त निर्मम छ र क्षणिक छ । त्यसैले मैले सधैं आफ्नो पेशालाई आफ्नो कर्तव्य र साहित्यलाई आफ्नो सपना र साधना सम्झेँ ।’

 

सम्बन्धित खबर