‘प्रतिगामी’ चिन्तनविरुद्ध कविहरुले तताए सडक, ‘लोकतन्त्र’ विरोधी प्रवृत्तिको भण्डाफोर!

Rita Budhathoki  

बुटबल । पछिल्लो केही दिन यता प्रतिगामी तत्वहरु सल्बलाउन खोजेको भन्दै रुपन्देहीका प्रगतिशिल लेखक तथा साहित्यकारहरुले सडकमा उभिएर प्रतिगामी चिन्तनका बिरुद्धमा कविता बाचन गरेका छन् । तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा आयोजित एक कार्यक्रमका बीच साहित्यकार तथा सर्जकहरूले कविता, गजल, मुक्तक, गीत तथा लघुकथा मार्फत लोकतन्त्र विरोधी प्रवृत्तिहरूको भण्डाफोर गरेका हुन ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष डा. मुरारी पराजुलीले इतिहासमा पछाडि फर्कने प्रयास सधैं असफल हुने भन्दै साहित्यकारहरूले लोकतान्त्रिक चेतना उजागर गर्नुपर्ने आवश्यकता औंल्याए ।

सो अवसरमा प्रगतिशील लेखक सङ्घ, रूपन्देहीका अध्यक्ष कृष्ण गाउँलेले जनताले संघर्ष गरेर उखेलिसकेको व्यवस्थाको पुनरागमन सम्भव नभएको भन्दै निरन्तर साहित्यिक तथा सचेतना अभियान आवश्यक रहेको बताए । उनले प्रतिगामी तत्वहरुको कृयाकलापले मुलुकलाई झनै अन्धकारतिर धकेल्ने भएको हुँदा जनतालाई सचेत गराउन सडक कविता आयोजना गर्नु परेको भन्दै अग्रगामी बिचार हुनेहरु एक हुनु पर्ने धारणा ब्यक्त गरे ।

कार्यक्रममा कबिता वाचन गर्दै नेपाली लेखक सङ्घ, रूपन्देहीका अध्यक्ष लिलाधर पाण्डेले साहित्य सिर्जनात्मक प्रतिरोधको बलियो माध्यम भएकाले यसलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरे ।

सिर्जनशिल साहित्यिक समाज ‘सिसास’का पूर्व अध्यक्ष तथा कवि नारायण प्रसाद भण्डारीले लामो समयको संघर्ष र बलिदानीले मुलुकमा राजतन्त्रको अन्त्य भएको र केही ब्यक्तिले राजतन्त्र ल्याउने अभिब्यक्ति दिए पनि अब देशमा राजतन्त्र ल्याउन संभव नभएको बताए ।

सो अवसरमा आफ्नो कविता वाचन गर्दै प्रगतिशिल लेखक संघ रुपन्देहीका उपाध्यक्ष तथा अधिवक्ता ज्ञानु केसीले दुई चार जना ब्यक्तिले चाहँदैमा जनताले लडेर ल्याएको ब्यवस्था परिवर्तन हुन नसक्ने ठोकुवा गरे ।

सो कार्यक्रममा कबिहरुले कविता मार्फत लोकतान्त्रिक चेतना प्रवद्र्धन गर्दै राजतन्त्र पुनःस्थापना गर्ने षड्यन्त्रको भण्डाफोर गर्न तथा सामाजिक न्यायको पक्षपोषण र जनताको अधिकारको संरक्षण गर्न आग्रह गरेका थिए । कबितामा नेपाली जनताले इतिहासमा गरेको बलिदान र संघर्षको स्मरण गराइनुका साथै समाजमा व्याप्त पछौटेपन, अन्याय, उत्पीडन तथा लोकतन्त्रलाई उल्टाउने प्रयासको विरोध गरिएको थियो ।

‘चिहानबाट जागेर को सक्छ फेरी आउन,
प्रतिगमनकारी त्यो कसरी सक्छ व्यूँतन !’
भन्ने नारासहित आयोजित कार्यक्रममा कबि डा. मुरारि पराजुली, डा. हरिप्रसाद भण्डारी, रूद्र ज्ञवाली, कविराज पौडेल, लिलाधर पाण्डे, सीता ढुङ्गाना काफ्ले, सुवास रिजाल, ज्ञानु के.सी., हरिप्रसाद पौडेल, नारायण प्रसाद भण्डारी, सागर के.सी., मुकुन्द भट्टराई, केशव बेलबासे, खेम बहादुर गुरुङ, उद्दव देवकोटा, यदु लामिछाने, तिलक लामिछाने, दुर्गा थापा मगर, कमला भण्डारी लगायत दुई दर्जन भन्दा बढी कवि तथा साहित्यकारहरूले आफ्ना सशक्त रचनाहरू प्रस्तुत गरेका थिए ।
यस खाले कार्यक्रम देशब्यापी रुपमा निरन्तर गरिने आयोजकको भनाई छ ।