काठमाडौं, २४ फागुन । भैरवकुण्ड हाइड्रोपावर लिलामीपछि आफू कालो सुचिमा पर्ने भएपछि श्री लालीगुराँस सहकारी अदालतको ढोकामा पुगेको छ । बैंकको ४० करोडभन्दा बढी ऋण नतिरेपछि श्री लालीगुराँस सहकारीको लगानी रहेको भैरवकुण्ड हाइड्रोपावर नै लिलामीमा परेको थियो ।
सानिमा बैंकको अगुवाईमा बैंक अफ काठमाडौं, एनएमबी बैंक, एनआइसी एशिया बैंक, मन्जुश्री फाइनान्स लिमिटेड र ग्लोबल आइएमइ बैंकले संयुक्त रुपमा लिलामीको सुचना निकालेका थिए ।
बैंकहरुले गत पुस १६ गते ३५ दिने सुचना निकाल्दै ३५ दिन भित्र ऋण नतिरे कालोसुचीमा राख्ने चेतावनी दिएका थिए ।
जनताको बचत रहेको श्री लालीगुराँस सहकारीले संस्थागत जमानत लिएको थियो भने सहकारीका प्रमुख कार्यकारी सञ्चालक सुरेन्द्र भण्डारी हाइड्रो पावरका समेत सञ्चालक हुन् । उनको नाममा समेत बैंकले लिलामी निकालेको थियो ।
गत फागुन ११ गते उच्च अदालत पाटनमा सहकारीले सानिमा बैंक लगायत सहवित्तिय बैंकहरु विरुद्ध मुद्दा हालेको हो ।
प्रारम्भिक सुनुवाई क्रममा गत फागुन १३ गते न्यायधीश गुणराज ढुंगेलले कारण देखाउ आदेश जारी गर्दै छलफलमा झिकाउने आदेश दिएका छन् ।
शुक्रबार पेशी तोकिएको भएपनि छलफल नभएपछि २९ गतेका लागि सरेको उच्च अदालत पाटनका एक कर्मचारीले दियोपोस्टलाई बताए ।
‘सहवित्तियकरण समुहका बैंक तथा वित्तिय संस्थाहरुबाट उपभोग गरेको कर्जा तिर्ने बुझाउने तर्फ हालसम्म सम्पुष्टि हुने किसिमको स्पष्ट, यथार्थ कार्यान्वयनयुक्त तथा ठोस कार्यायोजना समेत पेश गर्न नसकेको, कर्जा तिर्नेतर्फ उन्मुख हुनुपर्नेमा सो गरे भएको नपाइएकोले लिलाम गर्नु परेको’ कान्तिपुर दैनिक पत्रिकामा बैंकहरुले निकालेको सुचनामा उल्लेख थियो ।
सिन्धुपाल्चोकको लार्चामा सञ्चालन भएको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले ३ मगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको थियो ।
उक्त हाइड्रोपावरले सानिमा बैंकको अगुवाईमा सहवित्तिय कर्जा अन्तर्गत बैंक अफ काठमाडौं, एनएमबी बैंक, एनआइसि एशिया बैंक, मन्जु श्री फाइनान्स र ग्लोबल आइएमइ बैंकसँग ४० करोड ऋण लिएको थियो ।
जमानी बस्ने संस्थागत जमानीकर्ता र सञ्चालकहरुलाई समेत कालोसुचीमा राख्ने तयारी बैंकले गरेको छ ।
राजधानीको कमलपोखरीमा कार्यालय रहेको उक्त हाइड्रोपावरमा लालीगुराँसका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी, रामकाजी पौडेल, राजेश श्रेष्ठ, मनोरञ्जन रमण शर्मा र पदम बहादुर श्रेष्ठ सञ्चालक छन् । आफै सञ्चालक रहेको हाइड्रोपावरमा भण्डारीले करोडौं ऋण समेत निकालेका छन् ।
त्यस्तै अर्जुनबहादुर थापा, डोरबहादुर भण्डारी, साङ्बु शेर्पा, नरेशलाल श्रेष्ठ, ज्ञानेन्द्रप्रसाद मल्ली, सुरेश श्रेष्ठ, राजेश श्रेष्ठ, विष्णुबहादुर खत्री, अमृतकुमार खडका, कमलकुमार श्रेष्ठ, सिताराम बस्नेत, रामकाजी पौडेल, चन्द्रबहादुर शेर्पा, श्यामबहादुर श्रेष्ठ, श्यामबहादुर श्रेष्ठ, केदारबहादुर थापा, बच्च्ु पौडेल, साङदोर्जे शेर्पा, अनिलभक्त श्रेष्ठ, सुधिरप्रसाद तिम्सिना, विष्णु बहादुर श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, शिवराम श्रेष्ठ, मुकुन्दप्रसाद तिमिल्सिना लगायत ३३ जना व्यक्तिगत जमानत कर्ताको नाम समेत बैंकले सार्वजनीक गरेको छ ।
यी हुन् संस्थागत जमानीकर्ता
बैंकहरुले ऋण नतिर्ने संस्थागत जमानीकर्ताहरुको सुची समेत सार्वजनिक गरेका छन् । जसमा सामना मल्टिपल इन्भेष्टमेन्ट, शक्ति इन्भेष्टमेन्ट प्रा.ली, एम.एन.के ग्रुप प्रा.ली, मल्ली मर्चेण्ट एण्ड इन्भेष्टमेन्ट प्रा.ली. मल्टिपल इन्भेष्टमेन्ट कम्पनी प्रा.ली र ललितपुरमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।
धितो विक्रिमा जग्गादेखि घरटहरासम्म
बैंकले निकालेको सुचनामा हाइड्रोपावरको नाममा मालपोत कार्यालय सिन्धुपाल्चोकमा दर्ता रहेको तातोपानी गाविस वडा नम्बर ४ को कित्ता नमबर १९२ र २०६ का साँढे १५ रोपनी जग्गा समेत रहेको छ । साथै उक्त जग्गामा निर्मित ३ मेघावट क्षमता रहेको भैरवकुण्ड हौड्रोपावरको सम्पूर्ण घर टहरा, जडान गरिएका सम्पूर्ण प्लान्ट मेसिनरी उपकरण र चलअचल सम्पत्ति लिलामी हुने सुचनामा जनाइएको छ ।
बैंकहरुले धितो लिलामी बिक्रीबाट बैंकहरुको सम्पत्तिको उचित मुल्य नपाए हाइड्रोपावरका सञ्चालकहरुको घरघराना चल, अचल सम्पत्तिबाट अशुली गरिने चेतावनी दिएका छन् ।