बलात्कार मुद्दामा गृहमन्त्री पुत्रलाई फसाउने तयारी, प्रहरीले करेन्ट लगाएर बयान लिएको खुलाशा !

दियो पोस्ट  

काठमाडौं, चैत्र १८ । गृहमन्त्री राम बहादुर थापा बादलका पुत्र प्रतीक थापालाई बलात्कार मुद्दामा फसाउन प्रहरीले षडयन्त्र गरेको एक युवतीले बताएकी छिन् । दियोपोस्टको सम्पर्कमा आएकी ती युवतीलाई प्रहरीले चरम यातना दिएको समेत खुलेको छ । गृहमन्त्री पुत्र थापाको नाम ‘पोल्नुपर्ने’ सर्त राख्दै प्रहरीले ती युवतीको खुट्टामा इलेट्रिक सक (करेन्ट समेत) समेत लगाएको खुलेको छ ।
विद्यार्थी भिषामा अष्ट्रेलिया पठाइदिने बहाननामा अन्जली खाँड (नाम परिवर्तन)लाई पर्सा घर भएका रकी गुप्ताले राजधानीकै गौरीधारास्थित कार वास सेन्टरमा बलातकार गरेको भन्दै महानगरीय प्रहरी बृत कालिमाटीमा रहेको महिला सेलमा जाहेरी परेको थियो ।


जाहेरीकै आधारमा प्रहरीले रकी गुप्तालाई पक्राउ गरेको थियो । पक्राउ परेका रकी गत वर्ष १४ करोड भन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी मुद्दा चलाएका सुब्बा मदन गुप्ताका पुत्र हुन् । रक्कीले राजधानीको गौरीधारामा कारवास सेन्टर सञ्चालन गर्छन् । सोही कारवास सेन्टरमा अञ्जलीमाथि बलात्कराको घटना भएको थियो ।


प्रहरीले रकीलाई उन्मुक्ति दिएर गृहमन्त्री राम बहादुर थापाका पुत्र प्रतिक थापा र अर्का एक व्यक्तिलाई फसाउने षडयन्त्र गरेको युवतीको आरोप छ । प्रहरीबाट आफू आतंकित बनेको बताउने उनलाई प्रहरीले नै राजधानीको एक होटलमा राखेको थियो । प्रहरीबाटै आफू निकै असुरक्षित रहेको बलात्कृत युवतीको भनाई छ । दियोपोस्टले उनीसँग भिडियो वार्ता गरेको छ । तर, उनको व्यक्तिगत गोपनीयता र सुरक्षालाई समेत मध्यनजर गर्दै हामीले उनको बयानलाई जस्ताको तस्तै यहाँ प्रस्तुत गरेका छौँ : सम्पादक

मेरो साथी दीपेन्द्र नेपालसँग बसन्तपुरबाट फर्कदै थिएँ । गैरीधारा पुगेपछि कार फोहोर भएको भन्दै उसले कार वास गर्न लागे । गौरी धारा रहेको कार वास सेन्टरमा कार वास हुँदै थियो । बाहिर हामी गफिँदै थियौँ ।


म विदेश जाने तयारीमा थिएँ । मैले उसलाई विदेश जाने चक्करकै कुराहरु सोध्दै थिएँ । अष्ट्रेलिया राम्रो हुन्छ कि अन्य कुनै देश भन्ने विषयमा छलफल गरिरहेका थियौँ । पछाडी कुशल खड्का (कारवासकै मजदुर) ले हाम्रो कुरा सुनिरहेका थिए । उनी आफै आएर ‘कुन देश जाने’ भन्दै प्रश्न गरे । ‘सकेसम्म राम्रै देश जाने नि’, मैले सटिक उत्तर दिएँ । ‘मेरो एकजना दाई हुनुहुन्छ, उहाँ लामो समय अष्ट्रेलिया बसेर आउनुभएको म उहाँलाई चिनाइदिन्छु,’ कुशलले भन्यो,‘केही दिनपछि आउनु ।’

कुशलले नै चिनाए । रकी र विक्की दाजु भाई रहेछन् । विक्की गुप्ता भन्ने व्यक्ति अष्ट्रेलिया बसेर आएका रहेछन् । म पछिल्लो दिन जाँदा उनको भाई रकी भन्ने रहेछन् । मैले रकीसँग आफु विदेश जान चाहेको लगायतका कुरा गरेँ । उसले दाईसँग राम्ररी कुरा गरेर इन्फर्म गर्ने बतायो । उनीहरुले फोन नम्बर मागे । मैले दिएँ । उनीहरुले प्रत्येक पटक फरक नम्बरबाट फोन गर्थे । एकपटक रकी गुप्ताले फोन गरेर आफ्नो दाईसँग कुरा भइसकेको बताउँदै एकचोटी मलाई भेटेरै कुरा गर्न आग्रह गरे । म त्यही कार वास सेन्टरमा गएँ । रकीलाई भेटेँ । के भइरहेको छ भनेर बुझेँ । उनले करिब ११ लाख खर्च हुने सुनाउँदै भारत हुँदै जानुपर्ने बतायो । शुरुमा ६ लाख र पासपोर्ट दिनुपर्ने र बाँकी ५ लाख काम भइसकेपछि दिँदा हुन्छ भने ।

त्यसको एक हप्तापछि मैले पासपोर्ट र ६ लाख रुपैयाँ नगद दिएँ । त्यतिबेला रकीले फोनमा भन्दा ह्वाट्स एपमा कुरा गरौँ भन्दै मेरो मोबाइलमा ह्वाट्स एप डाउनलोड गरिदिए । कुन नम्बरबाट खोलिदियो मलाई थाहा भएन ।

त्यसपछि आवश्यक कुराहरु ह्वाट्स एपबाट हुन थाल्यो । भदौ महिनासम्म पनि पनि अष्ट्रेलियान यात्राको बारेमा कुनै रेस्पोन्स नआएपछि ढिला हुनुको कारण सोधेँ । उनले काम भइरहेको र चाँडै हुने बताए । त्यसपछि कात्र्तिकको २ गते रकी गुप्ता आफैले फोन गर्यो र प्रक्रिया नमिलेको कारण विदेश पठाउन नसक्ने बताए ।

उनले पैसा र पासपोर्ट फिर्ता गर्ने बतायो । मैले पैसा र आफ्नो पासपोर्ट लिन कति बजे आउँ भनेर सोधेँ । उनले रातको ८/९ बजेतिर आउन भन्यो । मैले राती आउन नसक्ने बताएँ । उनले केही हुँदैन आउनुस् भन्यो । मैले पनि यति धेरै कुरा गरिसकेको मान्छेले नराम्रो गर्ला भनेर सोचिँन । धेरै कुराहरु भइसक्दा साथीजस्तो भइसकेको कारणले मेरो दिमागमा पनि त्यस्तो नराम्रो कुरा आएन र म गएँ कारवास सेन्टर । त्यहाँ पुगेर यताउता हेर्दा अन्य कोही स्टाफहरु देखिनँ । उनीहरु दोहोरी साँझमा गएको रकीले बतायो ।

कार वास सेन्टर अगाडी च्यानल गेट छ । उसले भित्र बोलायो । उतापटीको सटर बन्द गरिसकेको रहेछ । ‘उतापटीको सटर बन्द छ, भित्र बस्ने ठाउँ छ, बिक्की दाईले तपाईँको पासपोर्ट र पैसा ल्याउँदै हुनुहुन्छ तपाईँ बस्दै गर्नुस्’ उसले भन्यो । पार्टेशन गरेको रुम रहेछ, कर्नरमा लो बेड भन्दा पनि सानो बेड रहेछ । म त्यही बसेँ । प्रोसेसिङको बारेमा कुरा हुँदै थियो, ५/१० मिनेट भइसकेको थियो । ढिला भइसक्दा पनि बिक्की दाई किन नआउनुभएको भनेर मैले सोधेँ । एकै छिनमा आउनु हुन्छ भनेर उसले जवाफ दियो ।

केही बेरपछि रकीले एउटा बियर लिएर आयो । मलाई पनि पिउनको लागि अफर गर्यो, तर मैले अस्वीकार गरेँ । उसले मलाई असहज नमान्न आग्रह गर्यो । ‘हजुरलाई म प्रति कुनै शंका लागेको छ अथवा असहज लागेको छ भने मेरो नागरिकताको फोटोकपी लिनुस् । मैले केही गरेँ भने यही प्रयोग गरेर मलाई कारवाही गर्नुस्’ भन्दै मलाई नागरिकताको फोटोकपी दियो । त्यो फोटोकपी मसँग अझै एउटा कपी छ ।

बलात्कार अभियुक्त रकीले दिएको नागरिकताको कपी

एकछिन पछि उसले असहज कुराहरु गर्न थाल्यो । संगै बस्न आयो र कम्मरमा हात पुर्यायो । हातले तानेर बेडमा लडायो । ‘के गर्नुभएको यस्तो’ भन्दै मैले प्रतिकार गर्ने प्रयास गरेँ । उसले आफ्नो हातले मेरो मुख छोपिदियो । म कदमा पनि सानो मान्छे, उसको बलमा लाग्न सकिनँ । एकैछिनमा मेरो स्तन, घाँटी र ओठहरुमा त्यसको मुखहरु लडबडाउन थाले, हातहरु चलमलाउन थाले ।

मैले ‘नो,नो’ भन्दै छुटकारा पाउनका लागि भरपुर शक्ति लगाएर धकेल्ने प्रयास गरेँ (भक्कानिँदै) । त्यसले मलाई पुरै नाङ्गो बनायो । मलाई अति पीडा भयो । खपिनसक्नुको दुखाई भयो । उसले मलाई जबरजस्ती गरिरह्यो ।

मैले प्रतिकार गर्दै कराउनको लागि मुख खोल्दा कपडा र सिरानीले मुख छोपिदियो । केही समयसम्म चिच्याइरहेकी थिएँ । पछि बोल्न पनि नसक्ने स्थितिमा पुगेँ ।


मेरै शरिरमा विर्यपात गर्यो । मलाई अति घिन लाग्यो, मैले मेरै सलले पुछेँ । त्यो मेरै शरिरमाथि पल्टियो । त्यसरात त्यसले मलाई ३ पटकसम्म हर्कत गर्यो । म रोएँ, कराएँ तर त्यसले छोडेन ।

मैले त्यसको हर्कतको बारेमा प्रहरीमा उजुरी गर्ने चेतावनी दिएँ । मैले आफु प्रहरीकोमा जाने बताउने बित्तिकै त्यसले ढोकातर्फको कर्नरबाट केही चिज निकाल्यो । कालो रङको सीसीटिभी जस्तै क्यामेरा रहेछ । क्यामेराबाट चिप निकालेर आफ्नो मोबाइलमा हाल्यो । त्यतिबेला त्यसले कालो रङ्गको मोबाइल बोकेको थियो । मोबाइलमा चिप हालेर भिडियो देखायो ।

भिडियो देखाउँदै उसले मलाई धम्की दियो । यदी कसैलाई पनि आफुले गरेको कर्तुतको बारेमा भनेमा भिडियो सामाजिक संजालमार्फत सार्वजनिक गर्ने धम्की दियो । आफ्ना भारतमा रहेका साथिहरुको माध्यमबाट भिडियो लिक गराउने र त्यसपछि ‘कहाँ पुग्दो रहेछ तेरो इज्जत’ भन्दै धम्कायो ।

मैले धम्की देखि नडराउने र जसरी पनि प्रहरीलाई यसबारेमा बताउने चेतावनी दिएँ । उसले बेफिक्रीका साथ भन्यो, ‘ जा गएर भन्, तँसँग केही प्रमाण पनि छैन, प्रहरीजति सबै किनिदिन्छु । त्यतिबेला देख्छस् पैसाको पावर । उल्टै तँ आफै जेल जानु पर्नेछ ।’ त्यति भनेर त्यसले मेरो सामसुङ कम्पनीको फोन फुटाइदियो ।

त्यसदिन म कुन हालतमा आफ्नो कोठामा फर्किएको थिएँ म आफैलाई थाहा छैन । राती १ बजे म बस्ने ठाउँमा पुगेको थिएँ । मनमा त्रास थियो । बुवाआमाको इज्जत सम्झिएँ । प्रहरीलाई खबर गर्दा उल्टै आफ्नो र परिवारको इज्जत जाने हो कि भनेर साह्रै डराएँ ।

त्यसपछिका दिनहरुमा रकी गुप्ताले मलाई भिडियोको धम्की दिएर ब्ल्याकमेलिङ गर्न शुरु गर्यो । अर्को दिन बोलाएर त्यसले मलाई एउटा सस्तो खालको मोबाईल दियो, सिम पनि आफैले हालिदियो । त्यस दिन पनि त्यसले आफ्नो हर्कत देखायो । मलाई जबरजस्ती गर्यो ।

त्यसदिनपछि त्यसले आफुलाई इच्छा लागेको बेलामा भिडियोको धम्की दिँदै बोलाउने र आफ्नो प्यास मेट्ने गर्न थाल्यो । कहिले पासपोर्ट फिर्ता गर्ने र भिडियो डिलिट गर्ने भन्दै बोलाउने र कहिले धम्कि दिँदै बोलाउने गर्न थाल्यो । तर त्यसको आश्वासन मात्रै हुने गर्दथ्यो । आजसम्म पनि मेरो पासपोर्ट त्यसैले कब्जा गरेर राखेको छ । म विवश थिएँ । पटकपटक आफ्नो शरिरलाई छियाछिया बनाएर फर्किन्थे ।

ममाथि अत्याचारले सिमा नै नाघेपछि जेसुकै होस् भनेर कालीमाटी प्रहरीको महिला सेलमा जाहेरी लिएर पुगेँ । रातको समय भएको कारण जाहेरी दर्ता भएन । प्रहरी कार्यलयका महिला प्रहरीहरुले घटनामा बिक्की गुप्ता र कुशल खड्काको नाम हटाएर रक्की गुप्ताबिरुद्ध मात्र जाहेरी दिन सुझाव दिए । जाहेरीमा मानव वेचविखन, अपहरण, ट्रापिङ लगायत उल्लेख गरिएको थियो तर प्रहरीले जाहेरी लिन मानेन । दोस्रोपटक रकीलाई मात्र सजाय हुने ढंगको जाहेरी लिएर गएँ । त्यसपछि जाहेरी दर्ता भयो ।

जाहेरी दिएपछि प्रहरीले रकीलाई पक्राउ गर्यो । भोलीपल्ट मुचुल्का गर्न कमलपोखरीको प्रहरीसँग घटनास्थल (कार वासिङ सेन्टर) गयौँ । म र प्रहरीको टोलीमा कुशल पनि थियो । मुचुल्का गरेर फर्कियो । प्रहरीले बयान लिन शुरु गर्यो । बयानको क्रममा रकीले मलाई पहिलो पटक देखेको र चिनजान नभएको बताउन थाले । मलाई नै पटकपटक जबरजस्ती गर्ने ब्यक्तिले मलाई चिन्दिनँ भनेर बयान दिएको थियो । त्यसले मलाई बहिनी भनेर सम्बोधन गर्यो । मेडिकल रिपोर्टमा पनि मलाई शंका लागेको छ ।

पक्राउ परेको भोलीपल्ट सरकारी वकिल कार्यलयमा उपस्थित हुन भनियो । सरकारी वकिल कार्यलयमा पीडित, पीडक र प्रहरीमात्र उपस्थित हुन पर्ने हो तर बिक्की गुप्ता पनि त्यही थिए । उनले आफ्नो कार वासिङ सेन्टरमा लगाइएको सीसीटिभी फुटेज लिएर आएका रहेछन् । प्रहरी आफैले ल्याउनुपर्ने ठाउँमा अभियुक्तको दाईले प्रमाण बोकेर आएका थिए । तर त्यो सीसीटिभीमा अघिल्लो दिन म त्यहाँ गएको फुटेज डिलिट गरिएको थियो । सरकारी वकिलको कार्यलयले नै ममाथि भएको अन्यायलाई निकै सामान्य ढंगमा लियो ।

रकी गुप्तालाई थुनामा राख्ने दिन म महानगरिय प्रहरी परिसर टेकुमा पुगेँ । पर्सिपल्ट पुनः मलाई टेकुमा बोलाइयो र प्रहरीले बयान लियो । म माथि भएका घटनाहरुको बेलिविस्तार लगाएँ । भाइ पक्राउ परेपछि बिक्की गुप्ताले आफ्नो खेल शुरु गरिसकेको रहेछ । उसले प्रहरीमा गएर नियोजित रुपमा आफु र आफ्नो भाइ रकीलाई फसाउनको लागि तेस्रो ब्यक्तिलाई मलाई प्रयोग गरेको भन्ने मौखिक बयान दिएका रहेछन् । उल्टो मलाई अन्याय हुने ढंगले उनीहरुले प्रहरीलाई बयान दिइसकेका रहेछन् ।

प्रहरीले अनुसन्धान गरिरहेको थियो । मैले प्रयोग गर्ने नम्बर मागे । मेरो दिमागमा नभएको र मोबाइल पनि फुटिसकेको कारण नम्बर उपलब्ध गराउन सकिनँ । प्रहरीले केही दिनअघि मलाई बोलाए । घटनाको बारेमा छलफल गर्न भन्दै झुक्काएर बोलाएका रहेछन् । लकडाउनको समय भएपनि म हिँड्दै कालीमाटी प्रहरी चौकी पुगेँ ।

कालीमाटी प्रहरी चौकी पुग्नासाथ महिला प्रहरीहरुले मलाई खरबुजा खान दिए । यति टाढा बाट हिँडेर आउनुभएको दुख भयो होला भन्दै थिए । प्रहरी कार्यलय बाहिर तिनै बिक्की र अर्को एकजना ब्यक्ति थिए । प्रहरीले एक्कासी मलाई भित्र लगे र बयान फेर भन्दै यातना दिन थाले । उनीहरुले मेरो गालामा हाने, ढाडमा हाने । उनीहरुले बयानको स्क्रिप्ट नै तयार पारेर राखेका रहेछन् । सोही स्क्रिप्ट अनुसार मलाई बयान दिन लगाए । मैले मानिनँ । चरम यातना दिए । स्क्रिप्टमा मनसुन र गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापाको नाम लेखिएको थियो । उनीहरुले नै गुप्तामाथि बलात्कारको आरोप लगाउन लगाएको भन्ने कुरा लेखिएको थियो । प्रहरीले मनसुन मेरो श्रीमान भएको र उनकै अनुरोधमा गुप्तामाथि बलात्कारको झुठो आरोप लगाएको भन्ने बयान दिन लगायो ।

उनीहरुले आफ्नो मोबाइबाट मेरो मोबाइलमा फोटोसमेत पठाए । फोटो देखाउँदै यसलाई चिन्छस् ? भनेर सोधे । पहिलोपटक देखेको मान्छेलाई कसरी चिन्नु ? मैले चिन्दिनँ भने । ती महिला प्रहरीहरुले मलाई नराम्ररी कुटपीट गरे । मलाई बिजुलीको झड्का (इलेक्ट्रिक शक) समेत दिए । अत्यन्तै टर्चर दिएर उनीहरुले तयार पारेको स्क्रिृप्ट बमोजिम बयान दिन लगाए । चरम यातनाले उनीहरुले भनेअनुसारकै बयान दिन वाध्य भएँ ।

बयानमा मनसुन र प्रतिक थापाको समुहको बिक्की र रक्की गुप्तासँग आपसी दुश्मनी रहेको कारण फसाउनको लागि मेरो प्रयोग गरेको लेखिएको छ । मलाई यातना दिएर रक्कि निर्दोष रहेको र उसलाई तत्काल छोड्नु भनेर बोल्न लगाई भिडियो गरेका छन् । त्यहाँका महिला प्रहरीहरुले मलाई फसाउनका लागि सबै तयारी भएको समेत बताएका थिए । उनीहरुले मेरो आमा बुवा बाट मनसुनले ५० लाख भन्दा बढी पैसा लिएको र काकाबाट २७ लाख भन्दा धेरै रकम लिएको समेत भन्न लगाइयो । सोही पैसा फिर्ता पाउनका लागि मनसुन र प्रतिकले आफुलाई प्रयोग गरेको भन्न लगाइयो । प्रहरीले मनसुन भनिने ब्यक्तिबाट हुँदै नभएको त्यो पैसा असुल्ने समेत आश्वासन दिएका थिए । उनीहरुले भनेजसरी नै बयान दिनका लागि चलचित्रको छायांकन जस्तो २÷३ पटक सम्म टेक लिएर भिडियो बनाए ।

मनुसन र मेरो भेट पहिलोपटक २०१७ मा भेटेको र २०१८ मा हामी दुईको बिहे भएको भनेर भन्न लगाए । त्यतिमात्र होइन मनसुन र म बीच अनैतिक सम्बन्ध भएको र दुईपटकसम्म पिल्स ट्याबलेट खाएको भनेर बोल्न लगाए । मनसुनकी श्रीमती शरु महतलाई शौता जस्तो देखाउनका लागि पटकपटक फोन गर्ने र मनसुनसँग किन बोलेको भनेर कराउने गरेको समेत भन्न लगाए । यातनाको कारण सोही बयान दिन वाध्य भएँ ।

कालिमाटी प्रहरी चौकीको महिला सेलभित्र मलाई अनेकौँ यातना दिईयो । हुँदै नभएको कुरा भन्न लगाइयो । शारीरिक र मानसिक यातनाहरु दिए । परिवारलाई समेत यहि मुद्धामा प्रहरीमा ल्याउने धम्की दिए । त्यहाँ ज्ञानमञ्जरी नाम गरेको महिला इन्सपेक्टरले बयान लिएका थिईन् । म विवश भएर उनीहरुले भने बमोजिमकै बयान दिएँ । उनीहरुले भिडियो बनाएर राखेका छन् ।

महानगरिय प्रहरी परिसर टेकुमा ल्याउनुअघि उनीहरुले कालीमाटीमा मलाई प्रिपियर गराएका थिए । टेकुमा आएर पनि मलाई सोही कुरा बोल्न लगाइयो । कम्युटरमा बयान टाइप गरे, भिडियोमा बोल्न लगाए र कागजमा औँठाछाप हान्न लगाए । त्यहाँपनि गृहमन्त्रीको छोरा प्रतिक र मनसुनले आफुलाई पैसा फिर्ता चाहिने भए भनेअनुसारको काम गर्नुपर्ने नत्र नसकिने भनेको हुनाले आफुले रक्कीमाथि गलत आरोप लगाएको भनेर बयान दिन लगाए ।

टेकुमा बयान दिँदा रकीलाई रिलिज गरिदिनु, मलाई एकदम पश्चाताप भइरहेको छ भन्न लगाए । उनीहरुले भने जस्तै, रक्कीलाई छोड्दिनु बरु मलाई नै जेल हालिदिनु’ भनेँ । त्यसदिन रातको साढे ७ बजिसकेको थियो । कालीमाटी प्रहरीले मलाई ढाँट्नका लागि तयार बनाएर टेकु ल्याएका थिए । बयान दिँदा कालीमाटीको एकजना महिला प्रहरी मसंगै बस्थ्यो । उनीहरुले भने अनुसारको बयान नदिए मलाई चिमोट्ने गर्थ्यो । ढाँटेर बयान दिन धम्की दिएका थिए । कपाल लुछेका थिए । कुटपीट गरेका थिए । शरीरमा डाम नदेखियोस् भनेर मसाज् समेत गरेर टेकु पुर्याएका थिए ।

ती महिला प्रहरीले तिमीलाई केही हुँदैन, हामीले जसरी भनेका छौँ त्यसरी नै बयान देउ । झुठो भएपनि उनीहरुबाट पैसा हामी उठाएर दिन्छौँ समेत भने । रकीले पनि पैसा दिन्छ भनेर आश्वासन दिए । मलाई निकै पीडा र रिस उठ्यो । जो ब्यक्तिले ममाथि कर्तुत गरेको छ त्यसलाई बँचाएर जसलाई म चिन्दिनँ प्रतिक थापा र मनसुन मणिविक्रम शाह, उनीहरुबिरुद्ध केश गर्न लगाइयो । भिडियोमा मनसुनले मेरो परिवारको पैसा खाएको र उक्त पैसा प्रहरीलाई उठाइदिन समेत आग्रह गर्न लगाए ।

लकडाउन खुल्ने बित्तिकै अदालतमा बयान दिनुपर्छ । त्यो बयानमा पनि के भन्ने भनेर उनीहरुले धम्किपुर्ण तरिकाले सिकाएका छन् । ‘मेरो श्रीमान् मनसुन र उनको टिमले जबरजस्ती रकीबिरुद्ध जाहेरी दिन लगाएका हुन् । यसमा रकीको कुनै दोष छैन । रकीलाई छोड्दिनुस र मलाई पनि माफ गरिदिनुस् ।’ यहि भनेर बयान दिनु भनेका छन् । उनीहरुले रकीलाई रिहा गर्ने र निर्दोषलाई फसाउने खेल खेलेका छन् ।

मैले व्यक्तिगत रुपमा प्रतिक र मनसुनलाई चिन्दिनँ । फोटो पनि त्यही प्रहरीले देखाएको हो । मनसुन र गुप्ताबीच कही लफडा भएको कुरा मैले प्रहरीबाटै सुनेको हुँ । बयानमा पनि गुप्ता र मनसुनको टिमबीच लफडा परेको र यस विषयमा आफुलाई जानकारी नभएको भन्न लगाएका छन् ।

मलाई यस्तो परेको छ भन्ने कुरा मेरो परिवारलाई अहिलेसम्म थाहा छैन । मेरो परिवारको छुट्टै इज्जत छ । म उहाँहरुले थाहा नपाउने गरि यो मुद्धा सल्टाउँछु भनेर बसेको थिएँ तर अहिले स्थिति नकारात्मक आयो । अदालत खुल्ने बित्तिकै बयान दिन जानु छ । उनीहरुले मनसुन र प्रतिकको नाम लिनु भनेका छन् । रकी छुटेपछि गृहमन्त्रीका छोरा प्रतिक थापा र मनसुनले मलाई बलात्कार गरेको झूटो अभियोगमा मुद्दा हाल्नु पर्ने शर्त उनीहरुले गरेका छन् ।