गोकुल बास्कोटामाथि कारबाही गर्ने नेकपा बहुमतको निर्णय एकाएक रोकियो !

दियो पोस्ट  

काठमाडौं, १९ फागुन । प्रचण्ड माधव नेतृत्वको नेकपा बहुमत पक्षले संसदीय दलका उपनेता सुवास नेम्वाङसहित ७ जना नेतालाई निलम्बन गरेको छ ।


पार्टी कार्यलय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले नेम्वाङसहित विशाल भट्टराई, शान्ता चौधरी, महेश बस्नेत, प्रभु साह, सूर्य थापा र कर्ण थापालाई पार्टीको साधारण सदस्यबाट निस्कासन गरेको छ । उनीहरुलाई पार्टीको विधान विपरित कार्य गरेकाले कारबाही गरिएको हो । तर, बुधबारको बैठकबाट कारबाहीको सुचीमा रहेका एक नेता भने जोगिएका छन् । उनी हुन्– गोकुल बास्कोटा ।


काभ्रेका सांसद समेत रहेका गोकुल बास्कोटालाई पनि आजकै केन्द्रीय समिति बैठकले साधारण सदस्यबाट समेत निष्काशन गर्दै थियो । तर, उनको पिताको देहान्त भएका कारण कारबाही रोकिएको एक केन्द्रीय सदस्यले दियोपोस्टलाई जानकारी दिए । बास्कोटाको पिताको हिजो मंगलबार निधन भएको थियो ।


‘उहाँको पिताको निधन भएका कारण उहाँमाथिको कारबाही रोकियो,’ ती केन्द्रीय सदस्यले दियोपोस्टसँग भने,‘यदि त्यस्तो दुखद घटना भएको थिएन भने पार्टीले उहाँमाथि पनि कारबाही गर्नेवाला थियो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरेका थिए । सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक ठहर गर्दै संसद पुनस्थापना गरिदिएको थियो । तर, प्रधानमन्त्री निकट नेताहरुले सर्वोच्च अदालतले गरेको फैसलामाथि नै टिप्पणी गर्दै आएका छन् ।

सिफारिस