
बीबीसी ः सन् १९७९ को फेब्रुअरीमा नेपालको इलाम जिल्ला एकाताप गाउँका युवक दीपक जोशी तिमसिना घरबाट निस्किए । तर, उनी कहिल्यै घर फर्किएनन् । उनी बेपत्ता भएको ४० वर्षपछि उनको परिवारका सदस्यले पछिल्लो महिना भारतको कोलकताको दमदम केन्द्रीय कारागारमा भेट्न पाए । उनका एउटा भाई प्रकाश चन्द्र तिमसिनाले कोलकता पुगेर दाईलाई भेटे । यद्धपी उनले घरबाट निस्कँदा दाल बेच्न गएको बताएका थिए । उनी गाउँमै सानातिना काम गर्थे । र ज्योतिष शास्त्रमा रुची राख्थे ।
प्रकाशचन्द्र तिमसिनाले नेपालबाट टेलिफिोनमा बीबीसीसँग भने,‘ हामीले त दाईको मृत्यु भईसकेको मानेका थियौँ । हामीले नेपालमा हरेक ठाउँमा उसलाई खोजेका थियौँ । तर, केही पत्ता लागेको थिएन । त्यो समय दार्जिलिङमा गोरखाल्याण्ड आन्दोलन चलिरहेको थियो । हामीले सोचेका थियौँ कतै सोही आन्दोलनमा दाईको मृत्यु भएको पो हो की ? यतिका वर्षपछि दाईको खबर आउँछ भन्ने हामीले सोचेका थिएनौँ ।’
उता दीपक जोशी तिमसिना लगभग ४० वर्षसम्म पश्चिम बंगालको विभिन्न जेलमा विचाराधिन कैदीको रुपमा रहेका थिए । ४ दशकसम्म उनको विरुद्धको मुद्दामा सनुवाई हुन पाएको थिएन ।
बुधबार उनको मुद्दामा कलकता उच्च अदालतका न्यायाधीशको डिभिजिन बेञ्चले सुनुवाई गरेको थियो । जोशीको मुद्दामा अर्को सुनुवाई सोमबार मार्च १५ मा हुनेछ । अदालतले दिपकलाई रिहा गरेर नेपाल फर्काउने विषयमा निर्णय गर्नेछ ।
चालिस वर्षसम्म जेलभित्रै रहिरहेका दीपकको विषयमा पछिल्लो समय भएका घटनाले उनलाई परिवारको सम्पर्कमा पुर्याएको हो ।

पछिल्लो वर्ष फेब्रुअरीमा नदिग्रामबाट राधेश्याम दास जेल स्थानान्तरण हुँदै दमदम केन्द्रीय कारागार आएका थिए । उनलाई माओवादी संगठनसँग जोडिएको भन्दै १० वर्षअघि गिरफ्तार गरिएको थियो ।
उनी सन् २०१६ मा नै केहीदिन दमदम जेलमा थिए । राधेश्याम दासले बीबीसीसँग भने,‘पछिल्लो साल फेब्रअरीमा जब मलाई दमदम कारागार ल्याइयो । तब पहिल्यैदेखि परिचित दिपक जीसँग भेट भयो । जेलमा जो मानसिक रुपमा अस्वस्थ छ । उनीहरुसँग म स्वेच्छाले परिचय गर्छु । त्यस्तैगरि दीपकसँग पनि परिचय भयो ।
कुराकानीकै क्रममा उनी चालिस वर्षदेखि जेलमै रहेको पत्तालाग्यो । तर, उनको मुद्दामा कुनै सुनुवाई भएको थिएन । जेलबाट जमानतमा छुटेपछि उनै दासले पश्चिम बंगाल एमेच्योर रेडियो क्लबसँग सम्पर्क गरे । यो रेडियो अपरेटरको एउटा संगठन हो । रेडियो क्लबका सचिव अम्बरिश नाग विश्वासले भने,‘जब राधेश्याम दासले एक व्यक्ति बिना सुनुवाई ४० वर्षदेखि जेलमै रहेको विषय जब मलाई सुनाए । तब म चकित भएँ । हामीले जेल कार्यालयमा सम्पर्क गर्यौँ ।
उनीहरुले पनि पहिले विश्वास गर्न सकेनन् । तर पछि अनुसन्धान गर्दा दिपक जोशी तिमसिना नाम गरेका कैदी १९८१ देखि जेलमै बन्द रहि उनको मामलामा सुनुवाई नभएको खुल्यो ।’ अम्बरीश नाग विश्वास र उनको क्लबको केही व्यक्तिले दिपकसँग भेट्ने अनुमति मागे । तर, परिवारका सदस्य नभएका कारण केवल हिरक सिन्हाले मात्रै जोशीसँग भेट्न पाए । किनकी सिन्हा कलकत्ता उच्च अदालतका वकिल थिए ।
हिरक सिन्हाले भने,‘मलाई पहिले सन्देह लागेको थियो की कतै दिपक जोशी मानसिक रुपमा अस्वस्थ त छैनन् ? किनकी हामीले जतिपनि अदालतबाट कागजात संकलन गरेका थियौँ, त्यसमा त्यस्तै संकेत थियो । तर, उनीसँग कुराकानी गर्दा मलाई उनी मानसिक रुपमा अस्वस्थ भएको जस्तो लागेन । उनी निश्चित रुपमा होसमै थिए । मलाई नेपाली भाषा स्पष्ट आउँदैन थियो । तर थोरै बुझ्न सक्छु । उसकै सहारामा उनीसँग बातचित गरिरहेँ । बातचितकै बीचमा उनले कागज र कलम मागे र केही कुरा लेखे । देवनागरिमा लेखिएको उक्त शब्दहरु नै उनको असली परिचय थियो । गाउँको नाम, मातापिताको नाम र स्कुलको नाम ।’
जोशीसँग सम्बन्धीत कागाजतबाट पत्ता लाग्यो की उनी १९८१ मा दार्जलिङमा भएको एउटा हत्याको मुद्दामा गिरफतार भएका रहेछन् ।

अम्बरीश नाग विश्वासले भने,‘नेपालबाट आएर दार्जलिङको कुनै चिया बगानमा उनले काम गरेका थिए । कुनै व्यक्तिले उनलाई जागिर दिने कुरा गरेका थिए । र त्यसको बदलामा एक व्यक्तिको हत्या गर्नुपर्ने सर्त राखेका थिए । उसैको निर्देशनमा दिपकले एक व्यक्तिको हत्या गरे । र पक्राउपरेपछि उनी जेलमै रहे ।’
पक्राउ परेपछि उनलाई कुनैपनि अदालतमा पेश गरिएन । कहिले बहरमपुर जेल, कहिले अलिपुर जेल, र कहिले मनोरोग चिकित्सालयमा राखियो चार दशक बित्यो ।
अदालतले पटकपटक दीपक जोशीको मानसिक स्वास्थ्यको परिक्षण गर्न आदेश दियो । तर, त्यो रिपोर्ट कहिल्यै अदालतमा पेश भने भएन । रिडियो अपरेटर संगठनले उनको ठेगाना खोज्नका लागि कोलकतामा रहेको नेपाली वाणिज्य दूतावाससँग सम्पर्क गरे ।
अम्बरीश भन्छन्,‘नेपालमा सन् २०१५ मा जब भिषण भूकम्प आयो । उक्त समयमा त्यहाँ काम गर्न जाँदा मैले स्थानिय रेडियो अपरेटरसँग परिचय गरेँ । त्यसैमा एक थिए नेपालको सर्वोच्च अदालतका अधिवक्ता सतिश कृष्ण खरेल । मैले रेडियोमै नेपालका यी दुई अपरेटरलाई सन्देश दिएँ–नाइन नम्बर वन अल्फा अल्फा र नाइन नम्बर वन चार्ली अल्फा । पहिले श्री खरेलको कल साइन थियो । दोस्रो अरुण नामको होम अपरेटरको । उनीहरुलाई मैले सबै कुरा बताएँ । त्यसपछि दिपक जोशीले लेखेको स्थानको खोजी शुरु भयो ।’
उनीहरुले बताए अनुसार जोशी इलाम जिल्लाको चुलाचुली गाउँको एक स्कुलमा पढ्थे । त्यो गाउँमा जाँदा भूकम्पले उनी पढेको विद्यालय ध्वस्त भएको थाहा भयो । त्यहाँ स्थानियबासीले अपरेटरसँग कसको बारेमा खोजी गरेको भन्दै जिज्ञासा राखे ।
वकिल हिरक सिन्हाले भने,‘दीपकको नाम लिने वित्तिकै उनीहरुले दिपकको मृत्यु भइसकेको बताए । तर, दीपकको एक भाई सोही विद्यालयमा पढ्थे । तर विद्यालयलाई अन्यत्रै सारिएको छ । त्यहाँ जाँदा प्रकाशचन्द्र तिमसिनालाई भेटियो । उनको ठूल्दाई जिवित भएको कुरा सुनेपछि उनी अच्चमित बने । त्यसपछि दीपकको आमा भए ठाउँमा लिएर गए । त्यो ठाउँ पहाडको निकै माथी दूर्गममा थियो ।’
अम्बरीश नाग विश्वासले भने,‘नेपालका ह्याम रेडियोका हाम्रा साथीहरुले सुनाए अनुसार जब धनमाया तिमसिनासँग आफ्ना छोराको विषयमा बुझ्दा ९० वर्षिय आमाले आकाशतिर देखाउँदै भनेकी थिइन्,‘दीपक त पंक्षि भए । आमाले घर भित्र लिएर गइन् । घर भित्र धुलोमा छोपिएको देवताको चित्र देखाएर भनेकी थिइन्,‘दिपक उनै हुन् ।’
यसैबीच यो विषय कलकत्ता उच्च अदालतले चाल पायो । अदालतमा जनहितको मुद्दा दायर भएको छ । मुख्य न्यायाधीशको ईजलाशले नेपालको वाणिज्य दूतावासलाई पनि यस मुद्दामा सहयोग गर्न निर्देशन दिएको छ ।
यो मुद्दामा भारतको राज्य लिगल एड सर्भिसले हात हालेको छ । यो संस्थाले गरिब कैदीलाई कानुनी मामलामा सहयोगगर्दै आएको छ । जनहितको यो मुद्दामा लिगल एड सर्भिसका प्रतिनिधित्व वकिल जयन्त नारायण चटर्जीले गरेका छन् ।
चटर्जीले भने,‘४० वर्षसम्म एक व्यक्तिको मामलामा सुनुवाई समेत भएन । यो कसरी सम्भव छ ? यहि हामीले बुझीरहेका छैनौँ । के गलत भयो ? यस्तो लाग्छ विस्तारै यो मुद्दा कतै दबाईयो । यो मानव अधिकारको घोर उलंघन हो । सुनुवाई हुँदा उनीमाथि सजाय हुनसक्थ्यो । तर, उनी बेकसुर सावित पनि हुन सक्थे । तर यसको सट्टा उनले विदेशी जेलमा ४० वर्ष सजाय काट्नुपर्यो ।’
दीपक जोशीका भाई प्रकाश चन्द्र आफ्नो दाईलाई भेट्न कलकता आएका थिए ।
प्रकाशचन्द्र तिमसिनाले भने,‘कलकता आउनुअघि आमाले दाईको एउटा फोटो ल्याउन भनेकी थिइन् । तर, जेल प्रशासनको नियमका कारण हामीले फोटो ल्याउन पाएनौँ । त्यसैपनि ४० वर्षपछि दाई अनुहार देख्न पाउँदा कस्तो अनुभूति गरेको थिएँ यो म शब्दमा बयान गर्न सक्दिनँ,’ फोन राख्नुअघि उनले जान्न चाहेका थिए,‘मेरो दाई रिहा त हुन्छन् नी ? केही उनी फर्किन सक्छन् चार दशक पहिले छोडेर गएको आफ्नो गाउँ र आमा र परिवारसँग ?’