सुन्धारा कारागारबाट हिँडेरै अस्पताल गएका कैदीको रहस्यमयी मृत्यु : अस्पतालद्वारा लापरबाही !

दियोपोस्ट संवाददाता

काठमाडौं, ३ चैत्र । राजधानीको केन्द्रीय कारागार सुन्धारामा कैद जिवन विताइरहेका एक कैदीको रहस्यमयी तरिकाले मृत्यु भएको छ ।


धादिङको खनियाबास गाउँपालिका दार्खा घर भएका चन्द्रे तामाङको हिजो दिउँसो तीन बजे मृत्यु भएको हो । केन्द्रीय कारागार सुन्धाराका जेलर लक्ष्मी प्रसाद बाँस्कोटाका अनुसार कैदी तामाङ हिँडेरै कारागार अस्पताल पुगेका थिए । तर, अस्पताल पुगेको केही घण्टामै उनको निधन भएको हो ।


‘विरामी भएपछि केन्द्रीय कारागारमा लगिएको थियो । हिजो तीन बजे दिउँसो हो । उहाँलाई फोक्सो र दमको समस्या रहेछ । पहिले नर्भिक तिर देखाइराखेको रहेछ । अस्ति अलि गाह्रो भएपछि अस्ति आइतबार ६ बजेतिर हामीले अस्पताल पठायौँ,’ जेलर बाँस्कोटाले दियोपोस्टसँग भने,‘अस्पतालमा उपचार भइरहेको थियो । हिजो तीन बजेको आसपासमा मृत्यु भएको खबर आयो ।’


मृतकका आफन्तले भने केन्द्रीय कारागार र कारागार अस्पतालको लापरबाहीका कारण कैदी तामाङको मृत्यु भएको बताएका छन् ।

यद्धपी जेलर बाँस्कोटा भने आफूहरुले कारागारबाट उनलाई अस्पतालसम्म हिँडाएरै पुर्याएको बताए । ‘हामीले अस्पताल पठाउने काम हो । अस्पताल हाम्रो मातहतको निकाय होइन । कारागार विभाग मातहतको हो । अस्पतालले कसरी गर्यो उहाँहरुसँग बुझ्नुहोला,’ उनले भने,‘हामीले समयमा अस्पताल नपुर्याएको भए हाम्रो लापरबाही देखिन्थ्यो । बेलुका ६ बजे उ आफै हिँडेरै अस्पताल गएको छ ।’

केन्द्रीय कारागार अस्पतालका सुचना अधिकारी भवानी शर्मालाई सम्पर्क गर्दा उनले आफूलाई थाहा नभएको भन्दै ड्युटी डाक्टर अमित यादवको नम्बरमा फोन गर्न सुझाव दिए । तर, डाक्टर यादवलाई पटक पटक फोन गर्दा उनले फोन उठाएनन् ।

सम्बन्धित खबर