काठमाडौं, ३ चैत्र । नेपाल वायु सेवा निगममा कार्यरत रहँदा तत्कालिन निर्देशक युवराज अधिकारी विरुद्ध ९१ जनाले यौन हिंसा गरेको भन्दै उजुरी दिए । उजुरी छानबीनकै क्रममा तत्कालिन महाप्रबन्धक सुगतरत्न कंशाकारले अधिकारीलाई पदबाट निलम्बन मात्रै गरेनन् ।
उनको पद घटुवा समेत गरिदिए । तर, कानुनी प्रक्रियाबाट टुंगिनुपर्ने अधिकारीको मुद्दा अदालत बाहिरै मिलापत्रको आधारमा मिल्यो । त्यतिबेला उनले अदालत बाहिर मिलापत्र गरेपछि अदालतबाट स्टे अर्डर ल्याएर आफ्नो कारबाही समेत फुकुवा गर्न सफल भएका थिए । तर, उनै अधिकारी यतिबेला फेरी बायु सेवा निगमको सञ्चालक बन्ने दौडमा छन् ।
उनलाई सञ्चालक बनाउन ठूलै हवाई माफिया र एजेन्टहरु सक्रिय भएको पाइएको छ ।
झापा घर भएका अधिकारी खासमा राजावादी नेता राजेन्द्र लिंदेनका मान्छे हुन् । शाही शासनको पालादेखि नै उनी बोइङ्गको एजेन्टसँग निकट रहेका थिए ।
तत्कालिन राजा ज्ञानेन्द्र शाहले बोइङको एजेन्टका रुपमा राखेका पात्र हुन् उज्वल राणा । सन् १९८८ मा नेपालमा पहिलो पटक बोइङ जहाज भित्रिएको थियो ।
नेपालमा बोइङ्ग आएपछि एकछत्र राज चल्यो । बोइङ्ग जहाज आएको १४ वर्षपछि मात्रै नेपालमा एयरबस ल्याउने टेण्डर भएको थियो । नेपाल बायु सेवा निगमले न्यारोबडी ल्याउने तयारी गरेको थियो ।
तर, बोइङ हटाएर एयरबस नल्याउन तत्कालिन अमेरिकी राजदूत न्यान्सी पावेललले चिठी नै लेखेकी थिइन् । निगम भित्रको गोप्य कागजात सार्वजनिक गरिदिने र सञ्चारमाध्यमलाई दिने कार्य उनै युवराज अधिकारीले गरेको आरोप अझै पनि निगम भित्रै छ ।
विमान भित्रको पार्टपुर्जाको सप्लाईको ठेक्काको काम गर्दै आएका सोमेन्द्र जंग थापा उज्वल राणाको छद्म साझेदार समेत हुन् ।
एमिको चाइना कम्पनिबाट सामान ल्याउने गरेका थापाले नै एयरबस आउने भएपछि विरोध समेत गरेका थिए । एयर बस खरिदको ठेक्काको सम्पूर्ण कागजात उनै अधिकारीले सांसद लिंदेन मार्फत संसदसम्म पुर्याएका थिए ।
तत्कालिन जननेता मदन भण्डारीको निधनपछि एकाएक उदाएका थापाले बोइङ्गको एजेन्टको रुपमा पटक ठेक्का हत्याएका थिए । उनीहरुले सिमेन्स भन्ने कमिशन एजेन्सी बनाएका थिए । सुरेशलाल श्रेष्ठ, जितेन्द्रलाल श्रेष्ठहित ५ जनाले उक्त एजेन्सी खडा गरेका थिए । नेपाल एयरलाइन्स भित्रको काम भने सुरेशलालले लिएका थिए ।
हाल एयरबस आएपछि भने उनीहरु यो ठेक्का प्रक्रियामा अड्काउने काम मात्रै गर्दै आएका छन् । उनीहरुकै भित्रियाको रुपमा अधिकारीले काम गर्दै आएका थिए । तर, हाल पदबाट हटेपछि आफ्नो एजेन्ट नभएको भन्दै अधिकारीलाई फेरी बोर्ड सदस्य बनाउने चलखेल शुरु भएको छ ।
कार्यालय भित्रै विभिन्न महिला कर्मचारीलाई यौन हिंसा गरेका उनले पछिल्लो समय सरसफाईमा कार्यरत एक महिलालाई समेत बाँकी राखेका थिएनन् । आर्थिक लेनदेनको आधारमा मुद्दा मिलाएपछि उनी उल्टै फाइनान्स डाइरेक्टर भएका थिए ।
अधिकारीलाई हरेक काण्डमा आफूलाई एयरबस कम्पनिकै सिस्टर अर्गनाइजेशन एटिआरको एजेन्ट समेत बताउने थापाले बचाउँदै आएका छन् ।
एटिआरले एजेन्ट खारेज गरेर सोमन्द्रलाई नै कन्ट्रि म्यानेजर बनाएको थियो । उनी कुनै समय बैंकमा कार्यरत थिए । तर बैंक छोडेपछि अर्बौंका मालिक बनेका छन् । महिला कर्मचारीमाथि पटक पटक यौन हिंसा गर्ने अधिकारीलाई उनै थापाले फेरी निगमकै सञ्चालक बनाउन चलखेल थालेको स्रोतले जनाएको छ ।
नेपाल बायु सेवा निगममा यसअघि सञ्चालक रहेका अच्युत पहाडीको पदावधि सकिइसकेको छ । उनी समेत ककपिट भित्रै सुन चोरीमा समलग्न व्यक्ति रहेको उनी निकट स्रोत बताउँछ । उनै पहाडीको ठाउँमा अधिकारीलाई ल्याउने चलखेल शुरु भएको हो ।