चन्द्र ढकालका भाई हेमराज अध्यक्ष रहेको आईएमई जनरल इन्स्योरेन्सको चेक बाउन्स !

दियोपोस्ट संवाददाता

काठमाडौं, ४ चैत्र । ग्लोबल आईएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको भाईले नेतृत्व गरेको आईएमई जनरल इन्स्योरेन्स कम्पनीले सरकारी निकायलाई नै बाउन्स चेक दिएको फेला परेको छ ।


ढकाल अध्यक्ष रहेको आईएमई जनरल इन्स्योरेन्स कम्पनिले नियामक निकाय बीमा समितिलाई दिएको चेक बाउन्स भएको हो । खातामा पैसा नभएको चेक दिनेलाई वित्तिय संस्था ऐन अनुसार बैंकिङ कसुरमा कारबाही हुन्छ ।


आईएमई जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिको नाममा जारी गरेको दुई लाख रुपैयाँ र २३ हजार सात सय ५१ रुपैयाँको दुईवटा चेक बाउन्स भएको पाइएको हो ।

प्राप्त कागजातमा आईएमई जनरल इन्स्योरेन्स कम्पनीको नेपाल इन्भेष्टमेन्ट बैंकको ‘‘.. ६१० नम्बरको खातामा २३ हजार सात सय ५१ रुपैयाँ समेत नहुँदा चेक बाउन्स गर्नुपरेको नेपाल क्लियरिङ हाउसले पठाएको नोटमा जनाइएको छ । सोही दिन थप दुई लाख रुपैयाँको चेक समेत बाउन्स भएको छ ।

बीमा समितिले यही चैत १ गते नबिल बैंकमा रहेको खातामा चेक जम्मा गर्दा पर्याप्त मौज्दात नभएको कारणले भुक्तानी हुन नसकेको विषयमा बीमा समितिमा हल्लाखल्ला भएपछि आईएमई जनरल इन्स्योरेन्सका कर्मचारी बीमा समितिमा आएर समस्या हल गर्ने प्रयास गरेका थिए ।

नियमनकारी निकायको बीमा पोलिसीमाथि दाबी परेपछि भुक्तानीको लागि काटिएको चेक नै बाउन्स भएपछि बीमा समितिको नियमनमाथि नै गम्भीर प्रश्न खडा भएको छ । विमा समितिले ढकालमाथि कस्तो कारबाही गर्छ त्यो भने केहीदिनमा नै टुङ्गो लाग्नेछ ।

सम्बन्धित खबर