नर्भिक अस्पतालको ज्यादती : नत्र अपाङ्ग हुन्छ भन्दै २० लाख असुलेर ब्रेन ट्युमरको अपरेशन गर्दा असफल !

दियोपोस्ट संवाददाता

काठमाडौं, ८ चैत्र । नेपालका एक मात्रै अर्बपति व्यापारी विनोद चौधरीका भाई तथा आफूलाई विश्वकवि बताउने बसन्त चौधरीद्वारा सञ्चालित नर्भिक अस्पतालका कारण एक विरामी भारतीय अस्पतालसम्म पुग्नु परेको पाइएको छ ।


नर्भिक अस्पतालले ती विरामीबाट २० औँ लाख रुपैयाँभन्दा बढी असुली गरेपनि उनलाई ठीक नभएपछि भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी अस्पताल पुर्याइएको खुलाशा भएको छ ।
रुपन्देहीको बुटवल घर भएकी सुर्य लक्ष्मी विकलाई ब्रेन ट्युमर भएको थियो । नर्भिक अस्पतालका डाक्टर राजिव झा नेतृत्वको टोलीले विकको अपरेशन गरेको थियो । अपरेशनका लागि उनका श्रीमान पदम विश्वकर्माले लाखौं रुपैयाँ नर्भिकलाई बुझाएका थिए । तर, २० औँ लाख शुल्क उठाएको नर्भिकमा गरेको अपरेशनले विरामी ठीक नभएपछि यतिबेला उनीहरु भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी अस्पतालमा उपचाररत छन् ।


‘म मेरी श्रीमतिको उपचारका निम्ती दिल्लीमै छु । प्रथम चरणको उपचार चेकतप र अपरेशन सकिएको छ । दोस्रो चरणको मार्चदेखि शुरु हुन्छ,’ दिल्लीबाटै पदमले भने,‘अपरेशनपछि श्रीमतीको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।’


काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा २०७६ साउन १० गते सुर्य लक्ष्मीको ब्रेन ट्युमरको अपरेशन गरिएको थियो । अपरेशनपछि उनलाई भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा करिब ४५ दिनसम्म रेडिएसन गरेर राखिएको थियो । ‘२ ठूला भनिएका अस्पतालमा २० लाख रुपैयाँ खर्च गरेर पनि विरामी निको हुन नसकेपछि म बाध्य भएर दिल्ली आएको हुँ,’ पदमले भने,‘नेपालको उपचार पद्धती र राजिव गान्धी अस्पतालको उपचार पद्धतीमा धेरै भिन्नता छ । सारा पैसा नेपालमै खर्च गरेर सकिएपछि यहाँ उपचार गर्न आउने नेपालीहरु रहेछन् । माथिल्लो तलाको जनरल वार्डमा सबै नेपालीहरु नै छन् ।’

उनका अनुसार सुर्य लक्ष्मीको ट्युमरको मासु चेक गर्न समेत नर्भिक अस्पतालले दिल्ली पठाएको थियो । ‘ट्युमरको मासु परिक्षणका लागि नर्भिक अस्पतालले १० हजार भारतीय रुपैयाँ लियो । त्यो मासु किन ? केका लागि परिक्षण गर्ने हो ? केहि बताइएन । नर्भिक अस्पतालका डाक्टरले उपचार गर्नुअघि यो बढ्ने खालको ट्युमर हो सबै निकाल्न मिल्दैन । कथम कदाचित कुनै नसा काटियो भने बोली जानसक्छ, आँखा जान सक्छ, पक्षघात हुन सक्छ दाइने भाग नचल्नसक्छ । बेहोस हुनसक्छ अपांग हुन सक्छ भनेर ज्युँदै हरेश खाने बनाइदियो,’ पदमले सुनाए,‘पुरै पैसा जम्मा नगरेसम्म र तीन पोइन्ट रगत जम्मा नगरेसम्म अपरेशन थिएटरमै लगिएन । जब अपरेशन गरियो त्यसपछि डाक्टरहरुकै सेटिङमा अन्य प्राइभेट क्यान्सर अस्पतालमा पुर्याइयो ।’


नीजि अस्पतालमा पुर्याइएपछि उक्त अस्पतालले समेत शुरुमै पैसा जम्मा नगरेसम्म भर्ना समेत नलिन उनले बताए । सरकारले उपलब्ध गराउने १ लाख रुपैयाँका लागि फर्जि बिल समेत बन्ने गरेको पदमले खुलाशा गरे ।

‘सरकारले उप्लब्ध गराउने १ लाख रुपैयाँको लागि पुरै फर्जि बील तयार गरिन्छ एक हप्तामा छ वटा बिलमा ५ हजार रुपैयाँका दरले हस्ताक्षर गर्न लगाइन्छ तर त्यो रकम के कसरी खर्च गरियो भन्ने कतै खुल्दैन,’ पदमले भने,‘जुन डाक्टरले अपरेशन गरेको छ उही डाक्टरकोमा विरामी जाँदा १ हप्ताको म्याद दिइन्छ । म्याद कटेपछि ५ सय रुपैयाँको अर्को टिकट भिराइन्छ । यो व्यावहार मैले भोगेको हुँ । प्रत्येक प्रत्येक ३÷३ महिनामा फलोअपमा जाँदा एमआरआई अनिवार्य गर्नै पर्ने रहेछ । एकपटक एमआरआई गर्दा २२ हजार रुपैयाँ तिर्नुपर्ने हुँदो रहेछ । त्यो रिपोर्ट लिएर क्यान्सर अस्पताल जाँदा ५ सयको टिक अनिवार्य काट्नै पर्ने । यो प्रक्रिया करिब २० महिनासम्म चल्यो । अन्तत फेरी अपरेशन गर्नुपर्छ भनियो । विरामी जहाँको त्यहीँ रहयो । हामी परिवारलाई पीडामाथि पिडा दियो ।’


नर्भिक अस्पतालले फेरी अपेशन गर्नुपर्छ भनेपछि आफूहरु घर फर्किएको उनले बताए । आफूले जस्तै कयौँ विरामीले यो पीडा भोगेको उनले बताए । ‘हामी नतमस्तक भएर घर फर्कियौँ म जस्ता कयौँ विरामीले यो पीडा भोगेका छौँ । तर, हाम्रो राज्यको ध्यान खोई ? गरिबको राज्य कहाँ छ ?,’ पदमको प्रश्न छ्,‘गाँस, बास, कपास, स्वास्थ्य शिक्षा, सुरक्षा त राज्यको दायित्व होइन र ? के सरकार गरिबको लागि होइन ? सरकार छ भन्ने महशुस हामीले कहिले गर्ने ?’


उनका अनुसार नेपालबाट भारतमा जाने नेपालीले क्यान्सरको उपचारमा मात्रै करिब १५ देखि १६ लाख रुपैयाँ खर्च गर्दै आएका छन् । भारतको राजिव गान्धी असपतालमा एकै वर्षमा १२ सय जना नेपालीले उपचार गर्ने गरेका छन् । भारतकै अन्य २० ठूला अस्पतालमा हजारौँ नेपालीले उपचार गराइरहेका छन् ।

सम्बन्धित खबर