दियोपोस्ट, १० चैत्र । सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको नेकपा एमाले भित्र अहिले रडाको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षले माधव नेपालसहितका उच्च तहका नेतालाई कारबाहीको धम्की दिइरहेको छ । अधिकांश नेताको घरघरमा महासचिव ईश्वर पोखरेलको हस्ताक्षेरित म्याद टाँसिएको छ । एमाले भित्रको विवाद अब स्थानिय तहमा समेत देखिन थालेको छ । धादिङको गजुरी गाउँपालिकामा हुने भनिएको महोत्सवमा समेत धादिङका नेताहरुले घिनलाग्दो राजनीति गरेका छन् ।
कोरोना महामारी फैलिने खतरा देखाउँदै केही दिन अघि स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशनलाई बेवास्ता गर्दै नेकपा ओली समुहका केही व्यापारीको मिलेमतोमा धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजारमा आगामी चैत्र १२ गते देखि २४ गतेसम्म गजुरी महोत्सव आयोजना गएिको थियो ।
उक्त मेलामा शुरुमा ओली निकट नेताले नै उद्घान गर्ने तयारी थियो । तर, स्थानिय मेला आयोजकले एमाले बरिष्ठ नेता माधव कुमार नेपाललाई प्रमुख अतिथिको रुपमा निम्त्याउने भन्दै युटर्न लिएपछि ओली समुह क्रुद्द बनेको छ ।
नेकपा एमालेका तर्फबाट निर्वाचित सांसद तथा ओली समुहका केन्द्रीय सदस्य भूमि त्रिपाठीको निर्देशनमा गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले मेला रोक्न सिडिओलाई नै चिठी लेखेको पाइएको छ ।
उनले सार्वजनिक सुचना नै जारी गरेर मेला स्थगित गर्न भनेका छन् ।
बस्नेतकै निर्देशनमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन घिमिरेले भिडभाड नगर्न भन्दै विज्ञप्ति निकालेका छन् ।
समग्र धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना भन्ने नाराका साथ साना तथा मझौला व्यावसायी महासंघ धादिङले आयोजना गर्न लागेको यस महोत्सवको अन्तिम तयारी भइसकेको थियो । तर, मेलालाई आफू अनुकुल राजनीतिक गतिविधिको थलो बनाउने प्रयास भएपछि मेलास्थल भिडन्तस्थलमा परिणत हुने खतरा बढेको छ । तर, मेला आयोजिक समितिका संयोजक सुमित श्रेष्ठले भने माधव नेपालकै प्रमुख आतिथ्यतामा मेला सम्पन्न हुने जनाएका छन् ।