सिद्धलेकमा बस्तीबीचमा अवैध बालुवाखानी : जनप्रतिनिधिकै मिलेमतोमा बालुवा तस्करी !

diyopost.com
दियो पोस्ट  मंगलबार, फाल्गुण १७, २०७८ | २३:१५:२९

काठमाडौं । धादिङको सिद्धलेक गाउँपालिका ७ अमनटारमा अवैध रुपमा खुलेको बालुवाखानीका कारण स्थानियबासी प्रभावित भएका छन् ।
बस्तीबीचमा स्क्याभेटर तथा डोजर चलाएर बालुवा तस्करी भइरहँदा पनि सरोकारवाला निकाय मौन छन् ।

सिद्धलेक गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लक्ष्मण खतिवडा, गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल तथा जिल्लास्थित प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित प्रहरी प्रमुख एसपीको मिलेमतोमा बालुवा तस्करी भइरेको हो ।

हिल स्टोन माइन्स तथा खानी उद्योग नामक कम्पनिले गैरकानुनी रुपमा खानी चलाए पनि गाउँपालिका चुपचाप छ । त्रिशुली नदिबाट करिब एक सय ५० मिटरको दूरीमा यसरी अवैध खानी संचालन भएको हो ।

‘खानीका कारण हाम्रो बस्तीमै समस्या भएको छ । बस्तीको बीच र त्रिशुली नदिको छेउ मात्रै होइन सामुदायीक वनको नजिकै कसले खानी खोल्नु अनुमति दियो । हामी सरोकारावालाहरुलाई कुनै जानकारी समेत छैन,’ एक स्थानियले दियोपोस्टसँग भने ।

स्रोतका अनुसार खानी संचालनका लागि सिद्धलेक गाउँपालिका र वडा नम्बर ७ ले स्विकृत दिएको थियो ।

यस विषयमा प्रतिक्रिया लिन खानीका संचालक कैलाश राईको मोबाइल नम्बरमा फोन गर्दा उनले पनि गाउँपालिका र वडाबाट स्विकृति लिएर खानी संचालन गरेको स्विकार गरे ।

‘हामीले खानी विभाग, वडा कार्यालय, गाउँपालिकाबाट स्विकृत लिएर काम गरेका हौँ । लाइसेन्स पनि छ,’ राईको दाबी छ,‘तर मलाई त्यहाँको स्थानियले फोन गर्ने र टर्चर गर्ने काम गरिरहेका छन् ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्मालाई फोन गर्दा उनी भने आफूलाई केही जानकारी नभएको बताउँछन् । ‘मलाई केही जानकारी छैन । म भोली मात्रै सबै कुरा बुझेर भन्न सक्छु,’ उनले भने ।

स्रोतका अनुसार खानी संचालक राईले उच्च राजनीतिक पहुँचका आधारमा खानी चलाएका छन् । उनी नेपाली कांग्रेसको प्रदेश प्रतिनिधि समेत हुन् ।

सम्बन्धित खबर