मापसे गरी गाडी चलाउनेमाथि मुद्दा

मापसे गरी गाडी चलाउनेमाथि मुद्दा

दोलखा, २६ चैत । मादकपदार्थ सेवन गरी गाडी हाँकेको र अरुलाई क्षति पुर्याएको आरोपमा यहाँको प्रहरीले एक युवक विरुद्ध मद्दा दर्ता गरेको छ ।

दोलखा भिमेश्वर नगरपालिका–१० का २९ वर्षीय मनोजकुमार लामालाई जिल्ला प्रहरी कार्यालय दोलखाले बा १३ च ६६०३ नम्बरको बोलेरो गाडीसहित नियन्त्रणमा लिई सार्वजनिक अपराध र सजाय ऐन २०२७ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

बिहीबार दिउँसै लामाले चलाएको बोलेरो अनियन्त्रित भई बसपार्कमा रहेको सत्यनारायण फलामे उद्योगभित्र छिरेको थियो । जिप्रका दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारका अनुसार मादक पदार्थ सेवन गरेर क्षति पुर्याउने चालक विरुद्ध सार्वजनिक मुद्दा चलाइएको यो दोलखाको पहिलो घटना हो ।

त्यस्तै बिहीबार मात्रै बरुवा बन्दुकसहित बाबरे–२ का दलबहादुर थामीलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक सुनुवारका अनुसार थामीको साथबाट दुई थान बरुवा बन्दुक र एकवटा मृगको ताजा छालासहित बरामद गरिएको छ । उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । थामीलाई अवैध घरेलु हातहतियार र चोरी निकासीमा कारबाही हुने प्रहरीले बताएको छ ।

Trending News