वनस्पती दिवस : वनस्पतिको उपयोगले राष्ट्रिय अर्थतन्त्र सुधार्न सकिने आशा

प्रा.डा. शाक्यलाई वनस्पति पुरस्कार

दियो पोस्ट डेस्क  

काठमाडौं । ‘स्थानीय समुन्नतीमा स्वस्थानीय वनस्पति’ भन्ने नाराका साथ २५ औं वनस्पति दिवस तथा वनस्पति विभागको ६४ औं वार्षिकोत्सव मनाइएको छ ।

काठमाडौस्थित विभागको कार्यालयमा बिहिबार आयोजित कार्यक्रमको प्रमुख अतिथी वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले दीप प्रज्वलन गरी उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मन्तव्य राख्दै मन्त्री सुडीले वनस्पतिको उपयोगले जिवनस्तर सुधार्न सकिने बताए । वनस्पतिका माध्यमबाट मुलुकको अर्थतन्त्र सुधार गर्नुपर्नेमा उनको जोड थियो । ‘अब वनस्पतिका माध्यमबाट राज्यको अर्थतन्त्र सुधार गरी रोजगारी बृद्धि गर्न जरुरी छ । सीमित स्रोतसाधनका विच पनि वनस्पतिको अनुसन्धानका गतिविधि अघि बढाइएको छ’ उनले भने ‘अनुसन्धानको गतिविधिलाई अझै प्राथमिकतामा राखी वनस्पतिको दिगो उपयोगमार्फत राज्यको अर्थतन्त्रमा सुधार ल्याउनुपर्छ । यसले अर्थतन्त्र सुधार्न सक्छ ।’

वन मन्त्रालयका सचिव डा. दीपककुमार खरालले वनस्पतिबाट आर्थिक आयआर्जन बढाउनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । वनभित्रको जडीबुटीलाई औषधीको रुपमा प्रयोग बढाएर जडिबुटीमार्फत अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनको भनाइ थियो । वनस्पति क्षेत्रलाई थप व्यवस्थित एवम् उपयोगी बनाउन ‘वनस्पति स्रोत विधेयक’ समेत पास हुन लागेको समेत उनले जानकारी गराएका छन् ।

२०१६ सालमा स्थापना भएको वनस्पति विभागले स्थापना कालदेखि नै वनस्पतिक स्रोतको पहिचान, सदुपयोग एवम् प्रविधि विकास गरी आर्थिक रुपमा समृद्ध राष्ट्र निर्माणमा आफुलाई समर्पित गरेको छ । विभागका महानिर्देशक डा. सञ्जिवकुमार राइले मानव स्रोत विकासमा पर्याप्त लगानीको आवश्यकता रहेको बताए । यद्यपि, वनस्पति क्षेत्रको अभिलेखीकरणमा भने आफुहरु अझै पछि रहेकोसमेत उनले बताए ।

प्रा.डा. शाक्यलाई वनस्पति पुरस्कार

विभागले राष्ट्रिय वनस्पति पुरस्कार प्रा.डा लोकेश रत्न शाक्यलाई प्रदान गरेको छ । नेपालमा वनस्पतिक स्रोतको अध्ययन, अनुसन्धान तथा प्राध्यापनमा लामो समय समर्पित रहि वनस्पतिक स्रोतको संरक्षण तथा विकासमा योगदानको कदरस्वरुप शाक्यलाई यो पुरस्कार प्रदान गरिएको विभागले जनाएको छ ।

वनस्पति विभागअन्र्तगत राष्ट्रिय वनस्पति उद्यान तथा वनस्पति प्रयोगशाला गोदावरीबाट प्रकाशित र प्राध्यापक डा. शिवकुमार राई र सजिता ढकालबाट लिखित ‘अल्गाई फ्लोरा अफ नेपाल भोल्युम टु’ नामक पुस्तकको विमोचन गरिएको थियो । मन्त्रालयका सचिव डा. खरालबाट उक्त पुस्तक विमोचन गरिएको थियो ।

कर्यक्रममा विभाग मातहतका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान पत्र वितरण र कार्यालयका उत्कृष्ट कर्मचारीलाई कदरपत्र वितरण गरिएको थियो ।