महानगरका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढ्यो, विद्यालयको क्षमताभन्दा बढि आवेदन

दियो पोस्ट डेस्क  

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका अधिकांश सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाको चाप बढेको । नयाँ शैक्षिक सत्र सुरु भएसँगै महानगरभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना संख्या बढेको हो ।

महानगरभित्रका सामुदायिक विद्यालयहरुको क्षमताभन्दा बढि विद्यार्थीले भर्ना हुन आवेदन दिएको विद्यालय प्राधानाध्यापकको भनाई छ । ‘हाम्रो विद्यालयमा दिवा कक्षाको विद्यार्थी क्षमता १ हजार छ तर यो वर्ष थप पाँचसात सय विद्यार्थीको आवेदन आइसकेको छ’ कोटेश्वर सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक पुष्पराज कुँवरले भने, ‘नयाँ भर्ना हुने संख्या अझै आइरहेको छ । यो विगतको भन्दा बढि हो ।’

ज्ञानोदय माध्यामिक विद्यालयका प्रधानध्यापक विष्णु घिमिरे रिमालले पनि विद्यार्थीको चाप थेग्न नसकिने गरि बढेको बताए । ‘विद्यालयले वितरण गरेको फारामभन्दा बढि विद्यार्थीले आवेदन दिइसकेका छन् । अभिभावकले जसरी पनि भर्ना गरिदिन भन्छन तर थेग्न मुस्किल भएको छ’ उनले भने ।

काठमाडौंको सबैभन्दा चर्चित विद्यालय त्रिपुरेश्वरस्थित विश्व निकेतनमा पनि विद्यालयको क्षमताभन्दा माथि २ हजार बढि नयाँ विद्यार्थीले आवेदन दिएका छन् । गत वर्ष विश्व निकेतनमा कुल ४ हजार ३ सय विद्यार्थी भर्ना भएका थिए ।

महानगरपालिका भित्रका दरबार हाइस्कुल, रानीपोखरी, शिवपुरी माध्यामिक विद्यालय, विश्व निकेतन, पशुपति मित्र माध्यामिक विद्यालय, रत्नराज्य माध्यामिक विद्यालय, ज्ञानोदय माध्यामिक विद्यालय, कोटेश्वर सरस्वती माध्यामिक विद्यालय र गीतामाता माध्यामिक विद्यालयमा विद्यार्थी भर्नाको चाप उच्च रहेको काठमाडौ महानगरपालिकाले जनाएको छ ।

महानगरपालिका भित्र ८७ वटा सामुदायिक विद्यालयहरु सञ्चालनमा छन् । ति विद्यालयहरुमा प्रारम्भिक बाल विकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ७ सय विद्यार्थी अध्ययन गराउने क्षमता छ । जसमध्ये ३ वटा विद्यालयहरु कारागारभित्रै सञ्चालनमा छन् भने ४ वटा विद्यालयलाई विशेष विद्यालय मानिएको छ । महानगरले कक्षा ६ देखि अध्ययन गर्न पाउने हिसाबले एउटा रात्रीकालिन र एउटा संस्कृत विद्यालयसमेत सञ्चालन गर्दै आएको छ ।

काठमाडौ महानगरपालिकाले शिक्षकको क्षमता बृद्धिाक लागि शिक्षक तालिम सञ्चालन गर्दै आएको छ । शैक्षिक गुणस्तर सुधारका लागि यस वर्ष करिब २ अर्ब ७५ करोड रुपैया बिनियोजन गरेको छ ।

महानगरले यहि वैशाख २ गतेदेखि ७ गतेसम्मका लागि भर्ना अभियान सुरु गरेको थियो । सामुदायिक विद्यालयहरुमा भर्नाका लागि जनप्रतिनिधिहरुले घरदैलो अभियानसमेत सञ्चालन गरेका थिए ।

मेट्रो न्युजबाट