काठमाडौं । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो विद्युतिय सवारी (इभी) र्याली गर्दै सुरु हुने भएको छ । यहि ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको एक्स्पो बिहान ६ः३० देखि इभी र्याली गर्दै सुरु हुने भएको हो ।
विद्युतको आन्तरिक खपत बृद्धि गर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगवारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको इभी र्याली स्काई वाक टावर कमलादीबाट सुरु हुनेछ । उक्त र्याली विद्युत प्राधिकरण, सिंहदरबार, कोटेश्वर, ग्वार्को, जावलाखेल, थापाथली, शितल निवास, बालुवाटार लगायतका मुख्य स्थान हुँदै करिब २६ किलोमिटरको यात्रा तय गरी एक्स्पो आयोजना स्थल भृकुटीमण्डपमा समापन हुने छ । र्यालीमा विद्युतबाट चल्ने दुई पाँग्रे, तीन पाँग्रे, चार पाँग्रे र छ पाँग्रे इभीहरुलाई निःशुल्क रुपमा सहभागी गराइने छ ।
एक्स्पो आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले शुक्रवार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोको सबै तयारी पुरा भएको जानकारी दिएको छ । एक्स्पो आगामी बैशाख १२, १३ र १४ गते अर्थात अप्रिल २४, २५ र २६ मा भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुनेछ ।
बैशाख १३ गते राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट एक्स्पोको समुद्घाटन गर्ने कार्यतालिका तय भएको इप्पानका अध्यक्ष गणेश कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
एक्स्पोको पहिलो दिन इभी र्यालीका अलवा प्रदर्शनीस्थल भृकुटीमण्डपमा उच्चस्तरीय बिजनेश मिटिङहरु पनि आयोजना गरिएको छ । जसमा भारतका प्रतिष्ठित अडानी ग्रुप, पीटीसी, लगायतका कम्पनीका प्रतिनिधिहरुसँग बिजनेश मिटिङ हुनेछन् । एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टलहरुको बुकिङ सम्पन्न भइसकेको छ ।
आर्थिक गतिविधिहरु सुस्त भइरहेको अहिलेको अवस्थामा पनि एक्स्पोमा उत्साहजनक सहभागिता भएको अध्यक्ष कार्कीले बताए । एउटा आयोजना बनाउन जेजति सेवा र वस्तुहरु चाहिन्छन् सबै एकैठाउँमा पाइने भएकाले ऊर्जा क्षेत्रसँग सरोकार राख्ने सबैले एकपटक एक्स्पोमा भिजिट गर्नै पर्ने पनि उनले बताए ।
ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ । नेपाल सरकारले भारतमा १० बर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता भैसकेको तथा आगामी सन् २०३५ भित्र बंगलादेशमा समेत गरी १५ हजार मेगावाट विद्युत निर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयले निर्माण गरिसकेको सन्र्दभममा र लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूणर् हुने इप्पानको अपेक्षा छ ।
ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकोले यसलाई मूर्त रुप दिने गरी निजी क्षेत्रबाट यो भव्य एक्स्पो आयोजनाा गरिएको हो ।
एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालयरकलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरु, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुबारे नीतिगत बहसका साथै नयाँ नयाँ प्रविधि र उपकरणहरुको प्रर्दशनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशहरुको सहभागीता निश्चित भइसकेको एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीका कार्यकारी निर्देशक बिजय सागर प्रधानले बताए ।
एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।
यी सबै प्राविधिक सत्रहरुलाई विश्वको जुनसुकै स्थानबाट पनि सजिलै भर्चुअल माध्यम प्रयोग गरी सहभागीता तथा अवलोकन गर्न सकिने छ । साथै एक्स्पोमा सहभागी प्रदर्शनकर्ताहरुसँग सिधै सम्पर्क पनि गर्न सकिनेछ ।
हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिष्पर्धा एक्स्पोको आकर्षण बन्ने आयोजकले जानकारी दिएको छ ।