अजरबैजान पठाइदिन्छु भन्दै दर्जनौबाट ३३ लाख रुपैयाँ ठगी सरस्वती फरार, आमा पक्राउ

- दियोपोस्ट  

काठमाडौं । वैदेशिक रोजगारीका लागि अजरबैजान नामक मुलुक पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरी एक व्यक्ति फरार भएकी छिन् । चितवन घर भएकी सरु खनाल (शर्मा) भनिने सरस्वती काप्रीले दर्जनौँ व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी फरार भएकी हुन् । पीडितहरुका अनुसार मासिक ९० हजार रुपैयाँ मासिक तलब हुन्छ भन्दै प्रति व्यक्ति ५ लाख रुपैयाँदेखि ६ लाख रुपैयाँ गरि ३३ लाख ५७ हजार रुपैयाँ ठगी गरेको खुलेको छ । काप्रीले ठगीको रकम आफ्नी आमा सान नानी खनालको नाममा जम्मा गर्न लगाएको खुलेपछि वैदेशिक रोजगार विभाग परेको जाहेरीको आधारमा खनाललाई पक्राउ गरिएको थियो ।

लामो समय प्रहरी हिरासतमा बसेकी खनाल केहीदिन अघि मात्रै ४ लाख रुपैयाँ धरौटीमा छुटेकी छिन् । तर, पैसा ठगी गर्ने काप्री भने हालसम्म फरार छिन् । पीडितहरुका अनुसार काप्रीले विदेशबाटै विभिन्न माध्यमबाट फोन गरि पीडितहरुलाई धम्की दिइरहेकी छिन् ।

‘हामीलाई विभिन्न माध्यमबाट फोन गरि मेरी आमालाई म पैसा खुवाएर सेटिङमा निकाल्छु अनि तिमीहरुलाई म ठीक पार्छु भन्ने धम्की आइरहेको छ,’ एक पीडितले दियोपोस्टसँग भने,‘उनले यसरी धम्की दिएको केहीदिनमै उनकी आमालाई धरौटीमा छाड्न वैदेशिक रोजगार विभागको इजलाशले आदेश दियो ।’

ठगी गरि फरार रहेकी सरस्वतीलाई विभागले पक्राउ पुर्जी जारी गरेको छ । उनी विदेशमा लुकेको कारण प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।

झूटो बयान दिएर छुटिन्

यता ठगी अभियोगमा पक्राउ परेकी साननानी खनालले आफ्नो खातामा पैसा आएको स्विकार गरेपनि वैदेशिक रोजगारीका लागि नलिएको झूटो बयान दिएकी छिन् । आफ्नो चेक मार्फत छोरीले निकालेर लगेको उनको बयान छ । सोही बयानका आधारमा उनी छुटेकी हुन् ।

फरार सरस्वतीसँग भारतीय आधारकार्ड

ठगी गरि फरार रहेकी सरस्वतीसँग भारतीय आधार कार्ड रहेको पाइएको छ । उनको नेपाली नागरिकता समेत छ । उनले भारतीय आधारकार्डकै सहारामा ठगी गरि भारत लगायत तेस्रो मुलुकमा लुक्ने गरेको पीडितहरुको भनाई छ ।