भ्रष्ट्राचारमा डामिएका राजेन्द्र अधिकारीलाई डिडिसीमा निमित्त महाप्रबन्धकको जिम्मेवारी !

- दियोपोस्ट  

काठमाडौं । भ्रष्टाचार अभियोगमा छानबीनमा रहेका एक कर्मचारीले दुग्ध विकास संस्थान (डिडिसी)मा गैरकानुनी रुपमा नेतृत्व हत्याएको पाइएको छ । डिडिसीमै कार्यरत रहँदा विभिन्न समयमा कारबाही समेत परेका निमित्त उप–महानिर्देशक राजेन्द्र कुमार अधिकारीले गैरकानुनी रुपमा नेतृत्व मात्रै हत्याएका छैनन् अख्तियारको दुरुपयोग गरि आफूलाई हुँदै नभएको अधिकार समेत हातमा लिएका छन् । उनले कानुन विपरित आर्थिक अधिकार समेत हातमा लिएर भ्रष्टाचारको अर्को काण्ड मच्चाउने तयारी गरेका छन् ।

दुग्ध विकास संस्थानमा महाप्रबन्धक संजिव झाको पदावधि सकिएपछि पद रिक्त भएको थियो । उक्त पदमा सरकारले कृषि मन्त्रालयका सहसचिव डा. सुर्यप्रसाद पौडेललाई निमित्त महाप्रबन्धकको रुपमा काज खटाएको थियो । पौडेललाई डिडिसीमा खटाएपछि आक्रोशित बनेका निमित्त उपमहाप्रबन्धक अधिकारीले कृषि विकास मन्त्रालय, डिडिसीको संचालक समिति लगायतलाई प्रतिवादी बनाउँदै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अधिकारीले दायर गरेको मुद्दामा अल्पकालिन अन्तरिम आदेश जारी भएको थियो । उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको एकल इजलाशले मन्त्रालयका सहसचिव पौडेललाई डिडिसीमा खटाउने पत्रलाई वैशाख १३ सम्म कार्यान्वयन नगर्नु भन्दै अल्पकालिन आदेश दिएको थियो ।

अदालतमा मुद्दा विचाराधिन रहेकै अवधिमा संचालक समितिका अध्यक्ष बेद बहादुर खत्रीको समेत संलग्नतामा अधिकारीलाई निमित्त महानिर्देशक तोक्दै आर्थिक अधिकार समेत दिने निर्णय गरेको छ । अधिकारी आफैले निमित्त सदस्यसचिव घोषणा गरि सिद्धार्थ बैंकको खाता संचालन गर्ने र आर्थिक अधिकार लिने निर्णय गरेका छन् । उनको यो गैरकानुनी क्रियाकलापलाई अध्यक्ष बेदबहादुर खत्रीले साथ दिएका छन् । जबकी डिडिसीको महाप्रबन्धकलाई मात्रै आर्थिक तथा प्रशासनिक अधिकार हुने कानुनी व्यवस्था छ । तर, आफै स्वघोषित निमित्त महाप्रबन्धक अधिकारीले गैरकानुनी रुपमा अधिकार प्रयोग गर्दा मन्त्रालय समेत जवाफ बिहिन बनेर बसेको छ । निमित्त महाप्रबन्धकलाई दैनिक कार्यालय संचालन बाहेकको अन्य अधिकार कानुनले समेत बर्जित गरेको छ ।

डिडिसीमा भ्रष्टाचारपछि कारबाही गरिएका अधिकारी अख्तियारको निगरानीमा

डिडिसीको तत्कालिन महाप्रबन्धक रुद्र प्रसाद पौडेलले अधिकारीले डिडिसि भित्र गैरकानुनी गतिविधि गरेको भन्दै २ तह गेड घटुवाको कारबाही गरेको थियो । काठमाडौं दुग्ध वितरण आयोजना बालाजुमा रहँदा उनले संस्थानलाई नोक्सानी पुर्याएको भन्दै दुई दलब बृद्धि रोक्का र नसिहत दिइएको थियो । अधिकारीले संस्थाको १ करोड ५८ लाख ५२ हजार ५ सय रुपैयाँ मस्यौट सम्बन्धी भ्रष्टाचार अभियोगमा अख्तियारले छानबीन गरिरहेको छ । उनै अधिकारीले गैरकानुनी रुपमा अधिकार हत्याएर फेरी ठूलो घोटाला गर्ने तयारी गरेका छन् ।

सम्पर्कमा आएनन् अधिकारी

यस विषयमा प्रतिक्रिया लिन दियोपोस्ट डिडिसीका अवैध महाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीलाई सम्पर्क गरेको थियो । उनलाई पटक पटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।