पर्यटनमा नक्कली अरोहण अनुमति पत्रको धन्दा : पक्राउ परि छुटेका शेर्पा र कार्की फेरी तानिँदै

- दियोपोस्ट  

काठमाडौं । सगरमाथा अरोहण गरेको भन्दै नक्कली अरोहण अनुमति पत्र जारी भएको पाइएको छ । काठमाडौंमा कार्यालय रहेको पायोनियर एडभेन्चर प्रा.लीले नक्कली अरोहण अनुमति पत्र बनाएको खुलाशा भएको हो । पर्यटन विभागले यस विषयमा छानबीन गर्दैछ ।

पर्यटन विभागको लेटरहेड पयोग गरेर पायोनियर एडभेन्चरका मालिक पासाङ तेन्जी शेर्पा र निभेष कार्कीले उक्त नक्कली अरोहण अनुमतिपत्र बनाएको खुलेको छ । पोल्याण्डका २ र भारतका २ सहित एक शेर्पाको नक्कली अरोहण अनुमति पत्र जारी भएको विषयमा विभागले अनुसन्धान थालेको हो ।

त्यसो त कार्की  यसअघि नै नक्कली अरोहण अनुमति पत्र बनाएको अभियोगमा पक्राउ परेका व्यक्ति हुन् । यसअघि सेभेन समिट ट्रेक प्रालीमा कार्यरत रहँदा कम्पनिका संचालकहरुलाई समेत थाहा नै नदिई नक्कली अरोहण अनुमति पत्र बनाएको अभियोगमा पक्राउ परेका थिए । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले कार्कीसहित अर्का दुई व्यक्तीलाई पक्राउ गरि मुद्दा चलाएको थियो ।

तत्कालिन लिगल डिपार्टमेन्ट हेड रहेका कार्की, मार्केटिङ म्यानेजर रहेका फूर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याललाई सिआइबीले पक्राउ गरि मुद्दा चलाएको थियो । प्रहरी कारबाहीमा परेपछि कम्पनिबाट समेत निष्काशनमा परेका  कार्की मिलेर पायोनियर एडभेन्चर प्रा.ली नामक आफ्नै कम्पनि खोलेका थिए ।

आफ्नै कम्पनि भएपछि कार्की  मिलेर फेरी नक्कली अरोहण अनुमति पत्र बनाउने धन्दा चलाएको स्रोत बताउँछ । विभागका एक अनुसन्धान अधिकारीका अनुसार यो मुद्दा प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोलाई अनुसन्धानका लागि लेखी पठाउने तयारी छ ।

सिआइबीले पक्राउ गर्ने त्रासमा रहेका शेर्पा र कार्की फरार भइसकेका छन् । प्रतिक्रियाका लागि कार्कीको नम्बरमा पटक पटक फोन गर्दा उनले उठाएका छैनन् ।