अर्घाखाँचीका २९ वर्षीय युवा ४ दिनदेखि सम्पर्क बिहिन, खोजि गरिदिन परिवारको अपिल !

Rita Budhathoki  

अर्घाखाँची । अर्घाखाँची जिल्ला मालारानी गाउपालिका, वडा नम्बर–१ भण्डारथुम निवासी २९ वर्षीय बालकृष्ण पोखरेल बिगत चार दिन देखि सम्पर्क बिहिन भएका छन् । यही चैत्र १९ गते गुल्मीको सदरमुकाम तम्घास बजारबाट उनी सम्पर्क बिहिन भएका हुन् ।

उक्त दिन बिहान ९ बजे तिर ‘चामल किन्न’ भन्दै उनी घरबाट निस्किएको परिवारिक स्रोतले जनाएको छ । सोही दिन १० बजे देउराली पुगेर दुई बोरा चामल किने पछि ‘तम्घास जाने काम छ’ भन्दै निस्किएको प्रत्यक्षदर्शीको भनाई छ ।

‘बिहानै घरबाट निस्किएको छोरा साँझसम्म घर आएन । झमक्क साँझ परेपछि फोन गर्दा, म अहिले तम्घासमा छु, आज घर आउँदिन । यतैबाट मामा घर जान्छु, भोलि बिहानै घर आउँछु भनेको थियो । तर ‘उ’ मामा घर पनि गएको रहेनछ । कहाँ गए होला? अहिलेसम्म केही पत्तो लागेको छैन ।’ बालकृष्णकी आमा पार्वता पोखरेलले रुँदै दियो पोष्टसंग भनिन् । ‘कसैले ललाई फकाई कतै लिएर गए कि? या कतै अप्ठ्यारोमा पर्यो कि? केही थाहा पाउन सकिएन,’ उनले आशंका व्यक्त गरिन् ।

यद्यपी, २० गते बिहान बालकृष्णले ‘भाई’ नाता पर्ने समिर पोखरेललाई फोन गरेर ‘म मामा घरमा छु, साँझ घर आउँछु’ भनेर झुट बोलेका थिए । तर, कुरा गरे लगत्तै फोन ‘स्वीच अफ’ गरिएको समिर बताउँछन् ।

‘अहिलेसम्म उनको फोन खुलेको छैन । उनी कहाँ कुन अवस्थामा छन् केही थाहा पाउन सकिएन ।’ स्थानीय शिक्षक गिरीराज पोखरेलले बताए । उनी सम्पर्कमा नआए पछि सम्पूर्ण नातेदार तथा आफन्तलाई खबर गरिएको र सम्भावित स्थानमा खोजी गरिएको भएता पनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको शिक्षक पोखरेल बताउँछन् ।

उनी सम्पर्कबिहिन भए पछि चैत्र २१ गते इलाका प्रहरी कार्यालय हटियामा उजुरी गरिएको शिक्षक पोखरेलको भनाई छ । घरको अवस्था निकै दयनीय भएको उनी बताउँछन् । ‘छोरा नै सम्पर्कबिहिन भएपछि डाँडा माथिका जुन जस्तै डुब्न लागेका आमा बुवालाई सम्हाल्ने कोही छैनन् । बुवाको हात भाँचिएर सुन्निएको छ । उपचार गर्ने पैसा छैन ।’ उनले बताए ।

यता, बुढेसकालको सहारा एक मात्र छोरा हराउँदा ८३ वर्षिय बुवा खिमलाल पोखरेल र ७९ वर्षिया आमा पार्वताका आँखा ओभाएका छैनन् । खिमलाल हातको उपचारको अभावमा छटपटिएका बेला छोरा बेपत्ता हुँदा उनी झनै पीडामा छन् ।
पार्वता आफै पनि बिरामी भई महिनौँदेखि थलिएर ओछ्यानमा छिन् । छोरा बेपत्ता भएयता उनका आँखा बिहानै देखि घरछेउँको मोटर बाटोमा हुन्छन् । रात परे पछि छोरा नआएको पीडामा उनी मुर्छित हुन्छिन् ।

छोरा हराएदेखि घरमा पानी तताएर दिने मान्छे समेत छैनन् । गाउँलेको सहारामा पोखरेल दम्पत्तिले जेनतेन प्राण धानेका छन् । छोराको अनुपस्थितिमा एक्लिएका पोखरेल दम्पत्तिले छोरालाई खोजिदिन अपिल गरेका छन् ।

बालकृष्णले एक वर्ष अघि बिवाह समेत गरेका थिए । तर उनकी श्रीमति बेदेशिक रोजगारीको शिलशिलामा दुवईमा बस्दै आएकी छिन् ।

निलो जिन्सको पाइन्ट, खैरो सर्ट, कालो जुत्ता र घडी लगाएको, अन्दाजी ५ फिट ५ इन्च उचाई भएको, गहुँगोरो वर्ण भएको हेर्दा सोझो देखिने बालकृष्ण पोखरेललाई फेला पार्नु हुने महानुभावले नजिकैको प्रहरी कार्यालय अथवा ९८४७१८५५९९ नम्बरमा सम्पर्क गर्नु हुन अनुरोध सोत गरिएको छ ।

 

सिफारिस