दुई घरले पुरिएका एक बारपाकी : हात गुमाए पनि आशा गुमाएको छैन

दियो पोस्ट  

सुकराम गुरुङ

गोरखा बारपाक– ७ मा मेरो घर । १२ वैशाखमा म छोरासँगै घरमा थिएँ । नर्सरी पढ्ने छोरीको स्कुल छुट्टी १२ बजे हुन्थ्यो, उनलाई लिन छोरालाई पठाएँ । म घरमै डोको बुनेर बसेको थिएँ । श्रीमती अर्को अलिपरको घर पोत्न गएकी थिइन् । एक्कासि जमिन हल्लियो । के भयो भनेर सोचेँ, झनै हल्लिन थाल्यो । भूकम्प पो आएछ, भनेर म डोको बुन्न छोडेर भागेँ ।

साँघुरो बाटो थियो । भाग्दाभाग्दै मलाई बाटोमै अरुको घर भत्केर पु¥यो । मलाई पछि त दुई घरले पो पुरे छ । पुरिएपछि मैले चिच्याएको थिएँ । मैले चिच्याएको त्यो बाटो भएर दर्गुर्नेले सुनेका रहेछन् । पछि सबै मान्छेहरू जम्मा हुँदै गए । मेरो खोजी भएछ । त्यो बाटो भाग्ने दगुर्नेले भनेछन्, ‘सुकरामको जस्तो आवाज त फलानो ठाउँनेर सुनेका थियौँ ।’
मैले चिच्याउन छाडिनँ । मेरो मुख सुक्दै गयो । जिउ पूरा च्यापिएको छ । तर, बाँच्छु भन्ने आशा थियो । मेरो घर–परिवारले अवश्य मलाई खोज्ने छन् भन्ने मनमा थियो ।
मेरो मुख, नाक, घाँटी धुलोले बन्द हुन थाल्यो । एक हातले नाक, मुख पुछिरहे । जब घाँटी बन्द भयो मुखमा औँला हालेर उल्टी गरेँ । चिच्याउन सक्ने भएँ । ६ बजेतिर मलाई बोलाउँदै मान्छेहरू आएको सुनेँ । मैले पनि तलबाट बोलाएँ । उनीहरूले ढुंगा पन्छाउन थाले, मैले सुनिरहेको थिएँ । आवाज दिइरहेको थिएँ ।
आधा घन्टा ढुंगा पन्छाएपछि उनीहरूले ‘कता हो कता’ भन्न थाले । मैले तलबाट यहीँनिर हो पन्छाउनुस् भन्छु, उनीहरू सुन्दैनन् । फेरि पनि उनीहरुले अन्धाधुन्ध ढुंगा पन्छाउए, मलाई अलि अलि हलुंगो हुन थाल्यो । मैले भनेँ, ‘तपाईंहरू जहाँ ढुंगा हटाइरहनुभएको छ, त्यो ठाउँ नछोड्नुस् ।’
झन्डै एक घन्टा ढुंगा, माटो, काठ पन्छाएपछि मलाई भेटे । म होसमै थिएँ । घरले पुरेपछि म ६ घन्टासम्म त्यहीँ पुरिएँ । छोराछोरी श्रीमती कहाँ होलान् भन्ने चिन्ता थियो । शरीरमा दुखाई निकै थियो ।
मलाई निकालेपछि श्रीमती छोराछोरी पनि आए । मेरो परिवार सकुशल रहेछ ।
परिवारलाई देखेपछि सबै पीडा बिर्सें । मनमा अनेक कुरा खेल्न थाल्यो, धन्न उनीहरुलाई केही भएको रहेनछ । उनीहरुलाई सकुशल देखेपछि खुसीले रोएँ ।

एउटा हात गुमाएँ
त्यो रात सबै जम्मा भएर खाली ठाउँमा बस्यौँ । सबैका पीडा उस्तै थिए । घर भत्केका थिए । कतिले आफन्त गुमाएका थिए । मान्छेहरू ठाउँ ठाउँमा जम्मा भएका थिए । रुने चिच्याउने गर्थे, सबैतिर कोलाहल थियो, त्रास थियो । जेहोस्, बाँचेका घर–परिवारहरू भेट भएको थियो ।
दुःखाइको अलि–अलि औषधि खुवाउँथे, अलि–अलि दुःखाइ कम हुन्थ्यो । दोस्रो दिन हेलिकप्टर आयो । सबै घाइतेलाई बोक्दै पोखरा लैजान थाल्यो । मलाई पनि पोखरा पुर्याइयो ।
१० दिनसम्म मात्रै मेरो दिसा–पिसाब खुल्यो । पोखराको गण्डकी मेडिकल कलेजमा चेकजाँच गर्दा हात काट्नुपर्छ भनिएको थियो । मेरो बायाँ हात पछाडि परेर कामै नलाग्ने गरी भाँचिएछ । मलाई २४ गते मात्रै काठमाडौं पठाइयो, त्यो पनि मेरो आफ्नै खर्चमा । पोखराबाट केही साथीहरूले १७ हजार उठाएर एम्बुलेन्समा काठमाडौं पठाए । एक डाक्टर र दुईजना नर्स पनि मसँगै थिए ।

आफन्त विदेशमा नभएको भए…
काठमाडौं शिक्षण अस्पतालमा उपचार भयो । त्यहाँ गएपछि मेरो हात काटेर फालियो । त्यहाँ पनि घाइतेको भीड थियो । मजस्ता घाइते त कति थिए कति । मेरा दाइभाइ काठमाडौंं आए, पैसाको जोहो गरे । अनि मेरो उपचार भयो । तीन महिना हस्पिटल बसेँ । मेरो उपचारमा ४ लाख २० हजार सकियो । मेरा दाइभाइ सबै विदेश भएकाले उपचार गर्न सहज भयो । मलाई सरकारले बारपाकबाट पोखरा पठाएको हो । त्योभन्दा बढी सरकारले केही गरेन । मेरा लागि सरकार छैन । मेरा आफन्तसँग पैसा नभएको भए म मर्थे होला । शरीरभरि चोटपटक लागेको छ ।
हामीलाई पनि थाह भएन, आफैँले उपचारमा खर्च गरे पनि पछि बिल बुझाए सरकारले सहयोग गर्छ भन्ने । तर, हामीले बिलको ख्यालै गरेनौँ । पछि हेर्दा २० हजारजतिको मात्रै बिल थियो । चार लाखभन्दा बढी सकियो कसलाई के भन्नु भनेर बसेँ । २० हजारको बिल अहिले पनि छ, तर त्यो लिन सदरमुकाम जानुपर्छ, तर जाँदा, पहल गर्दा २० हजारभन्दा बढी लाग्ने देखेर केही गरिनँ ।

हात गुमाए पनि आशा गुमाएको छैन
अहिले म ३४ वर्ष पुगेँ । हात भाँचिए पनि केही गर्ने आशा भाँचिएको छैन । मैले असोजबाट बारपाकको बसपार्कमा होटल खोल्न खोजेँ । धेरै मान्छेसँग ऋण माग्न गएँ । कसैले पत्याएनन् । एक हात छैन । त्यसैमा चार लाखभन्दा बढी उपचारमा खर्च गरेर आएको छु । कसले पत्याओस् मलाई । तर, हरेस खाइनँ । मलाई दुई छोराछोरी र श्रीमती पाल्नुपर्ने छ । लागेको ऋण पनि तिर्नुछ ।
भएको लालपुर्जा बोकेर एउटा सहकारीमा कुरा गरेँ, गोरखा सदरमुकाममा त्यो सहकारीले पत्यायो । लालपुर्जा धितो राखेर चार लाख ५० हजार ऋण लिएँ ।
ऋण त लिएँ, होटल गर्ने ठाउँको समस्या भयो । चल्ने ठाउँ चाहियो । एकजना दाइसँग जग्गा भाडामा मागेँ । मेरो अवस्था देखेर होला उहाँले अहिलेसम्म भाडा लिनुभएको छैन ।
होटल खोलेपछि पनि विभिन्न किसिमका कुरा सुनेँ । कसैले भने– एक हात नभएकाले पनि होटल खोलेछ कसरी चलाउँछ ? कसैले भने– अब फेरि डुब्छ । तर, मैले कसैका कुराले हार खाएको छैन ।
मलाई श्रीमती र दाइभाइले साथ दिएका छन् । म अहिले होटल चलाईरहेको छु । छोराछोरीलाई बोर्डिङमा पढाएको छु ।
०६४ सालमा साउदी अरब गएर पनि काम गरेँ । त्यही कमाइले घर बनाएको थिएँ, भूकम्पले लग्यो । अब घर घर बनाउनुछ । र, मेरो सपना छ, समृद्ध बारपाकको । सबैको घर होस् ।
प्रस्तुति : कृष्ण गिरी (बारपाकबाट फर्केपछि)

TATA ADD