काठमाडौं, १६ वैशाख । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुख, उपप्रधानमन्त्री, प्रधानसेनापति, मन्त्री लगायत उच्च पदस्थ व्यक्तिको सुरक्षामा नेपाली सेना खटिएको हुन्छ । उनीहरुको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई निर्देशन दिने नेपाली सेनाको विभागको नाम हो–अति विशिष्ट व्यक्ति सेवा निर्देशनालय ।
सोही निर्देशनालयमा प्रमुख भूमिकामा छन्– नेपाली सेनाका कर्णेल सुशील कुमार थापा । उनै थापाको ललितपुरको इमाडोल स्थित निजी निवासमा शनिबार राती रहस्यमयी रुपमा घरायसी काममा राखिएको जवान प्रदीप तामाङ झुन्डिएको अवस्थामा फेला परे ।
‘हामी पुग्दा झुन्डिएको अवस्थामा शव देखेका हौँ,’ महानगरीय प्रहरी बृत सातदोबाटोका डिएसपी गौतम केसीले भने,‘मुचुल्का उठाएर शव पोस्ट मार्टमका लागि पाटन अस्पतालमा राखेका छौँ । दुवै जना एकै संगठनका भएका कारण जाहेरी आइसकेको छैन । हामी अनुसन्धानकै क्रममा छौँ ।’
शुक्रबार बेलुका १० बजेसम्म आफ्नी श्रीमती शान्ति तामाङसँग कुरा गरेका तामाङले १० बजेर ११ मिनेटमै अर्को सन्देश पठाए–‘मलाई मारिदियो ल ।’
डिएसपी केसीका अनुसार तामाङले लेखेको एउटा नोट समेत भेटिएको छ । उक्त नोटमा के लेखिएको थियो ? नोट उनैले लेखेका थिए वा अरु कसैले लेखेको भन्ने बारे परिक्षण गर्न बाँकी रहेको उनले बताए ।
स्रोतका अनुसार कर्णेल थापा उनकी श्रीमती र एक छोरी उक्त घरमा बस्दै आएका थिए । सोही दिन बेलुका कर्णेल थापा र उनकी श्रीमती पाटीबाट फर्किएको बताइन्छ ।
विगत डेढ वर्षदेखि कर्णेल थापाको घरमा घरायसी काममा राखिएका भक्तपुर गुन्डु स्थायी घर भएका तामाङको परिवारले आत्महत्या नभई हत्या भएको आशंका गरेका छन् ।
शनिबार राती एकाएक नेपाली सेनाको टोली सिपाही तामाङको परिवारलाई लिन भक्तपुरको गुन्डु पुगेको थियो । घरमा आएका सेनाले जरुरी काम छ । मृतक तामाङ विरामी छ भन्दै इमाडोल स्थित कर्णेल थापाको घरमा ल्याएका थिए । घरमा आएपछि झुन्डीएको अवस्थामा अस्वभाविक लाग्ने गरी तामाङको लाश देखेपछि आफन्त विछिप्त बनेका थिए । सेनाले जबरजस्ती झुन्डिएको डोरी काट्न लगाएको बताइएको छ ।
सातदोबाटो प्रहरी कार्यालयमा आएका कर्णेल थापा मुद्दा मुलाउनका लागि सिभिलमा नेपाल प्रहरीका एक डिआइजीलाई समेत ल्याएका थिए ।
प्रहरी परिसर भित्र मृतकका श्रीमतीलाई तामाङले पाउँदै आएको आधा तलब ७ वर्षसम्म उपलब्ध गराउने आश्वासन कर्णेल थापाले दिएका थिए । त्यसको अग्रिम ग्यारेन्टी नभएको र अग्रिम ३० लाख रुपैयाँ माग गरेपछि सहमति नभएको उच्च स्रोतको दाबी छ । शैनिक प्रहरी र नेपाल प्रहरीले उक्त घटना अनुसन्धान गररहेको छ । दुवै जना सैनिक संगठनकै भएकाले कर्णेल थापा माथि अनुसन्धानको दबाव बढेको छ ।
राजनीतिक शक्ति र सैनिक उच्च अधिकारीलाई नै प्रभावमा पार्न सक्ने खुवी भएका थापालाई निलम्बन नगर्न उच्च तहको दबाव रहेको बताइन्छ ।
यो पनि पढ्नुहोस्