इमाडोल स्थित नेपाली सेनाका कर्णेलको घरमा सिपाहीको लास, हत्या गरिएको आशंका !

इमाडोल स्थित नेपाली सेनाका कर्णेलको घरमा सिपाहीको लास, हत्या गरिएको आशंका !

काठमाडौं, १३ वैशाख । नेपाली सेनाका एक शक्तिशाली कर्णेलको घरमा सिपाहीको लास झुन्डिएको अवस्थामा फेला परेको छ ।


अति विशिष्ट सेवा निर्देशनालयमा कार्यरत कर्णेल सुशील कुमार थापाको निजी निवास इमाडोलमा घरायसी काममा राखिएका नेपाली सेनाका सिपाही प्रदीप तामाङको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।


विगत डेढ वर्षदेखि कर्णेल थापाको घरमा राखिएका भक्तपुर गुन्डु स्थायी घर भएका तामाङको परिवारले आत्महत्या नभई हत्या भएको आशंका गरेका छन् ।

पारिवारिक स्रोतका अनुसार हिजो शुक्रबार राती १० बजेसम्म उनले आफ्नी श्रीमतीसँग फोनमा कुरा गरेका थिए । कुराकानीका क्रममा तामाङले राम्रोसँग कुरा गरेको स्रोतको दाबी छ ।


शनिबार राती एकाएक नेपाली सेनाको टोली सिपाही तामाङको परिवारलाई लिन भक्तपुरको गुन्डु पुगेको थियो । घरमा आएका सेनाले जरुरी काम छ । मृतक तामाङ विरामी छ भन्दै इमाडोल स्थित कर्णेल थापाको घरमा ल्याएका थिए । घरमा आएपछि झुन्डीको अवस्थामा अस्वभाविक लाग्ने गरी तामाङको लाश देखेपछि आफन्त विछिप्त बनेका थिए । सेनाले जबरजस्ती झुन्डिएको डोरी काट्न लगाएको बताइएको छ ।


मृतक तामाङको शव पोस्ट मार्टमका लागि यतिबेला शिक्षण अस्पताल काठमाडौं लगिएको छ । यता महानगरीय प्रहरी परिसर सातदोबाटोमा मृतकका आफन्त, बाबु, आमा र श्रीमतीलाई प्रहरीले उपस्थित गराएको छ । प्रहरी कार्यालयमा आएका कर्णेल थापा मुद्दा मुलाउनका लागि सिभिलमा नेपाल प्रहरीका एक डिआइजीलाई समेत ल्याएका थिए ।


प्रहरी परिसर भित्र मृतकका श्रीमतीलाई तामाङले पाउँदै आएको आधा तलब ७ वर्षसम्म उपलब्ध गराउने आश्वासन कर्णेल थापाले दिएका थिए । त्यसको अग्रिम ग्यारेन्टी नभएको र अग्रिम ३० लाख रुपैयाँ माग गरेपछि सहमति नभएको उच्च स्रोतको दाबी छ । प्रहरी कार्यालयमा सहमति नभएपछि मृतकका बाबु, श्रीमती आमा, काका र आफन्त भनिएका जिवनलाई सैनिक प्रहरीले गाडीमा राखेर सैनिक मुख्यालय लगेका छन् ।


मृतकका आफन्तले घटना रहस्यमयी रहेको र हत्या भएको आशंका गरेका छन् ।

याे पनि पढ्नुहाेस्

कर्णेलको घरमा मृत भेटिएका सिपाहीको श्रीमतीलाई मध्येराती म्यासेज : ‘मलाई मारिदियो ल’ !

Trending News