– कृष्ण आचार्य
चितवन,वैशाख १६ । नेपालमा हात्तीको व्यवस्थापनका लागि कार्ययोजना निर्माण थालिएको छ । हात्ती व्यवस्थापनसम्बन्धी १० वर्षे कार्ययोजना पुरानो भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले पाँचवर्षे नयाँ कार्ययोजना निर्माण थालेको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो नेपालको सहयोगमा पूर्व, मध्य र पश्चिम गरी तीन क्षेत्रमा सुझाव सङ्कलन थालिएको छ । पश्चिम बर्दियामा सुझाव सङ्कलन पछि सोमबार चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई मध्यनजर गर्दै चितवनको सौराहा छलफल गरिएको छ ।
संरक्षणको क्षेत्रमा खटिएका अगुवाले हात्तीको वासस्थापन निर्माणमा जोड दिनुका साथै मानिसका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक नरेश सुवेदीले पछिल्लो समय तराईका सबै जिल्लामा हात्ती पुग्न थालेकाले यसले मावन र वन्यजन्तुबीचको द्वन्द्वको खतरा बढ्दै गएको बताए ।
उनले भने, ‘पहिले नवलपरासी, रुपन्देहीलगायतका क्षेत्रमा हात्ती देखिन्थेन, अहिले सबै ठाउँमा देखिन थालेको छ, यसले चुनौती थपिएको छ ।’ सरकारले हात्ती संरक्षणका लागि बनाएको १० वर्षे कार्ययोजना कार्यान्वयनको अवस्था कमजोर देखिएको उनले बताए ।
सन् २०१८ मा कार्ययोजनाको अवधि सकिएको छ । यो अवधिमा कार्ययोजनाले नेपालमा हात्तीको सङ्ख्यासमेत पत्ता लगाउन नसकेको उनको गुनासो छ । हात्ती संरक्षणका लागि वासस्थान, आहार व्यवस्थापनसँगै हात्ती हिँड्ने करिडोर निर्माण गर्नुपर्ने आवश्यकता देखिएको सुवेदीले बताए ।
वन्यजन्तु चिकित्सक कमल गैरेले हात्तीको आचरणअनुसार मानव बस्ती प्रवेशमा रोक लगाउन नयाँ–नयाँ उपाय ल्याउनु पर्ने सुझाव दिए । उनले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गराउन हात्ती हिँड्ने कोरिडोर क्षेत्रमा वर्षेनि तालीमको व्यवस्था हुनुपर्ने बताए ।
अयोध्यापुरी उपभोक्ता समितिका ईश्वरी सापकोटाले हात्तीलाई मानव बस्तीमा प्रवेश रोक लगाउन सिमेन्टयुक्त वाल लगाउनु उचित रहेको सुझाव दिइन्। सापकोटाले भनिन्, ‘सोलार फेनसिङदेखि सबै उपाय अपनाइयो, सिमेन्ट वाल नै बढी प्रभावकारी देखिएको छ ।’ वस्तीमा प्रवेश गरेर हात्तीले मान्छे मार्ने, घर भत्काउने र अन्नबाली खाइदिने गरेका कारण हात्तीप्रति मान्छेको आक्रोश बढी रहेको उनले बताए ।
पछिल्लो १५ वर्षमा सबैभन्दा बढी बाँके, बर्दिया, दोस्रोमा झापा, मोरङ र तेस्रोमा चितवन र पर्सा क्षेत्रमा हात्ती र मानवबीचको द्वन्द्व देखिएको छ । यसको समाधान अहिलेको प्रमुख चुनौती रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व महानिर्देशक टीकाराम अधिकारीले बताए ।
अधिकारीले मावन र वन्यजन्तुबीचको द्वन्द्व घटाउन जनचेतनामूलक कार्यक्रम नै आवश्यक रहेको बताए । विश्वमा अफ्रिकन र एशियाली गरी दुई प्रजातिका हात्ती पाइन्छन् । नेपालमा पाइने एशियाली हात्तीका सङ्ख्या झण्डै २०० भन्दा बढी छ ।
सन् २०११ मा नेपालमा १४५ को हाराहारीमा मात्रै हात्ती थियो । झापादेखि कोशीटप्पु क्षेत्रमा १५ देखि २०, चितवन–पर्सा निकुञ्ज क्षेत्रमा ४० देखि ५०, बर्दियामा १०२ र शुक्लाफाटा क्षेत्रमा १० देखि १५ को हाराहारीमा जङ्गली हात्ती पाइने गरेको छ ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद कृष्णप्रसाद भुर्तेल प्रमुख अतिथि रहेका थिए । सो कार्यक्रममा पूर्व संरक्षण अधिकृत रामप्रित यादव, पूर्व संरक्षण अधिकृत सीता बसेल, चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता गोपालबहादुर घिमिरेलगायतको उपस्थिति रहेको थियो । रासस