प्रधानमन्त्रीका अवैतनिक आर्थिक सल्लाहाकार मोती दुगडको धन्दा : अवैध नुन निर्वाध विक्री !

दियो पोस्ट  

काठमाडौं । सेञ्चुरी ग्रुपको दुगड स्पाइसेज एण्ड फुड प्रोडक्ट्स प्रालि विराटनगरले निर्बाध रुपमा अवैध नुन बिक्री गर्दै आएको छ । तर त्यसलाई रोक्न सरकारका कुनै पनि निकायले चासो समेत देखाएका छैनन् ।

उक्त कम्पनी प्रधानमन्त्री केपी ओलीका अवैतनिक आर्थिक सल्लाहकार मोती दुगडले सञ्चालन गर्दै आएका छन् । यसअघि उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री हुँदा उनले पद तथा शक्तिको दुरुपयोग गरी अवैध रुपमा नुन बिक्री गरेको भनी प्रधानमन्त्रीको कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण, वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा पटक–पटक उजुरी परेका थिए । तर दुगडलाई प्रधानमन्त्री ओलीले मन्त्रीसरहको हैसियत रहने गरी आफ्नो आर्थिक सल्लाहकार नियुक्त गरेका छन् ।

दुगडले विगत लामो समयदेखि सेञ्चुरी टेबल साल्ट भनेर बट्टामा नुन हालेर बिक्री गर्दै आएका छन् । सहरका भाटभटेनीलगायतका सुपर मार्केटमा सेञ्चुरी एवल साल्ट किन्न पाइन्छ । तर त्यसरी नुन बिक्री गर्नु नेपालको सन्दर्भमा गैरकानुनी अर्थात् अवैध व्यापार हो । नेपाल सरकारले देशभर आयोडिनयुक्त नुन मात्र बिक्रीवितरण गर्न पाइने व्यवस्था गरेको छ । त्यसमा पनि नुन बिक्रीवितरण गर्ने एकाधिकार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई मात्र दिएको छ । तर प्रधानमन्त्रीकै आर्थिक सल्लाहकार भएका उनले आफूखुसी नुनको प्याकेट बनाएर खुलेआम उपभोक्तालाई बिक्री गर्दै आएका छन् ।

आपूर्ति मन्त्रालयले नुन बिक्रीवितरण गर्न साल्ट ट्रेडिङ कर्पोरेसनलाई एकाधिकार दिए पनि प्रधानमन्त्री ओलीका विश्वासपात्र आर्थिक सल्लाहकार एवं पूर्वआपूर्ति राज्यमन्त्री दुगडले सय ग्राम नुनलाई ३२ रुपैयाँमा बिक्री गरिरहेका छन् । त्यही नुन साल्ट ट्रेडिङले प्रतिकिलो २० रुपैयाँमाा बिक्री गरिरहेको छ । दुगडले सत्ताको आडमा खुलेआम कालोबजारी गर्दा पनि त्यसलाई कारबाही गरिएको छैन । सेञ्चुरी साल्टले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र नम्बर पनि लिएको छैन ।

अनुमति नै नलिई आफूखुसी लेबलिङ गरेर बेच्नै नपाइने नुन बेचिरहँदा पनि विभागले देखेको नदेख्यै गरिरहेको छ । त्यसरी अवैधरुपमा बेचिएको नुनको बट्टासहित उपभोक्ताले गरेको उजुरीमा समेत विभागले कुनै छानबिन गरेन । बरु उल्टै हजुरको कम्पनीविरुद्ध एउटा फटाहाले यस्तो उजुरी गरेको छ भनी उजुरी नै तत्कालीन आपूर्ति राज्यमन्त्री दुगडलाई समर्पण गरेको थाहा भएको छ । उनले परीक्षण उत्पादन गरेको भनी वक्तव्य निकालेर चोरको खुट्टो काट् भन्दा फुत्त थुतेजस्तो गरेका थिए ।

सत्ताको आडमा दुगडले चलाएका उक्त गैरकानुनी कालोबजारीविरुद्धको उजुरीमा विभागले अहिलेसम्म उजुरीकर्तालाई कुनै जवाफ दिएको छैन । उजुरी गर्न जाँदा उजुरी समेत दर्ता गरिएको थिएन र आनाकानी गर्दै एक कर्मचारीले समातेका थिए । उजुरी गरेको एक वर्ष बितिसक्दा पनि विभागले सेञ्चुरी साल्टले बिक्री गरेको टेबल साल्ट आयोडिनयुक्त हो कि होइन भन्नेबारे पनि मुख खोलेको छैन । यसबारे सबै तैँ चुप मै चुप छन् ।

सिफारिस