एमाले प्रवेश गर्ने व्यापारीलाई खुलमखुल्ला ठगी गर्दा उन्मुक्ति : अर्बौं ठगी, ३ लाख तिराएर रिहा !

दियो पोस्ट  

काठमाडौं, २६ चैत्र । फलाम र डण्डीको तौलमा अर्बौं ठगी गर्ने राजेश हार्डवेयरलाई सरकारले उन्मुक्ति दिएको खुलाशा भएको छ । राजेश हार्डवेयरको १८ वटा विक्री केन्द्र मध्ये बालाजु शाखा मार्फत तौलमा ब्यापक ठगी हुने गरेको खुलेको थियो ।


सर्वसाधरणको उजुरीको आधारमा प्रहरीले बालाजु शाखाका प्रमुखलाई पक्राउ गरेको थियो । पक्राउ पछि प्रहरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई बुझाएको थियो । विभागले पक्राउ परेका शाखा प्रमुख कमल शर्मालाई ३ लाख जरिवाना गरेर छाडेको खुलाशा भएको छ । विभागले चैत्र २४ गते नै बैठक बसेर शिल गरिएको बालाजु स्थित राजेश हार्डवेयरको शाखा समेत खोलेको छ ।

सागरमल अग्रवालको नाममा दर्ता रहेको राजेश हार्डवेयरका मालिक भने राजेश कुमार अग्रवाल हुन् । उनी केही दिनअघि मात्रै नेकपा एमालेको ओली समुमा प्रवेश गरेका थिए । उनी प्रवेश गरेको केही दिनमा यो घटना बाहिर आएको थियो ।

गत चैत ६ गते दुई सय ३५ जना वरिष्ठ उद्योगीहरू प्रधानमन्त्री केपी ओलीको हातबाट टीका लगाएर एमाले पार्टी प्रवेश गर्दा समेत सो दिन एमाले प्रवेश नगरेका अग्रवाल यही चैत ७ गते एमालेमा प्रधानमन्त्रीकै हातबाट टीका लगाएर सुटुक्क प्रवेश गरेका थिए ।

विभागको अनुसन्धानमा राजेश हार्डवेयरले कालोबजारी गरेको प्रमाणीत भएपनि मुद्दा नचलाई ३ लाख जरिवाना तिराएर छाडिएको हो ।

वाणिज्य विभागका अनुसार तौल गर्दा १० देखि १५ प्रतिशतसम्म कम देखिएको थियो । त्यसपछि सो शाखा नै सिलबन्दी गरेर वाणिज्य तथा आपूर्ति विभागले २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन समेत दिएको थियो । तर, उच्च राजनीतिक दबावमा शर्मालाई सोही दिन छाडिएको स्रोतले जनाएको छ । ‘बालुवाटारकै मान्छेहरुले विभागका महानिर्देशक प्रकाश पौडेलाई दबाव दिए । दबावपछि अनुसन्धान अधिकृत धनेश्वर पौडेलले समेत केही गर्न सकेनन्,’ उच्च स्रोतले भन्यो,‘यसमा मिलेमतोमा आर्थिक सेटिङका पनि कुरा छन् । त्यसैले त अर्बौं ठगी गर्नेलाई ३ लाख जरिवाना तोकियो ।’


राजेश हार्डवेयरले गरेको ठगीको अनुसन्धान अधिकृत तोकिएका धनेश्वर पौडेललाई उनको नम्बरमा फोन गर्दा फोन समेत उठाएनन् ।


यता गुणस्तर तथा नापतौल विभागले समेत राजेश हार्डवेयरमाथि अनुसन्धान थालेको छ । यो विभागले पनि शक्तिकै आडमा उन्मुक्ति दिने आशंका बढेको छ ।